बिहीबार, चैत १५, २०८०

प्रचण्डलाई भेट्न पुगे कांग्रेस उपसभापति खड्का

मेरोन्यूज २०७९ मंसिर १५ गते १६:१६

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न खड्का बिहीबार दिउँसो प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

भेटमा निर्वाचनमा विजयी भएकोमा दुवैले बधाई साटासाट गरेका थिए । निर्वाचन सकेर खड्का बुधबार मात्र सुर्खेतबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनी सीधै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

खड्काले कर्णाली प्रदेशमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा प्राप्त गरेको सफलतासम्बन्धी प्रतिवेदन बुझाएका थिए । नेता खड्का आज त्यही प्रतिवेदन प्रचण्डलाई हस्तान्तरण गर्न खुमलटार पुगेका हुन् । कर्णालीमा लोकतान्त्रिक वाम गठबन्धनले निर्वाचनमा सफलता पाएको छ ।

प्रतिनिधिसभातर्फ कर्णालीमा एमाले शून्य र प्रदेशमा दुई सिटमा झरेको छ । निर्वाचनमा कहाँ के कसरी तालमेल भई काम गरियो भन्ने विषय प्रतिवेदनमा समेटिएको छ ।

सत्ता गठबन्धनले कर्णाली प्रदेशमा कांग्रेस उपसभापति खड्कालाई कमाण्डर बनाएको थियो । खड्का सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

Advertisement

प्रतिक्रिया