शनिबार, वैशाख १५, २०८१

कठिन जित निकालेपछि सञ्चारमन्त्रीले भने – आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्छु

मेरोन्यूज २०७९ मंसिर १५ गते १४:४६

सुनसरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सुनसरी क्षेत्र नं. ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले आगामी दिनमा आफ्नो निर्वाचन क्षेत्रको समृद्धिका लागि काम गर्ने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा सदस्यमा सुनसरी क्षेत्र नं.४ बाट कठिन संर्घषपछि झिनो मतान्तरले चुनाव जितेपछि कार्कीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आगामी दिनमा सुनसरी–४ को समृद्धि र सम्मानका लागि काम गर्ने बताए ।

आफूले यस क्षेत्रमा विगतमा गरेको कामको आधारमा मतदाताले जिताएको भन्दै कार्कीले आगामी पाँच वर्षको कार्यकालमा पनि अझै बढी काम गर्ने जिकिर गरे । मन्त्री कार्कीले मतदाताले आफूमाथि गरेको विश्वासलार्य टुटन नदिने उनको भनाई थियो ।

कार्कीले भने – ‘जुन विश्वासका साथ मलाई निर्वाचित गर्नुभएको छ । त्यो विश्वासलाई म अरु अभिवृद्धि गरेर लिएर जान्छु । र उहाँहरुको विश्वासलाई म घात गर्नेछैन । यहाँका आदरणिय दिदीबहिनी, दाजुभाईहरु जसले मलाई दोस्रो पटक निर्वाचित गर्नुभएको छ । उहाँहरुसँग पनि म प्रत्यक्ष संवाद गरेर भएका समस्याहरुलाई निराकरण गर्दै यो क्षेत्रको समृद्धि र सम्मानका निमित्त म काम गर्छु । मैले धेरै कामहरु यो क्षेत्रमा गरेको छु । त्यसैको आधारमा मलाई विजय गराउनुभएको छ । म पाँच वर्षको कार्यकालमा अरु बढी कामहरु म गर्नेछु ।’

मन्त्री कार्की ३० हजार ४८३ मतका साथ सुनसरी ४ बाट विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका थिए । कार्की र कुसियैतका वीचको मतान्तर मात्र ११२ को थियो ।

प्रतिक्रिया