सोमबार, वैशाख २४, २०८१

प्रदेशसभामा माओवादीका तीन बागीको शानदार जित

मेरोन्यूज २०७९ मंसिर ७ गते २२:२१

काठमाडौँ । काङ्ग्रेससहितको सत्ता गठबन्धनमा रहे पनि गठबन्धन दलकै मत अपेक्षित टान्सफर नभएपछि धक्का ब्यहोरिरहेको नेकपा माओवादी केन्द्रका प्रदेश सभातिर तीन जना बागी उम्मेदवारले जित निकालेका छन् ।

Advertisement

रोल्पा प्रदेश सभा १, नवलपरासी पश्चिमको क्षेत्र नं. २ (१) र रुकुम पूर्वको प्रदेश सभा १ मा माओवादीको बागी उम्मेदवारले चुनाव जितेका हुन् ।

रोल्पामा गठबन्धनका कारण कांग्रेसलाई छाडेको क्षेत्रमा बागी उम्मेदवारी दिएका दीपेन्द्र पुन सिजलले जित हासिल गरेका छन् । माओवादी शान्ति प्रक्रियामा आउनुपूर्व राजनीतिक फाँटमा सक्रिय रहे पनि आन्तरिक दुर्घटनामा परी घाइते हुनुअघि ‘सिजल’ माओवादी जनमुक्ति सेनाका कमिसार थिए ।

पाल्पामा एउटा आक्रमणको क्रममा आन्तरिक विस्फोटमा परी हात गुमाएपछि उनलाई माओवादीले राजनीतिक फाँटमा सरुवा गरेको थियो । उनी माओवादीको रोल्पा जिल्ला इन्चार्ज थिए ।

०७४ को निर्वाचनमा रोल्पा ‘ख’ बाट प्रदेशसभामा विजयी उनी आफूले विजय हासिल गरेको क्षेत्र माओवादी केन्द्रले कांग्रेसलाई छाडेपछि असन्तुष्ट थिए ।

उनले नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापतिसमेत रहेका सत्ता गठबन्धनका उम्मेदवार अमरसिंह पुनलाई पराजित गरेका हुन् ।

नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि बागी उठेका दीपेन्द्रले १४ हजार ९२७ मत ल्याए भने कांग्रेसका अमरसिंहले १० हजार ४०६ मत प्राप्त गरे।

माओवादी जनयुद्धमा सुरुदेखि नै आवद्ध भएका दीपेन्द्र घाइतेसमेत हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा रोल्पा प्रदेश सभा १ नेपाली कांग्रेसलाई दिएपछि उनले माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए।

रुकुम पूर्व को प्रदेश १ मा बागीले माओवादी जिल्ला इन्चार्ज लाई नै पराजित गरेका छन । रुकुम पूर्व ‘क’ मा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तेजबहादुर ओलीलाई पराजित गर्दै सरुल पुन (अजयदीप) विजयी भएका हुन् ।

०७४ मा पनि विजयी ओलीविरुद्ध रुकुमपूर्व ‘क’ का माओवादी नेता–कार्यकर्ताले सरुललाई उम्मेदवारका रुपमा खडा गरेका थिए।

जनयुद्धको क्रममा सोलुमा भएको आक्रमणमा गम्भीर घाइते सरुलले जनमुक्ति सेनाको ब्रिगेड कमाण्डरसम्म भएका ओलीलाई पराजित गरेका हुन् । सरुल पुन (अजयशक्ति)ले माओवादी केन्द्रका नेता तेजबहादुर (ओली प्रतिक)लाई ६ सय ४३ मतान्तरले पराजित गरेका छन् ।

विजयी पुनले ४ हजार ४६५ मत प्राप्त गर्दा पराजित पुनले ३ हजार ९३२ मतमात्र प्राप्त गरेका छन् ।
त्यस्तै, नवलपरासी पश्चिमको क्षेत्र नं. २ (१) मा बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका खड्क बस्नेत विजयी भएका छन्। बस्नेतले प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७१ मतको झिनो मतान्तरले पराजित गरेका हुन्।

बस्नेतले १२ हजार ४४९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार प्रधानले १२ हजार ३७८ मत ल्याएका छन्। तेस्रोमा एमालेका थानप्रसाद गैरेको ८ हजार ८८४ मत छ।

माओवादी केन्द्रबाट टिकट नपाएपछि बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सत्तारुढ गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रकै उम्मेदवार चिनक कुर्मी भने २ हजार २९ मत पाएर छैटौं स्थानमा रहे। कुर्मीको जमानत जफत भएको छ। जमानत जोगाउन सदर मतको १० प्रतिशत आवश्यक छ।

चौथो र पाँचौंमा क्रमशः राष्ट्रिय उन्मुक्ति पार्टी र लोसपाका उम्मेदवार रहे। कुल ३७ हजार ९५२ मत खसेको प्रदेश सभामा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया