शुक्रबार, चैत १६, २०८०

प्रचण्ड रणनीति : तेस्रो धार निर्माण गर्ने, प्रधानमन्त्रीमा दाबी गर्ने

माओवादीको सिट संख्या भन्दा कांग्रेसभित्रको आन्तरिक लफडा प्रधानमन्त्री बन्न प्रचण्डका लागि अप्ठ्यारो

शितल शर्मा २०७९ मंसिर १६ गते १७:२९

काठमाडौं । करिव-करिव जनमत पार्टीलाई गठबन्धनमा भित्राउने योजनामा सफल भएको सत्ता गठबन्धनभित्र ‘पावर सेयरिङ’ कसरी होला ? त्यसमा अन्य सवै नेताहरुको आन्तरिक ब्यवस्थापन गर्न सम्भव भएपनि ‘प्रधानमन्त्री’ ताकेरै बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ब्यवस्थापन कसरी होला ?


अहिले राजनीतिक वृतमा चासो बढेको विषय यही हो । प्रचण्डको ब्यवस्थापनले नै सत्ता गठबन्धनको आयु निधो लाग्ने देखिन्छ ।

मधेसमा नयाँ शक्तिका रुपमा उदाएको जनमत पार्टी सत्ता गठबन्धनसँगै नजिक देखिएपछि यो गठबन्धन बहुमतनजिक देखिदैछ । त्यस्तो अवस्थामा गठबन्धनले कस्तो निर्णय गर्छ, त्यसपछिको आफनो ‘स्टेप’ के बनाउने र कस्तो कदम चाल्ने भन्ने रणनीतिमा एमाले देखिन्छ ।

तर अहिलेसम्म माओवादीले के गर्ला ? संसय त्यँही छ ।

माओवादी चुनावी परिणाममा अपेक्षित सफल हुन सकेन । उसले सोचेको जस्तो परिणाम चुनावी नतिजामा आएन । बरु, शहरी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, मधेसमा जनमत पार्टी र सूदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीहरु नयाँ शक्तिका रुपमा राजनीतिक बृतमा उदाए ।

Advertisement

यसले माओवादी अध्यक्ष प्रचण्डको ‘निर्णायक तेस्रो शक्ति’ (आफु विना न कांग्रेस, न एमालेको सरकार निर्माण सम्भव हुन्छ) बन्ने योजनामा धक्का लाग्यो । कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउँदैं गर्दा नै चुनावपछिको पहिलो कार्यकाल आफु प्रधानमन्त्री बन्ने र्मौखिक आश्वासन पाएका प्रचण्ड आफनो पार्टीभित्रको सिट संख्या र कांग्रेसभित्र माओवादीलाई प्रधानमन्त्री नदिन बढिरहेको जनमतका कारण अप्ठ्यारोमा देखिएका छन् ।

जसकाकारण उनी अझै पनि गठबनधनभित्रै कांग्रेसलाई गलाएरै पहिलो चरणमै प्रधानमन्त्री बन्ने दाउमा छन् । त्यसका लागि प्रचण्डले नयाँ कार्ड खोलेका छन् । त्यो हो – संसदभित्र अव प्रतिनिधित्व हुने राजनीतिक शक्तिहरुका वीचमा तेस्रो धार ९मोर्चा० निर्माण गर्ने ।

त्यो भनेको कांग्रसे र एमाले बाहेककै संसदमा प्रतिनिधित्व गर्ने केही राजनीतिक दलहरु मिलाएर नयाँ मोर्चा निर्माण गर्ने । त्यसका लागि प्रचण्डको दाऊ भनेकै एकीकृत समाजवादीसँग सकेसम्म पार्टी एकता नै गर्ने र अन्य एजेण्डा मिल्न सक्ने दललाई एउटै छानोभित्र ल्याएर आफनो नेतृत्वमा मोर्चा निर्माण गर्ने ।

त्यसका लागि प्रचण्डको अहिले गृहकार्य सुरु भएको छ ।

मओवादीका एक नेताका अनुसार, प्रचण्ड अहिले संसदमा रहेका माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जसपासम्मका राजनीतिक पार्टीका शीर्ष नेताहरुसँग ‘किप इन टच’ मा छन् । यी शक्तिहरुलाई गोलबद्द गरेर सरकार निर्माणमा पनि साझा धारणा बनाउने प्रयासमा प्रचण्ड छन् ।

त्यसो हुँदा कांग्रेस या एमाले सरहको संसदमा तेस्रो धार (मोर्चा)को उपस्थिती देखिने र ‘निर्णयक थर्ड पोल’ निर्माण हुने बुझाइ प्रचण्डको छ । प्रतिनिधिसभा तथा प्रदेश सभा चुनाव अगाडी कांग्रेससँग चुनावी तालमेल सुनिश्चित नभईरहँदा प्रचण्डले यस्तै मोर्चाको प्रस्ताव नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल समाजवादी पार्टीका वीचमा प्रस्ताव गरेका थिए ।

गत साउन ६ मा प्रचण्डले बाबुराम भट्टराई, माधव नेपाल र उपेन्द्र यादवसम्म पनि ‘समाजवादी केन्द्र’ निर्माणको प्रस्ताव गरेका थिए । तर भलैं, कांग्रेस देशब्यापी चुनावी गठबन्धन गरेर जान तयार भएपछि यो प्रस्ताव त्यक्तिकै थन्किएको थियो ।

अहिलेको प्रयास के ?

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनावी परिणाम पछिका केही भेटघाट गहिरो गरी नियाल्ने हो भने संसदमा प्रतिनिधित्व गर्ने साना पार्टीहरुको मोर्चा निर्माण नैं अहिले प्रचण्डको प्राथमिकतामा परेको प्रष्टै देखिन्छ ।


अझ खासगरी उनले आफै डिल्लीबजार सदरखोरमा रहेका नागरिक उन्मुक्ति पार्टी अदृश्य हाँकिरहेका रेशम चौधरीसँगको भेट, भोलिपल्टै आफुसँग निकट रहेका माधव नेपाल र बाबुराम भट्टराईसम्मका नेताहरुलाई पनि डिल्लीबजार कारागारमा पठाएर चौधरीसँग गराएको सम्वादले उनी आफु नेतृत्वमा निर्माण हुने मोर्चामा नागरिक उन्मुक्ति पार्टीलाई आवद्द गराउन चाहान्छन् भन्ने देखिन्छ । चौधरीको एउटै शर्त उनको रिहाईका विषयमा अन्य नेता भन्दा प्रचण्ड लचक र सहज हुनसक्ने वुझाईमा नागरिक उन्मुक्ति पार्टी पनि देखिन्छ ।

त्यस्तै, मधेसमा नयाँ शक्तिका रुपमा उदाएको पार्टी जनमतलाई पनि उनले आफुतिर केन्द्रीत गर्न चाहेका छन् । जनमत पार्टी अध्यक्ष सिके राउत र माओवादी अध्यक्ष प्रचण्डवीच बिहिबार भएको भेटवार्ता र त्यहाँ एकले अर्काे नेताप्रति देखाएको सद्भाव र प्रशंसाले पनि यी दुई पार्टी नजिक सम्वन्धमा रहन चाहन्छन् भन्ने देखाउँछ ।

प्रचण्ड निवास खुमलटार पुगेर सिके राउतले प्रचण्डको राजनीतिक योगदानले आफु राजनीतिमा आएको भन्दै प्रसंशामा खर्चेको भनाईले अलिक मेहनत लगाउने हो भने माओवादी र जनमत पार्टीलाई नजिक बनाउन सकिने सम्भावनाको खोजीमा प्रचण्ड देखिन्छन् । सिकेले प्रचण्डले माओवादी विचारधाराको बलमा युद्ध हाँकेर शान्तिमा आएको, त्यही योगदान देखेर आफुलाई राजनीतिमा आउने प्रेरणा जागेको, प्रचण्डले उठाएको स्वशासन, पहिचानको राजनीतिले आफूलाई प्रभाव पारेको र उत्पीडितहरुलाई आफूहरुको शासन आउँछ भन्ने विश्वास देखाएको भन्दैं भेटमा प्रचण्डको प्रसंशा गरेका थिए ।


सिके राउतले मधेसमा उठाएको किसानका एजेण्डा र उनले माओवादी जनयुद्द र माओवादीले स्थापित गरेको एजेण्डामा देखाएको झुकावले पनि मेहनत लगाउने हो भने यी दुई पार्टी नजिक बनाउन सकिने बुझाईमा प्रचण्ड छन् । राष्ट्रिय जनमोर्चा गठबन्धनभित्रको कम्युनिष्ट एकताको धारमा आउन सक्ने र जनमोर्चाका लागि कांग्रेस भन्दा आफु नै नजिक हुनसक्ने प्रचण्ड र माओवादी केन्द्रको पनि बुझाई देखिन्छ ।

स्वतन्त्र जितेका तर आफनो पार्टीका उम्मेदवारको उममेदवारी निश्क्रिय पारेर आफैले सहयोग गरेका प्रभु साह र उनी निकटका अर्का स्वतन्त्र सांसद किरण साह पनि आफुसँगै रहने र यसो गर्दा कुलमा प्रतिनिधिसभामा ५६ सिटमा तेस्रो मोर्चा एकगठ गर्न सक्ने बुझाई प्रचण्डको देखिन्छ । नागरिक उन्मुक्ति कै तर बर्दियाबाट स्वतन्त्र जितेका रेशम चौधरीका बुबा लालवीर चौधरी नागकिर उन्मुक्तिलाई मिलाउँदा सहज मिल्ने हुन्छ ।

अहिलेसम्मको मत परिणामका आधारमा माओवादी (प्रत्यक्ष १७ र समानुपातिक १४) कुलमा ३१, एकीकृत समाजवादी १०, नागरिक उन्मुक्ति पार्टी (प्रत्यक्ष ३ र समानुपातिक ४) कुलमा ७, जनमत पार्टी (प्रत्यक्ष १ र समानुपातिक ४) ५, राष्ट्रिय जनमोर्चा १ र प्रभु साहसहित स्वतन्त्र ३ सिट गरेर निर्णायक तेस्रो धार संसदमा जन्माउन सकिने बुझाईमा प्रचण्ड देखिन्छन् ।

तर उनको प्रयास यही मोर्चाभित्र अहिले एमाले गठबन्धनमा रहेको तर केपी ओलीको संसद विघटन अगाडीसम्म आफुहरुसँगै रहेका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि आफुतिरै तान्ने देखिन्छ । जसपा र जनमत सहित मोर्चामा रहेमा कुलमा ६९ सिटमा तेस्रो मोर्चा निर्माण हुने तर जसपा आउँदा जनमत बहिरिने अवस्था बने ६३ रहने र जनमत मिल्दा जसपा वाहिरिए ५६ सिटमा संसदभित्र तेस्रो शक्ति (मोर्चा) देखिनसक्ने प्रचण्डको हिसाव देखिन्छ ।

त्यही आधारमा उनी तेस्रो मोर्चा निर्माण गरेर निर्णायक बन्दै प्रधानमन्त्री बन्ने कोसिसमा छन् ।

कांग्रेस नेताहरुको बाक्लो हिमचिम


कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहमत नबने कतै वामपन्थी मोर्चा निर्माण भएर नयाँ सरकार अर्काे धुव्रबाट निर्माण हुने हो की भन्ने भय कांग्रेसका शीर्ष नेताहरुमा देखिन्छ । जसका कारण कांग्रेसका नेताहरु निर्वाचन परिणामपछि पनि माओवादी अध्यक्ष प्रचण्डसँग बाक्लो सम्र्पकमा छन् ।

कांग्रेसको मत आफनो पार्टीलाई परिणाममुखी हुने गरी ‘टान्सफर’ नहुँदा प्रचण्डको मन अलिक अमिलो देखिन्छ । माओवादीभित्रै सकेसम्म सरकारको नेतृत्व दावी गर्ने, नदिए अर्काे वाम धुव्र निर्माण गर्ने या सरकार बाहिर रहेर जाने भन्ने विभिन्न विकल्पमा पार्टी नेताहरुका वीचमा अनौपचारिक तहमा छलफल आरम्भ भएको देखिन्छ । अझ कतिपय प्रभावशाली नेताहरुले अव विगतका कमजोरी समिक्षा गदैं वाम पार्टीहरुको मोर्चा बनाउनु पर्ने आवाज माओवादीभित्र उठाउन थालेका छन् ।

केपी ओली र प्रचण्डको तिक्ततापूर्ण लामो सम्वादहिनता तोडदैं एमाले अध्यक्ष ओली आफैले अग्रसर भएर प्रचण्डलाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव गरेका कारण कांग्रेस अलिक झस्केको छ । कतै प्रचण्डले कोर्स फेर्ने हुन् की भन्ने भयमा कांग्रेस उत्तिकै छ ।

त्यसका लागि प्रचण्डलाई इन्ट्याकमा राख्न कांग्रेसले चाहिरहेको छ । त्यही क्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले दुई पटक प्रचण्डलाई बालुवाटारमा बोलाएर गठबन्धन टिकाउन र गठबन्धनभित्रैबाट नयाँ सरकार निर्माणको निर्णयक पहलमा केन्द्रीय भूमिका निर्वाह गर्न आग्रह गरिरहेका छन् । त्यसले मात्र नपुगेर आफु निकटका नेताहरुलाई प्रचण्ड निवासमा पनि देउवाले उत्तिकै दौडाईरहेका छन् ।

बिहिबार मात्रै पनि उपसभापति पूर्णवहादुर खड्का दिउँसो र साँझ प्रवक्ता डा प्रकाशसरण महत प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले सत्ता गठबनधनबाटै नयाँ सरकार निर्माणको कोसिसका बारेमा प्रचण्डसँग छलफल गरेर बालुवाटार फर्कने गरेका छन् ।

प्रचण्डका लागि प्रधानमन्त्री दिन देउवा तयार भएपनि पार्टीभित्रै देउवामाथी गगन थापा लगायतका नयाँ पुस्ताका नेताहरुले बढाएको दवावका कारण कतै गठबन्धन नै भडकिने हो की भन्दै प्रचण्डसँग तत्काल प्रधानमन्त्री कांग्रेसलाई नै छोडिदिन कांग्रेस नेताहरुको प्रस्ताव देखिन्छ । तर प्रचण्डले कांग्रेस नेताहरुसँग नयाँ सरकारको नेतृत्वका बारेमा मुख खोलिसकेका छैनन । उनको यो मौनताले माओवादी के गर्ला अझै टुग्गो देखिदैन । त्यसका लागि अवको केही समय अझै कुनुपर्ने देखिएको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया