बिहीबार, वैशाख १३, २०८१

अस्ट्रेलियासँग खेल्दा मेसीको खेल जिवनीकै एक हजार खेल हुने

मेरोन्यूज २०७९ मंसिर १७ गते १०:५८

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल जिवनीकै एक हजार खेल खेल्दै छन् । अहमेद विन अली मैदानमा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रि–क्वार्टरफाइनल शनिबार एसियाली राष्ट्र अस्ट्रेलियासँग खेल्दा मेसीको फुटबल करिअरमा हजार खेल पूरा हुनेछ ।

मेसीले बार्सिलोनाका लागि सर्वाधिक सात सय ७८ खेल खेलेका छन् । यसैगरी, अर्जेन्टिनाबाट एक सय ६९ क्याप जित्दा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट ५३ खेल खेलेका छन् ।

३५ वर्षीय मेसीले अस्ट्रेलियाविरुद्ध खेलमा हार व्यहोरे विश्वकपमा अन्तिम खेल हुनेछ । ‘मेसी विश्वकपका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । हामी शनिबार ९० मिनेट मेसीसँगै खेल्दै छौँ,’ अस्ट्रेलियन रक्षक ह्यारी साउटरले भने । जारी विश्वकपमा मेसीले दुई गोल गरेका छन् ।

मेसीले विश्वकपमा पोल्यान्डसँगको खेलमा पेनाल्टी गुमाएका थिए । यसैगरी, पोल्यान्ड र मेक्सिकोविरुद्ध एक–एक गोल गरेका छन् ।

अष्ट्रेलियाले अन्तिम खेलमा डेनमार्कलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको थियो । यता, पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित २–१ को हार व्यहोरेको अर्जेन्टिना उत्कृष्ट कमब्याक गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । अस्ट्रेलियाले दोस्रोपटक नकआउटमा स्थान बनाएको हो ।

यसअघि अस्ट्रेलिया सन् २००६ मा इटालीसँग १–० ले पराजित हुँदै क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो ।

शनिबार अर्जेन्टिनालाई विंगर एन्जल डी मारियाको चोटले सताउनेछ । पोल्यान्डविरुद्ध चोट बोक्दा दोस्रो हाफमा मैदानबाट बाहिरिएका थिए । लौटारो मार्टिज र जुलियन अल्भारेजले मेसीलाई अग्रपंक्तिमा साथ दिनेछन् ।

ग्राहम अर्नोन्डको प्रशिक्षणमा रहेका अस्ट्रेलिया जारी विश्वकपमा अर्को अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । ह्यारी साउटर, म्याट रायन, म्याथिव लेकीजस्ता खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा अर्जेन्टिनाको तेस्रो पटक विश्वकप जित्ने योजना असफल बन्न सक्छ ।

प्रतिक्रिया