शुक्रबार, चैत १६, २०८०

विश्वकप फुटबलमा आजदेखि प्रि–क्वाटरफाइनलका खेल हुँदैं, यस्तो छ नकआउट चरणको समीकरण

मेरोन्यूज २०७९ मंसिर १७ गते ७:०२

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । यता अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजनामा छ ।

आज हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ । यता अष्ट्रेलिया पनि विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।

Advertisement

कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा भएपछि आज देखि प्रि–क्वाटरफाइनलका खेलहरू हुन लागेका हुन् । शुक्रबार राति भएको समूह चरणका अन्तिम खेलहरुसँगै नकआउट चरणको समिकरण पूरा भएको हो ।

अन्तिम चार खेलमा ब्राजिल क्यामरुनसँग पराजित हुँदा सर्बियामाथि स्वीजरल्यान्डले जित निकालेको थियो । त्यस्तै पोर्चुगल दक्षिण कोरियासँग हार्दा उरुग्वेले घानामाथि जित निकालेको थियो ।

अन्तिम १६ मा हरेक समूहको शीर्ष दुई टोलीहरुले नकआउट चरणमा स्थान बनाएका छन् । कतार विश्वकपमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता अन्तिम १६ मा प्रवेश गरेका छन् ।

समूह ‘बी’ बाट इङ्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता, समूह ‘डी’ बाट फ्रान्स विजेता र अष्ट्रेलिया उपविजेता, समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

त्यस्तै समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अष्ट्रेलिया, फ्रान्स र पोल्याण्ड तथा इङ्ल्यान्ड र सेनेगल भिड्ने छन् ।

यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच राउण्ड अफ १६ मा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया