शनिबार, वैशाख ८, २०८१

भट्टराईको निधनले क्षति : मुख्यमन्त्री राउत

मेरोन्यूज २०७९ मंसिर १७ गते २०:४४

काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईको निधनले स्तब्ध बनाएको बताएका छन् ।

मुख्यमन्त्री राउतले आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष भट्टराईको निधनले मधेस प्रदेशको पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । दिवङ्गत अध्यक्ष भट्टराईप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै मुख्यमन्त्री राउतले शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे ।

यसैगरी मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पनि आज शोक वक्तव्य जारी गर्दै अध्यक्ष भट्टराईको निधनप्रति दुःख व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११ औँ वार्षिक साधारणसभामा सहभागी हुन सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकोटस्थित होलिडे रिसोर्ट पुगेका अध्यक्ष भट्टराई आज बिहान मृत फेला परे । ६७ वर्षीय भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए ।

प्रतिक्रिया