बिहीबार, वैशाख १३, २०८१

नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्झौता

मेरोन्यूज २०७९ मंसिर १६ गते १६:१५

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंक लिमिटेडमार्फत हुने भएको छ ।

यही बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरामा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्तले बैंकका तर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बन्धि कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी प्राधिकरणका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गौतमले नेपाल बैंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने र आगामी दिनमा नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणको सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

बैंकले नेपालभर २२६ शाखा, १९९ ए.टि.एम. साथै ५० एक्सटेन्सन काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ ।

प्रतिक्रिया