शुक्रबार, चैत १६, २०८०

देउवा र ओलीका ‘भित्रिया’ : क-कसले चुनाव जिते ?

मेरोन्यूज २०७९ मंसिर १६ गते १३:३९


काठमाडौं ।  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएर देशभरका अधिकांश निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । मंसिर ४ गतेको निर्वाचनमा उत्पन्न विवादका कारण मतगणना रोकिएका केही स्थानमा समेत मत गन्ने क्रम चलिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हालसम्म ५५ सिटमा जित हासिल गरेको छ ।  हाल मतगणना चलिरहेको ३ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा अग्रता लिइरहेको छ ।

नेकपा एमालेले ४४ सिट जितेको छ । हाल जितेका सिटहरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासहित उनका किचन क्याबिनेटका अधिकांश नेताहरू चुनावी मैदानमा थिए । 

देउवा र ओलीका भित्रियामध्येका कतिपय नेताहरूले यस निर्वाचनमा हार व्यहोरेका छन् भने कतिपय विजयी भएका छन् ।  हेरौं देउवा र ओलीका भित्रियामध्ये क-कसले चुनाव जिते ?

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटमा उनी निकट थोरै मात्र कोर नेताहरुको पहुँच छ ।  सोमध्येका कतिपयले टिकट पाए पनि कतिले विविध कारणवश टिकट नै पाएनन् ।  टिकट पाउने देउवा निकट नेताहरुमध्ये, केहीले जित निकालेका छन् भने कतिपयले हार व्यहोरेका छन् । 

Advertisement

पूर्णबहादुर खड्का 

देउवाले निकै पत्याएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । उनी त्यहाँबाट योसहित पाँचौँ पटक निर्वाचित भएका हुन्। 

उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का विजय भएका हुन्। प्रतिनिधिसभा निर्वाचनमा खड्काले ४२ हजार ६०७  मत ल्याए भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याए। 

एनपी साउद 

विद्यार्थी राजनीतिदेखि नै देउवा निकट रहँदै आएका कांग्रेस नेता एनपी साउदले पनि चुनाव जितेका छन् । नेता साउद युवा र शिक्षाको विषयमा देउवा समूहभित्र छलफल गरिने पात्रमा पर्छन् । 

उनी कञ्चनपुर २ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । साउदले २८ हजार १०० मत ल्याए ।  उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन्। 

रमेश लेखक 

कांग्रेस नेता रमेश लेखक पनि देउवाका भित्रिया हुन्। देउवाका खास सहयोगीमध्येमा पर्ने लेखकले सुदूरपश्चिम र राष्ट्रिय राजनीतिमा देउवालाई सहयोग गरिरहेका हुन्छन् । नेता लेखक यसपटक कञ्चनपुर ३ बाट निर्वाचित भएका छन् ।

उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । भने, उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् । 

विश्वप्रकाश शर्मा

विश्वप्रकाश शर्मा पनि देउवाका भित्रिया मानिन्छन् ।  गगन थापा, प्रदीप पौडेलजस्ता युवामाझ प्रभावशाली नेताहरूलाई काउन्टर दिनका लागि शर्मालाई देउवाले आफ्नो उपयोगी पात्रका रूपमा उभ्याएका थिए । देउवाले शर्मालाई यसअघि प्रवक्ताको जिम्मेवारीसमेत दिएका थिए ।

 पछिल्लो समय कांग्रेस महामन्त्री समेत रहेका नेता शर्मा झापा १ बाट विजयी भएका हुन् । शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नि खरेलले​ २५ हजार ४ सय ४९ मत ल्याएका छन्।

गृह मन्त्रीसमेत रहेका देउवाका भित्रिया बालकृष्ण खाण भने पराजित भएका छन् ।  गृहमन्त्री खाण रुपन्देही ३ बाट पराजित भएका हुन् । सभापति देउवाका खास पात्र मानिने मीन विश्वकर्मा र प्रकाश शरण महतले चुनाव लडेनन् । 

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अधिकांश भित्रियाको बिचल्ली भएको छ । ओली किचन क्याबिनेटका अधिकांश नेताहरुले हार व्यहोरेका छन् । ओलीको चार प्रमुख पात्रले मात्र चुनाव जितेका छन् । यी हुन् चुनाव जित्ने अध्यक्ष ओलीका भित्रिया :

गोकुल बाँस्कोटा 

गोकुल बाँस्कोटा अध्यक्ष ओलीका खास पात्र हुन् । उनले यसअघि सञ्चार मन्त्री हुँदा ७० करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पनि ओलीले उनको पटक पटक बचाउ गर्दै आएका छन् ।  ओलीको किचन क्याबिनेटमा पहुँच राख्ने बास्कोटाले काभ्रे क्षेत्र २ बाट निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बास्कोटा विजयी भएका हुन्। बास्कोटाले ४५ हजार ३४५ मत पाएका थिए । हुमागाईले  ३९ हजार ४२८ मत पाएका थिए । 

सुवास नेम्वाङ

अध्यक्ष ओली निकट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् ।

उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन संविधान सभाको सभामुख भइसकेका नेता नेम्वाङ लामो समयदेखि ओलीको कित्तामा रहेर राजनीति गरिरहेका छन् । 

विष्णु पौडेल

अध्यक्ष ओलीको किचन क्याबिनेटका नेता एवं विश्वास पात्र विष्णु पौडेलले पनि चुनाव जितेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल विजयी भएका हुन्। पौडेलले २७ हजार १४८ मत प्राप्त गरेका थिए । पौडेल ओलीको प्रधानमन्त्री कालमा उपप्रधान तथा अर्थमन्त्री समेत भइसकेका पात्र हुन् ।   

सूर्य थापा

ओलीको खास पात्र एमाले नेता सूर्य थापा पनि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । नेता थापा प्यूठानमा निर्वाचित भएका हुन् ।  थापाले सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई पराजित गरेका हुन्। थापाले ४१ हजार ११८ मत र पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेका छन्।  थापा ओलीको प्रधानमन्त्री कालमा प्रेस सल्लाहकार थिए । 

यस पटक ओलीको किचन क्याबिनेटका १४ जना हस्तीमध्ये १० जनाले पराजय भोगेका छन् । पराजित हुनेहरू मध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई, विशाल भट्टराई, प्रदीप ज्ञवाली, शेरधन राई, अग्नि खरेल, महेश बस्नेत, निरु पाल रहेका छन् । उनीहरूले टिकट पाए पनि निर्वाचन जित्न सकेनन् । 

प्रतिक्रिया