शुक्रबार, चैत १६, २०८०

मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुग्यो, दैनिक १७ करोड लिटर वितरण गरिने

मेरोन्यूज २०७९ मंसिर २० गते १३:३२

काठमाडौं । मेलम्ची खोलाको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो। अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।

कार्यकारी निर्देशक कमलराज श्रेष्ठले पूर्व निर्धारित समयमा नै मेलम्चीको पानी वितरणको लागि पठाइने जानकारी दिए।

अब दैनिक १७ करोड लिटरका दरले लगातार ६ महिना सम्म खानेपानी आपूर्ति हुनेछ। साथै बाह्रै महिना मेलम्चीको पानी पथान्तरण सम्बन्धमा पनि तत्काल कार्यान्वयनको लागि प्रक्रिया अगाडि बढिरहेको उनले बताए । पानी प्रशोधन भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नयाँ तालिका बनाएर पानी वितरण कार्यलाई अघि बढाउनेछ ।

२०७८ साल असारमा आएको बाढी पहिरोले मेलम्ची आयोजना स्थलमा क्षति पुगेपछि पानी आउन बन्द भएको थियो । गत वैशाखमा अस्थायी बाँध बनाएर काठमाडौं पानी पठाउन थालिए पनि १ महिनापछि गत जेठदेखि सुरुङको बन्द गरेर पानी पठाउन रोकिएको थियो । पुनः अस्थायी बाँध हालेर काठमाडौंमा पानी पठाउन थालिएको हो । अब हिउँदयामभरी मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौंका धारामा आउने मेलम्ची खानेपानी आयोजनाको भनाई छ ।

Advertisement

प्रतिक्रिया