शनिबार, वैशाख ८, २०८१

पारा तेक्वान्दोको टोली सोमबार साउदी जाँदै

मेरोन्यूज २०७९ मंसिर १७ गते ७:५१

काठमाडौं । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन नेपाली टोली सोमबार साउदी अरबियाको रियाद जाने भएको छ । दुई खेलाडीसहित तीन सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ ।

डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्ने छन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोवर्द्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा इन्टरनेसनल लेभल– २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

पेरिस पारा ओलम्पिकका लागि ¥याङकिङ प्रतियोगिता समेत भएकाले प्रतियोगिता महत्वपूर्ण भएको बताए । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १० औं र सिर्जना १४ औं स्थानमा छन् । प्रशिक्षक लामाका अुनसार आफ्नो तौलसमूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सीधै खेल्न पाउने प्रावधान रहेको छ ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले ३ तथा सिर्जनाले २ पदक जितेका छन् । प्रशिक्षक लामाले अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरिएको बताए ।

प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ । डिसेम्बर १० तारिखमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष÷महिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिने छ ।

प्रतिक्रिया