मंगलबार, असार ४, २०८१

आधा दर्जन नयाँ सांसद काठमाडौँबाट विजयी, चार जना स्वतन्त्र पार्टीका

मेरोन्यूज २०७९ मंसिर ८ गते १९:१९

काठमाडौँ । संघीय निर्वाचन सकिएसँगै मत परिणाम अन्तिम अवस्थामा पुगेको छ । केही स्थानमा मत गणना चलिरहेको छ भने केही निर्वाचन क्षेत्रबाट अन्तिम मत परिणाम आउने क्रम जारी छ ।

Advertisement

निर्वाचनसँगै देशकै संघीय राजधानी काठमाडौँका सबै क्षेत्रको अन्तिम मत परिणाम आइसकेको छ । यसपटक निर्वाचनमा काठमाडौँमा फरक परिणाम देखिएको छ ।

यसपटक पनि काठमाडौँले फरक मत परिणाम दिएको छ । पुराना स्थापित भनिएका राजनीतिक दललाई टक्कर दिँदै देशकै कान्छो पार्टी लोभलाग्दो गरी उदाएको छ । 

देशकै कान्छो पार्टीका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँका ४ क्षेत्रमा विजय हासिल गरेको छ । काठमाडौँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुँदा काठमाडौँ २ मा राष्ट्रिय स्वतन्त्रकी सोबिता गौतम निर्वाचित भइन्

गौतमले पूर्वसभामुख रहेकी नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई पराजित गरेकी हुन् । ०५२ असार ३ गते जन्मिएकी गौतम प्रतिनिधिसभाकै कान्छी सदस्य हुन् । उनी काठमाडौँका लागि पनि नयाँ अनुहार हुन् ।

काठमाडौँ ३ बाट निर्वाचित नेपाली कांग्रेसका सन्तोष चालिसे पनि प्रतिनिधिसभामा नयाँ अनुहार हुन् । झण्डै चार दशक लामो राजनीतिमा सक्रिय रहेका उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत हुन् । 

यस्तै, प्रतिनिधिसभातर्फ काठमाडौँ ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित भए । उनी भारी मतान्तरसहित तेस्रोपटक यो क्षेत्रबाट विजयी भएका हुन् ।

काठमाडौँ ५ बाट नेपाली कांग्रेस प्रदीप पौडेल विजयी भएका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गरेका पौडेल प्रतिनिधिसभामा नयाँ अनुहार हुन् । विद्यार्थी राजनीतिबाट आएका पौडेल पहिलोपटक संसद प्रवेश गर्न लागेका हुन् । तनहुँमा जन्मिएका उनको यो चर्चित शानदार जित भएको छ ।

यस्तै, काठमाडौँ ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन् । उनले पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई पराजित गरेका हुन् । खनाल प्रतिनिधिसभामा नयाँ अनुहार हुन् । 

काठमाडौँ ७ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश खनाल नयाँ अनुहार हुन् । नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईलाई पछि पार्दै उनी प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । 

काठमाडौँ ८ मा निर्वाचित भएका विराजभक्त श्रेष्ठ पनि नयाँ अनुहार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य थिए ।

यस्तै, काठमाडौँ ९ र १० मा पहिले नै जित्दै आएका नेताहरू विजयी भएका छन् । क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुँदा १० मा नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका छन् ।

प्रतिक्रिया