मंगलबार, चैत ६, २०८०

समाजको जीवन्त कथा : ‘ओभरलुक्ड फेसेज अफ नेपाल’

मेरोन्यूज २०७९ मंसिर २० गते १०:४३


काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जीवन भोगाइलाई प्रस्तुत गरिएको ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ पुस्तक सार्वजनिक भएको छ ।
चिकित्सकद्वय परिधी शर्मा र अर्पणा पाठकले ३० जना सो समुदायका व्यक्तिको भोगाइलाई सो पुस्तकभित्र जीवन्तरूपमा कलात्मक चित्र मार्फत प्रस्तुत गर्नुभएको छ । मण्डला र मिथिला शैलीबाट कोरिएका सो चित्रकथा पुस्तकले विशेषगरी विविध कारणले अहिले पनि खुलेर समाजमा नआएका ती समुदायका व्यक्तिका पीडा र आवाजलाई सुक्ष्मरूपमा उतारेको छ ।

दन्त चिकित्सक शर्माले भने, “कोरोना महामारीका कारण जारी लकडाउनका समयमा मैले आफूभित्र रहेको चित्रकारिताको प्रतिभालाई पुनः प्रस्फुटित गराएँ । डर, त्रास र दुःखका बीच चित्र मेरो साथी बन्यो । चित्रले मलाई यी आवेगसँग जुध्न सिकायो र मेरो ‘कोपिङ मेकानिज्म’ नै मेरा चित्र बन्यो । मसँगै म सहपाठी डा अर्पणा पाठकले पनि त्यस्तै गर्थिन् ।”

आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा केही समय चित्रकलासँग साथ छुटेको उहाँको भनाइ थियो । उनले भने “पुस्तकभित्रका चित्र मण्डला र मिथिला शैलीबाट प्रभावित छन् । यसैमा आधारित भएर कोरिएका हुन् । ” त्यही चित्रकलामार्फत आफूहरूले समाजको कथा समाजलाई नै भन्न चाहेको डा शर्माले सुनाउनुभयो । उनले भने, “खुलेर समाजमा आउन नसकेका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका पीडा र दुःखलाई यथार्थरूपमा चित्रकथाका रूपमा पुस्तकले समेटेको छ ।”

कसरी पुस्तक बनाउने तयारी भयो रु भन्ने जिज्ञासामा उनले भने, “हामीले लकडाउनकै समयमा एक नेपाली महिला र अर्की भारतीय महिलाबीचको प्रेम सम्बन्धबारे थाहा पायौँ । परिवार र समाजले अस्वीकार गरेका कारण उहाँहरु प्रेम जोगाउ विदेश जानुभयो । समाजले नस्वीकार्दा विवाह गर्नकै लागि विदेश जानुपर्ने ? ती जोडीले अन्य सामाजिक विभेद र समस्या झेल्नुपर्ला ? यी र यस्तै प्रश्नको जवाफ खोज्दै जाँदा आफूहरू लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नजिक भएको र उहाँहरुकै कथालाई चित्रको रूप दिने निचोडमा पुग्यौँ ।”

चित्रका लागि पात्र भेट्दा र उहाँहरूको कथा सुन्दै जाँदा, ती आफूहरूले देखेको र सुनेको भन्दा बेग्लै पाइएको डा शर्माको भनाइ थियो । उनले भने “ती पात्रको व्यथा, दुःख र भोगाइ समाजले कल्पनासमेत गर्न नसक्ने खालका थिए, ती पात्रहरू कुन मनोदशाबाट गुज्रिए होलान् रु यसैले यस पुस्तकका हरेक पाना–पानामात्र नभएर जीवनकथा हुन् । पुस्तकका हरेक चित्र कसैको जीवनकथा सरह छ ।”

Advertisement

नेपालको सन्दर्भमा ‘एलजिबिटीआइक्यू’ समुदायका लागि पहिलो ‘कलरिङ बुक’ भएको सर्जकद्वयको दाबी छ । हरेक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक गर्वका साथ र बिनाविभेद बाँच्न पाउनुपर्छ भन्ने सन्देश चित्र पुस्तकको रहेको छ । रासस

प्रतिक्रिया