शुक्रबार, वैशाख ७, २०८१

माओवादी केन्द्रका नेता पुन उपचारका लागि चीन प्रस्थान

मेरोन्यूज २०७९ मंसिर १६ गते १९:४७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त फलोअप उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार सॅाझ सांढे ७ बजे फ्लाई दुबइको उडानबाट चीन उडेका हुन् ।

उनमा भएको रोगलाई चिकित्सकीय भाषामा सिग्गलर नाजार टाइप टू सिन्ड्रोम भनिन्छ । चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल चीन सीधा हवाई उडान नहुँदा पुन दुबई, ग्वान्झाओ हुँदै चीनको सेन्जेन जाने छन् ।

पुनका साथ उनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती गएकी छन् । नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।

चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) चुनावी धपेडीका कारण अत्याधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएका थिए । ४ मंसिरको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन स्वास्थ्यमा समस्या देखिएपछि मतगणना नसकिँदै काठमाडौँ आएका थिए ।

प्रतिक्रिया