शुक्रबार, वैशाख ७, २०८१

नयाँ सरकार निर्माण : कांग्रेस- एमाले मिलाउने कोसिस !

राजनीतिक स्थितरताको आधार र धारणा बनाउन कांग्रेससँग छलफल गर्न एमाले लचक

शितल शर्मा २०७९ मंसिर १० गते १०:०९

काठमाडौं । निर्वाचन परिणाम सार्वजनिक भईरहँदा कांग्रेसका नेता तथा पूर्व रक्षामन्त्री मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई टेलिफोन गरे । एकातिर पार्टीको महाधिवेशनमा महामन्त्रीमा पराजित भएका र अर्काेतिर यसपटकको चुनावमा पार्टीबाटै टिकट समेत नपाएर किनारामा परेका नेता रिजालले चुनाव पछि एउटै मात्र नेतालाई टेलिफोन गरेर बधाई दिए, ति नेता थिए एमाले अध्यक्ष केपी ओली ।

मिसन १५० को महत्वाकांक्षी योजनासहित एमाले चुनावमा होमिदा चुनाव अगाडीसम्म सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले एमालेको त्यस्तो महत्वाकांक्षामा खिसिटिउरी झै गर्थे । एमाले अहिले माओवादी केन्द्रले प्रत्यक्षमा जितिरहेको स्थान जतिमा खुम्चने विश्लेषणमा कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धन दलको निश्कर्ष देखिन्थ्यो ।

गठबन्धन दलले वरु आफुहरु दुई तिहाइको महत्त्वाकांक्षा राखेका थिए ।

परिणाम सार्वजनिक भईरहँदा अवस्था दुवै दलहरुले सोचेजस्तो रहेन । न सत्ता गठबन्धनले सामान्य वहुमत अहिलेको परिणाम हेर्दा ल्याउने देखियो, न ओलीले सोचे जस्तो मिसन १५० नै सफल भयो । बरु राजनीतिमा माओवादी तेस्रो निर्णायक शक्ति बन्न सकेन । नयाँ दल राष्टिय स्वतन्त्र पार्टीको माओवादीकै हाराहारीमा उदय भयो । यसले फेरि संसदमा सरकार निर्माणमै सांसदहरुको हेड काउन्ट गर्नुपर्ने चित्र देखा परयो ।

यो अवस्था परिणामले देखाएपछि कांग्रेस नेता मिनेन्द्र रिजालले एमाले अध्यक्ष ओलीलाई टेलिफोन गरेका थिए । ओलीको निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भएपछि रिजालले ओलीलाई फोन गरेका हुन् ।

‘मैले निर्वाचन परिणाम आईरहँदा कसैलाई टेलिफोन गरेर बधाई दिएको छु भने त्यो एमाले अध्यक्ष केपी ओलीलाई हो,’ कांग्रेस नेता रिजालले भने, –‘उहाँ (ओली)लाई अव झन् मुलुक अस्थिरतामा जाने भयो, ५ वर्षमा कतिपटक सरकारमा प्रधानमन्त्री फर्ने भन्नेमै राजनीति घुम्ने भयो । यही अवस्थामा मुलुक राख्ने, प्रधानमन्त्री मात्रै फेरिरहने की स्थिरताका साथ देशको विकास र समृद्धि सोच्नुस् भनेर आग्रह गरे । उहाँले मेरो प्रस्तावलाइृ गम्भिर छु भन्नुभयो ।’

कांग्रेस नेता रिजालले ओलीसँगको सम्वादको फेहरिस्त नबताएपनि उनको संकेत थियो – कांग्रेस र एमाले मिलेर अवको सरकार चलाउनु ।

कांग्रेस र एमाले मिल्दा सरकार निर्माणमा सहज बहुमत पुग्छ । रिजालले त्यसैको संकेत गदै ओलीलाई समिक्षा गर्न प्रस्ताव गरेका हुन् । यी दुई दल मिल्दा सरकारको बहुमत (१३८)का लागि दौडिरहनु नपर्ने अवस्था हुन्छ । तर यी दुइृ नमिल्दा जसले सरकार बनाएपनि दुई पार्टीमात्रै मिल्दा पनि सरकार बनाउन सक्ने अवस्था अव बन्ने संसदको गणितले देखाएको छैन ।

केन्द्रमा बन्ने सरकार समिकरणले प्रदेशमा पनि सोही खालको सरकार निर्माणको चित्र बन्ने देखिएकोले त्यस्तो चर्चा भएको हो ।

अहिलेको सत्ता गठबन्धन टिकाईरहँदा पनि अहिलेकै परिस्थितीमा गठबन्धनलाई बहुमत जुटाउन केही सिट संख्या नपुग्न सक्ने देखिएको छ । यसले रवि लामिछानेको पार्टीसँग पनि सहकार्यको प्रस्ताव बढाउनु पर्ने अंकगणित देखा परिरहेको छ । यो देखेरै कांग्रेसका रिजाल लगायतका केही नेताहरुले कांग्रेस एमाले मिलाउने कोसिस थालेका हुन् ।

चुनाव अगाडी नै पनि कांग्रेस भित्रको शेखर कोइराला पक्ष गठबन्धन बनाएर चुनावमा जान नहुने पक्षमा थियो । यो समुहले चुनाव अगाडी एमाले अध्यक्ष केपी ओलीसँग नरम निति पनि लिएको थियो । त्यही पक्षका नेताहरु अहिले सवैभन्दा बढी कांग्रेस एमाले मिलाउने कोसिसमा लागेको हो ।

कांग्रेसकै नेताहरुको त्यस्तो प्रस्ताव आउन थालेपछि एमाले पनि त्यसका लचक हुने संकेत देखाएको छ । चुनाव अगाडी एक अन्र्तवर्तामा एमाले अध्यक्ष ओलीले एमाले र कांग्रेसका वीचमा सरकार निर्माण हुनसक्ने गरी संकेत पनि गरेका थिए । अहिले एमालेका नेताहरु पहिले काग्रेसको यस बारेमा आधिकारिक धारणा आउनु पर्ने र त्यसपछि आफनो धारणा तय गर्ने बताईरहेका छन् ।

यधपी, स्थिरता र आफनो पनि सहभागिताका लागि केही लचिलो हुने तर्फ एमालेले ग्रिन सिंग्नल भने छलफलमा आएका कांग्रेसका नेताहरुलाई दिईरहेको स्रोत बताउँछ ।

एमालेका उपमहासचिव विष्ण रिमाल पनि मुलुकको स्थिरताका लागि आफुहरु कांग्रेससँगै पनि छलफल गर्न खोजिरहेको बताएका छन् ।

‘मिलिजुली सरकार चलाउनु पर्ने स्थितिमा के गर्दा राजनीतिक स्थितरता हुन्छ भन्ने विषयमा आधार र धारणा बनाउन कांग्रेससँग छलफल गर्न खोजेका हौं’ रिमालले भने,–‘सरकारका बारेमा दुई-तीन वटा विकल्प हुन सक्छन्। कांग्रेसले सत्ता गठबन्धनले नै बहुमत पुर्यासउन सक्छ भन्यो भने हामी प्रतिपक्षमै बस्न तयार छौं। कांग्रेसले माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गरायो भने केही झमेला गर्नै परेन। राष्ट्रिय स्वतन्त्र पार्टीलाई ल्याउन नसकेको अवस्थामा अर्को विकल्पबारे कांग्रेस र एमालेले छलफल गर्नुपर्ने होइन र ? एमालेसँग सहकार्य गर्ने वा नगर्ने भन्ने विषयमा पहिले कांग्रेस बोल्नुपर्योर। गठबन्धनको भारी बोक्ने हो भने उसले हामीसँग छलफलनै गर्दैन नि १ कांग्रेसको पोजिसन प्रस्ट नहुँदा त हामीले मात्रै कुरा गर्नुको कुनै अर्थ छैन।’

एमाले स्रोतहरुका अनुसार, उसले दुवै विकल्प खुल्ला राखेको देखिन्छ । पहिलो कांग्रेसले एमालेसँग मात्र सहकार्यको प्रस्ताव सहितको धारणा राखेमा त्यसमा आफनो पोजिसन स्पष्ट बनाउने र त्यसो नभएमा माओवादी, एकीकृत समाजवादी, लगायत अन्य शक्तिहरु समेटेर आफुसहितकोअ र्काे गठबन्धन निर्माण गर्ने ।

त्यसको प्रयासका लागि ओलीले दुवै पाइला चालेको देखिन्छ । ओलीले कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अलग अलग टेलिफोन वार्ता गरेर मनस्थिती बुझने प्रयास गरेको एमाले नेताहरु बताउँछन् ।

निर्वाच्न पछि राष्टपति, उपराष्टपति, प्रधानमन्त्री देखि सभामुख सम्म र प्रदेशका सरकार र मुख्यमन्त्रीसम्मको भागवन्डामा मुलुक जाने देखिएको र खिचडी आकारको संसदमा पाटीृहरुको उपस्थिती देखिएकोले नयाँ सरकारका बारेमा अनेक कोणबाट छलफल चलेको छ ।

त्यसका लागि पनि कांग्रेसको एउटा पक्ष एमालेसँग सहकार्यको कोसिसमा जुटेको देखिएको हो ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया