बिहीबार, चैत १५, २०८०

युवती हत्या गर्ने सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

मेरोन्यूज २०७९ मंसिर १६ गते २०:३७

बैतडी । जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ ।

मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका ४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीको आधारमा कोलीको खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका ६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

यस्तै, सोही ठाउँकी १५ वर्षीया किशोरी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते भएको अवस्थामा भेटिएकी थिइन् । नेहालाई रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो ।

Advertisement

घाइते नेहा लुहारको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेसँग गरिएको सोधपुछका आधारमा भरत कोली घटनामा संलग्न रहेको खुलेको जनाइएको छ ।

माया र नेहा मङ्गलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ भन्ने स्थानमा हिँडेका र बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव फेला परेको थियो । नेहालाई घाइते अवस्थामा फेला पारिएको थियो ।

घटनाको सूक्ष्म रूपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो ।

फरार रहेका भरतको र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए ।

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत रहेकी थिइन् । प्रहरीले घटनास्थलबाट मायाको मोबाइल, चक्कुलगायत सामग्री बरामद गरेको छ । बरामद गरिएका सामग्रीबाट थप कुरा खुल्दै जाने प्रहरी नायब उपरीक्षक शाहीले बताए

उनले भने, “बरामद गरिएका सामग्रीबाट हामीलाई अनुसन्धानमा सहयोग मिल्नेछ, घटनाको सूक्ष्मरूपमा अनुसन्धान भइरहेको छ, अहिले नै सबैकुरा भन्न मिल्दैन ।”

जिल्ला अस्पतालमा मृतको शव परीक्षणपश्चात आफन्तलाई बुझाइएको छ । परीक्षण रिपोर्ट सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया