शुक्रबार, वैशाख ७, २०८१

चार महिनामा तीन सय नयाँ उद्योग थपिए

मेरोन्यूज २०७९ मंसिर १७ गते २०:०४

काठमाडौँ । दाङमा आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा २९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् । जसमा ६१ करोड २४ लाख ३१ हजार पुँजी लगानी गरिएको छ । प्राइभेट फर्म २७९, साझेदारी ११ र पाँचवटा प्रालि रहेको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत विक्रम केसीले जानकारी दिए ।

यसरी दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक २७, सेवामूलक ५५, कृषि तथा वनजन्य एक सय ८३ र पर्यटनसम्बन्धी ३० रहेका उनको भनाइ छ । यसरी दर्ता भएका घरेलु तथा साना उद्योगमा महिला १६० र पुरुष १५८ उद्यमी थपिएका छन् ।

जसमा महिला ४०४ र पुरुष ६७४ जनाले रोजगारी प्राप्त गरेका छन् । चार महिनामा ३२७ वटाको नवीकरण गरिएको छ । अन्य संशोधन १६८ वटा छन् । कतिपयले अनुदान पाउन तथा सहुलियतमा ऋण लिन मात्रै पनि उद्योग दर्ता गर्ने पाइएको छ ।

यसैले उद्योग दर्ताको सङ्ख्या धेरै देखिने गरेको छ । कार्यालयले उद्योगतर्फबाट पहिलो चौमासिकसम्ममा २७ लाख सात हजार राजस्व सङ्कलन गरेको केसीले बताए । जिल्लामा कात्तिक मसान्तसम्म घरेलु तथा साना उद्योग गरेर ११ हजार १५२ वटा उद्योग रहेका छन् ।

कार्यालयमा वाणिज्यतर्फ चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म ३६० वटा फर्म दर्ता भएका छन् । यसै अवधिमा ७२ वटा बन्द भएका छन् । चार महिनामा ३३२ वटा फर्म नवीकरण भएका छन् ।

त्यसैगरी १९४ वटा अन्य संशोधन गरेका छन् । वाणिज्यतर्फ चार महिनामा कार्यालयले ३५ लाख सात हजार राजस्व संकलन गरेको अधिकृत केसीले बताए । विं.सं. २०६३ वैशाखदेखि २०७९ कात्तिक मसान्तसम्ममा जिल्लामा १२ हजार ६९६ वटा वाणिज्य फर्म दर्ता भएका छन् ।

पाँच लाखभन्दा कम पुँजी रहेका उद्योग तथा वाणिज्य फर्महरू स्थानीय तहमा दर्ता हुने गरेको अधिकृत केसीले बताए । यसै कारणले पनि संख्या कम देखिएको उनको भनाइ छ ।

जिल्लामा चालु आर्थिक वर्ष २०७९–८० को पहिलो चौमासिकसम्म ८१ साना तथा घरेलु उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत केसीले जानकारी दिए । यसै अवधिमा वाणिज्यतर्फका ७२ वटा व्यवसाय बन्द भएका छन् ।

प्रतिक्रिया