सोमबार, माघ २३, २०७९

गगन- विश्वप्रकाश दुई घण्टा भेटवार्ता : संसदीय दलको तयारीबारे छलफल

एयरपोर्टबाट सिधै गगन थापा निवासमा पुगेर दुई घण्टा छलफल गरेका विश्वप्रकाश भोलि विहानै झापा नै फर्किने कार्यक्रम

मेरोन्यूज २०७९ मंसिर १३ गते २२:०९

काठमाडौं । कांग्रेसको ससदीय दलमा हस्तक्षेपकारी रणनीति अवलम्बन गर्ने तयारीमा रहेका र प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरवहादुर देउवासँग संसदीय दलमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका कांग्रेस महामन्त्री गगन थापा र उनलाई साथ दिने बताईरहेका अर्का महामन्त्री विश्वप्रकाश शर्मावीच अर्थपूर्ण भेटवार्ता भएको छ ।

आ आफनो निर्वाचन क्षेत्रमा चुनाव जितेपछि यी दुई नेताको आज पहिलो पटक भेटवार्ता भएको हो । भेटमा दुवै महामन्त्रीले एक अर्कालाई चुनाव जितेर सांसद बनेकोमा बधाई साटासाट गर्नुका साथै देउवासग संसदीय दलको चुनाव भिड्ने बारेमा पनि गम्भिर छलफल पारम्भ भएको छ ।

आजै दिउँसो विश्वप्रकाश काठमाडौं आईपुगेका थिए । त्यसपछि यी दुई नेतावीच सिधै महामन्त्री गगन थापाको ज्ञानेश्वरस्थित निवासमा साँझ दुई घण्टा बढी समय भेटवार्ता भएको हो । उनीहरुले एक अर्कामा बधाई साटासाट गर्ने र संसदीय दलको चुनावको तयारीका बारेमा छलफल भएको बताएका छन् ।

गगनसँगको यो छलफल पछि भोलि विहानै महामन्त्री विश्वप्रकाश शर्मा भने झापानै फर्किने छन् । गगनलाई भेटनकै लागि आजै विश्वप्रकाश काठमाडौं आएको र एयरपोर्टबाट सिधै गगन थापा निवासमा पुगेर दुई घण्टा छलफल गरेका शर्मा भोलि विहानै झापा नै फर्किने कार्यक्रम रहेकोले पनि दुई महामन्त्री वीचको छलफल र भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भेटपछि महामन्त्री विश्वप्रकाशले आफू थापालाई सांसद भएकोमा बधाई दिनका लागि मात्रै नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान शुरु गर्नका लागि भन्न आएको पनि बताए ।

‘हामीले यो बेलामा त्यो आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ जुन आवाज देशले बोलिरहेको छ । कहीँ बोलेको सुनिन्छ, कहीँ बोल्न चाहिरहेको बुझिन्छ । कहीँ मानिसहरुको हृदयमा त्यो शब्द बन्न खोजिरहेको छ । र एउटा लोकतान्त्रिक दलले सदैव प्रतिनिधित्व जनताको जनभावनाको गर्नुपर्छ । त्यसकारण अहिले म यहाँनिर महामन्त्री गगन थापालाई बधाई दिन आएको भनेको काठमाडौं ४ बाट निर्वाचित हुनुभयो तपाई सांसद बन्नुभयो भनेर बधाई दिन आएको होइन । सांसद पहिल्यै भइसक्नु भएको हो पटक पटक । मन्त्री भएर अनुभव पनि हाँसिल गरिसक्नुभएको हो, थापासँगको भेटपछि महामन्त्री शर्माले भने,–‘अब देशको आवाज के हो ? देशको आवश्यकता के हो ? त्यो आवश्यकतालाई बुझेर नेतृत्व गर्ने ढंगले तपाई अब, प्रधानमन्त्री पदको लागि नेतृत्व गर्ने ढंगले अगाडी बढ्नुस् भन्नका लागि म आएको हो । त्यो भन्ने कुरा मात्रै होइन त्यस विषयको अभियानलाई शुरु गर्नलाई पनि म आएको हो ।’

विश्वप्रकाशले अव दुई, तीन दिन भित्रमा देशभरीका साथीहरु सबै आ–आफ्नो क्षेत्रमा मतदाताहरुलाई सम्मान गर्ने, आभार प्रकट गर्ने कार्य गरिसकेर काठमाडौं आउने र त्यसपछि यसलाई विधिवत, व्यवस्थित रुपमा परिणाममा पु¥याउने ढंगले लाग्ने पनि बताए ।

उनले भने, ‘सबै नेतृत्व पंक्तिलाई हाम्रा जो हुनुहुन्छ, सबै आदरणिय हुनुहुन्छ । सबै पाका नेताहरु जो हुनुहुन्छ सबैले देशका लागि योगदान गर्नुभएको छ । लोकतन्त्रका लागि योगदान गर्नुभएको छ । उहाँहरु सबैलाई सम्मान गर्दै, उहाँहरु सबैको विश्वास लिएर, उहाँहरु सबैको समर्थन लिएर, उहाँहरु कसैलाई पनि हामीलाई अपमान गरे भन्ने महशुस नगराइकन उहाँहरुले हाँकेर आएको देश र उहाँहरुले हाँकेर आएको काँग्रेसलाई अझ दृढताका साथ हाँक्ने भन्ने उद्देश्यका साथ छौँ ।’
महामन्त्री शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन पार्टीभित्रका शीर्ष नेताहरु र सांसदहरुसँग छलफल अगाडी बढाउने पनि बताए । गगन थापालाई संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतको समर्थन जुटाउनु आफ्नो जिम्मेवारी र कर्तव्य भएको पनि उनले बताए ।

शीर्ष नेताहरुलाई थापाको प्रस्तावक बनाउन नसकेमा आफैँ प्रश्तावक बनेर भएपनि अगाडी बढाउने विश्वप्रकाशको भनाई छ ।
‘मेरो प्रयत्न के रहन्छ भने प्रश्तावकको रुपमा शेरबहादुर देउवाको नाम लेख्नसक्ने परिस्थिति बनाउनु चाहीँ मेरो जिम्मेवारी हुन्छ । रामचन्द्र पौडेलको नाम लेख्ने बनाउनु हाम्रो कर्तव्य हुन्छ । कतिपयले बहुमत पुग्छन् भनेर मलाई भन्नुहुन्छ । बहुमत भन्नेकुरा प्राविधिक कुरा हुनसक्छ,’ विश्वप्रकाशले अगाडी थपे, ‘विवेक भन्ने कुरा समयलाई बुझेर विश्लेषण गर्नुपर्ने कुरा हुन्छ । त्यो विकेकले के भन्छ अहिले भन्दैगर्दा अब नेतृत्वलाई परिवर्तन गरेर जाउ, नेतृत्वलाई अब अगाडी सारेर जाउ । सबै सांसदलाई सोधेर छलफल गर्छौं । प्रश्तावक अग्रज नेता बस्ने कुरामै हामी लाग्छौँ । मेरो विश्वास हो । सर्वसहमतिमा पु¥याउन सकिएन, प्रस्तावक लेख्नुपर्दै गर्दा, उभिनुपर्दा म आफैँ प्रश्तावक बस्नेकुरा स्वभाविक छ । त्यो म गरेर उभिन्छु ।’

गगनले संसदीय दलको चुनाव फेस गर्ने बताईसकेका छन भने विश्वप्रकाशले गगनलाई त्यसका लागि आफु प्रस्तावक बनेर साथ दिने बताईसकेका छन् । जसकाकारण पनि यी दुई महामन्त्रीको भेटवार्ता अर्थपूर्ण रहेको काग्रेसकै नेताहरु बताउँछन् । संसदीय दलको चुनाव लड्ने तयारी गरिरहेका महामन्त्री थापाले प्रतिनिधि सभाका चुनाव जितेका सांसदहरुसँग निरन्तर भेटवार्ता गरिरहेका छन्।

प्रतिक्रिया