मंगलबार, वैशाख ४, २०८१

कतार विश्वकप २०२२

अफ्रिकी राष्ट्र मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश

मेरोन्यूज २०७९ मंसिर १६ गते १:०७

काठमाडौं । अफ्रिकी राष्ट्र मोरक्को र क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समुह चरणको अन्तिम खेलमा क्यानडालाई पराजित गर्दै मोरक्को समूह विजेता र बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

समुह विजेता बन्ने क्रममा मोरक्कोले दुई खेलमा जित र एक खेल बराबरी खेलेको थियो । मोरोक्कोले तीन खेलबाट ७ अंक जोडेको थियो ।

समूहको दोस्रो स्थानमा रहेको क्रोएसियाले समान खेलबाट ५ अंक हात पार्‍यो। तेस्रो स्थानको बेल्जियमले ४ अंक जोड्दा क्यानडा भने अंकविहीन बनेको थियो।

मोरोक्को र क्रोएसिया नकआउट चरणमा प्रबेश गर्दै गर्दा बेल्जियम र क्यानडा भने समुह चरणबाट बाहिरिएका छन्  ।

बिहिबार राती भएको समुह चरणको अन्तिम खेलमा
मोरक्को २-१ ले बिजयी बनेको थियो । मोरक्कोका लागि हाकिम जिएच र यसुफ एन नेसरीले १-१ गोल गरे । क्यानडाले आत्मघाती गोल पाएको थियो ।

मोरक्कोले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । क्यानडाका गोलरक्षक मिलान बोर्जानले पेनाल्टी क्षेत्र बाहिर आएर क्लियर गरेको बल हाकिम जिएचले पाएपछि कुनै गल्ती गरेनन् । जिएचले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गरेका थिए ।

समुह बिजेता मोरक्कोले सन् १९८६ पछि पहिलोपटक विश्वकपको नकआउट चरणमा प्रवेश गर्दै नयाँ इतिहास पनि रचेको छ। 

समूह विजेता बनेसँगै मोरक्को २१ औं शताब्दीमा विश्वकपको समूह विजेता बन्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ ।

१९९८ को विश्वकपयता कुनै पनि अफ्रिकी टोली समूह विजेता बन्न सकेका थिएनन्। सन् १९९८ को विश्पकपमा नाइजेरिया समूह डीको विजेताको हैसियतमा माथिल्लो चरणमा पुगेको थियो । त्यसयता कुनै अफ्रिकी राष्ट्र विजेता बन्न सकेको थिएन ।

उता क्रोएसियाले बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बनेको हो ।

खेलको दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि क्रोएसिया माथिल्लो चरण प्रबेश पायो ।

दोस्रो हाफमा बेल्जियमले रोमेलु लुकाकुलाई मैदानमा उतार्यो । ६२ अ‍ौं मिनेटमा लुकाकुले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार पोस्टमा लागेको थियो । उनले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार पोस्टको भित्री भागमा लाग्दै थ्रो इनका लागि बाहिरिएको थियो ।

लुकाकुले अर्को अवसरको पनि सदुपयोग गर्न सकेनन् । यसपटक डे ब्रुएनको क्रसमा गोलरक्षक बिट भएपनि उनले हेडरलाई पोस्टको दिशा दिन सकेनन् । ८५ अ‍ौं मिनेटमा थोमस मुनिएरकै पासमा लुकाकुको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो ।

९० अ‍ौं मिनेटमा लुकाकु गोललाइन नजिकबाट गोल गर्न चुक्दा बेल्जियम नकआउट चरणमा पुग्न बन्चित भएको थियो ।

प्रतिक्रिया