शनिबार, वैशाख ८, २०८१

सत्ता गठबन्धनका नेताहरूसँग सीके राउतको भेट तीव्र, मिलेर जानेबारे छलफल

मेरोन्यूज २०७९ मंसिर १५ गते २१:०७

काठमाडौँ । मधेसमा नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको जनतमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले सरकारमा रहेका दलको नेताहरूसँग भेटवार्ता तीव्र बनाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा विजयी हुँदै समानुपातिकबाट केही सांसद थप्ने अवस्थामा पुगेको जनमत पार्टीका अध्यक्ष राउतले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग भेटवार्ता तीव्र बनाएका हुन् । यसै क्रममा उनलाई
एमाले गठबन्धनले समेत सरकारमा जानका लागि सहकार्य गर्न प्रस्ताव गरेको बताएका कन् ।

राउतले बुधबार मात्रै नेपाली कांग्रेस नेता विमलेन्द्र निधिसँग भेटवार्ता गरेका थिए । नेता निधिले आज पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग सीके राउतको भेटवार्ता गराएका हुन् ।

आज दिउँसो नेता निधिसहित राउतले प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । वार्तामा प्रधानमन्त्री देउवासँगै, राउत, निधि र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सहभागी रहेका थिए ।

प्रधानमन्त्री देउवाले राउतको मागमा सकारात्मक रहेको बताएपछि राउत पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा जनमत पार्टी पनि सामेल हुने भएको छ ।

प्रधानमन्त्रीसँग भेटवार्ता गरेसँगै अध्यक्ष राउत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । उनी प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनले प्रचण्डसँग के विषयमा छलफल गरे भन्नेबारे सार्वजनिक भएको छैन ।

यस्तै, आजै अध्यक्ष राउतले गृहमन्त्री बालकृष्ण खाँणसँगे पनि भेट गरेका छन् । गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो ।

गृहमन्त्री खाँणले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिँदै सरकारमा सहभागी हुन आग्रह गरेका थिए । उनीहरूबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे वार्ता भएको थियो ।

जनमतले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिटमा विजयी भइसकेको छ । यस्तै, प्रदेशसभातर्फ सात सिट जितेको छ । यस्तै, प्रतिनिधिसभामा समानुपातिकतर्फ समेत थ्रेसहोल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । उसले समानुपातिकबाट पाँच जना सांसद पाउने भएको छ ।

प्रतिक्रिया