बिहीबार, वैशाख १३, २०८१

यस्तो संसदको चित्र : २७ देखि ८० वर्षीय वृद्धसम्म, महिलाको संख्या न्युन

मेरोन्यूज २०७९ मंसिर ९ गते १६:४५

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनमा हालसम्म निर्वाचित हुने सबैभन्दा ज्येष्ठ सदस्य राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहेका छन् । ८० वर्षीय उनी बागलुङ १ बाट निर्वाचित भएका हुन् ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुरा १ बाट निर्वाचित भए । उनी ७७ वर्ष भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ बाट निर्वाचित राप्रपाका ध्रुवबहादुर प्रधान ७३ वर्षको हुँदा एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट भए । ओली ७० वर्ष पूरा भएका छन् ।

यसैगरी रुपन्देही ४ बाट निर्वाचित लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला ७२ वर्षीय र मोरङ ६ बाट निर्वाचित कांग्रेसका डा. शेखर कोइराला ७२ वर्षीय भएका छन् ।

हालसम्म सबैभन्दा कान्छो उमेरको सांसदका रुपमा सोविता गौतमको प्रवेश भएको छ । आयोगबाट प्राप्त विवरणअनुसार उनी २७ वर्षीया पूरा भएकी छन् । उनी काठमाडौँ २ बाट निर्वाचत भएकी हुन् ।

यस्तै, मुस्ताङ १ बाट २९ वर्षीय योगेश गौचन थकाली र जुम्ला १ बाट ३० वर्षीय ज्ञानबहादुर शाही पनि कम उमेरका सांसदको सूचीमा परेका छन् ।

प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदको सङ्ख्या न्यून देखिएको छ । हालसम्म पाँच महिला नेत्रीले प्रत्यक्षतर्फको निर्वाचन जितेका छन् ।

जसमा एमाले र रास्वपाका दुई–दुई र माओवादीका एक महिलालाई मात्र सफलता मिलेको छ । धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो (महासेठ) र कास्की २ बाट विद्या भट्टराई तथा दाङ २ बाट माओवादीकी रेखा शर्मा तथा रास्वपाबाट काठमाडौँ २ मा गौतम र ललितपुर ३ मा तोसिमा कार्की विजयी भएका हुन् ।

यसैगरी स्वतन्त्र उम्मेदवारमा योगेन्द्र मण्डल मोरङ ५, अमरेशकुमार सिंह सर्लाही ४, किरणकुमार साह रौटहट २, प्रभू साह रौतहट ३ र लालवीर चौधरी बर्दिया २ बाट विजयी भएका छन् ।

प्रतिक्रिया