शुक्रबार, चैत १६, २०८०

राष्ट्रिय क्रिकेट : लुम्बिनीद्वारा प्रदेश १ पराजित

मेरोन्यूज २०७९ मंसिर १५ गते १५:०८

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश १ लाई पराजित गर्दै विजयी भएको छ ।

आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । प्रदेश १ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको योगदान दिए भने आकाश त्रिपाठीले १७ रन जोडे । त्यस्तै, प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुसाल ८ रनमा अविजित रहे ।

हारसँगै प्रदेश १ प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश १ का लागि कप्तान दिपेश कँडेलले तीन विकेट लिए भने विपीन महतोले १ विकेट लिए । त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६.२ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटिएको थियो ।

प्रदेश १ का लागि शुभम गहतराजले २२ रन जोडे । स्टाइन रिजालले १९ रन बनाए । त्यसबाहेका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Advertisement

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङले ५ विकेट लिए भने दुर्गेश गुप्ताले २ तथा अभिशेक गौतम र तुलबहादुर थापाले समान १–१ विकेट लिए । जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अंक बनाएको छ । समान ५ खेलबाट ४ अंक भएको प्रदेश १ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्ने छन् ।

प्रतिक्रिया