बुधबार, वैशाख १२, २०८१

उपेन्द्रलाई रोक्दै सिके राउतको संसदमा इन्ट्री

उपेन्द्र यादवलाई दोब्बरबढी मतले पराजित गरेर सिके राउत सप्तरी २ बाट निर्वाचित

मेरोन्यूज २०७९ मंसिर ७ गते १६:३८

काठमाडौं । पृथकतावादी मुद्दा छाडेर मूलधारको राजनीतिमा होमिएका सिके राउत प्रतिनिधिसभामा निर्वाचित भएका छन् । मधेसको मुद्दा र एजेण्डा बोकेर राजनीतिमा उदाएका मधेसको अर्काे शक्ति जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको संसदीय राजनीतिलाई रोक्दै यादव प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

उनले सप्तरी २ मा जसपाका अध्यक्ष यादवलाई पराजित गरेका हुन् । उपेन्द्रलाई दोब्बरबढी मतले पराजित गरेर सिके संसदमा पहिलो पटक छिर्ने ढोका खुल्ला गरेका हुन् । सीके राउतले ३५ हजार ४२ मतसहित बिजयी हुँदा उपेन्द्र यादव १६ हजार ९६९ मतमा रोकिएका छन् । राउतले पहिलो पटक सांसद छिर्ने ढोका खोलेका हुन् ।

संसदीय निर्वाचनमै उनको पहिलो सहभागिता हुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा उनी सरकारसँग बार्ता गरेर राजनीतिको मूलधारमा आएका हुन् । त्यसपछि नै उनले जनमत पार्टी गठन गरेर तराई–मधेसमा गतिविधि तीव्र बनाएका थिए ।

राउत संसदीय राजनीतिमा परीक्षण हुन बाँकी नेता हुन् । उनको दलका केही नेता गत वैशाख ३० को चुनाव जितेर स्थानीय सरकार चलाइरहेका छन् । स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी हुँदा उसले १९ वडाध्यक्ष र २ पालिका प्रमुख जितेको थियो । दुवै पालिकाको नेतृत्व जनमत पार्टीले सप्तरीमै जितेको हो ।

राउत जितेको निर्वाच्न क्षेत्रमै दुवै प्रदेशसभा सदस्य राउतको जनमत पार्टीले जितिसकेको छ ।

राउत स्वराज आन्दोलनका क्रममा पटकपटक प्रहरीबाट कुटिएका थिए, थुनामा बसेका थिए । पृथकतावादी गतिविधिमा लागेका उनी मूलधारको राजनीतिमा आएसँगै उनले आफ्नो क्षेत्रमा भ्रष्टाचार नियन्त्रण र रोजगारीलगायत जनजीविकासँग जोडिएका मुद्दा मतदातासँग राखेर मत मागेका थिए ।

को हुन् राउत ?
सप्तरीको महदेवा गाउँमा जन्मेका राउत अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत रहँदा रहँदै सन् २०११ को अन्त्यतिर राजीनामा दिई नेपाल फर्किएका हुन्। युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्‌कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता सम्मानबाट उनी विभूषित भएका थिए।

उनी अमेरिकामा दर्ता गरिएका तथा मधेशी हक-हितका लागि अन्तर्राष्ट्रिय स्तरमा कार्यरत गैर(आवासीय मधेशी संघका संस्थापक अध्यक्ष पनि हुन्।

पुल्चोक क्याम्पसमा इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक गरेर एउटा इन्जिनियरिङ क्याम्पसमा केही समय विभागीय प्रमुखका रुपमा काम गरेका उनी आफूलाई सोध्दै नसोधी सहायक विभागीय प्रमुख बनाएपछि राजीनामा दिएर हिँडे। त्यसपछि जापान सरकारले दिने गरेको मोनबूशो स्कलरशीपमा जापान गए।

जापानबाट फर्किएपछि सन् २००४ को अगस्तमा गेरू वस्त्र लिएर घरबाट निस्केका राउतसित कहाँ जाने कुनै योजना थिएन। भगवान खोज्ने भन्दै भारतका कलकत्ता, मद्रास, कन्याकुमारी, मधुराइ, बेंगलोर र रामेश्वरम् हुँदै साईबाबाको पुट्टपर्तीस्थित प्रशान्ति निलयमसम्म पुगे।

आत्मकथा बैरागदेखि बचाउसम्ममा उनले त्यही क्रममा पहिचानको ब्रह्मज्ञान भेट्टाएको बताएका छन्।

एक महिनापछि उनी फेरि जापान फर्किए। जापानमा कोर्सको अन्तिमतिर उनी बिरामी भए। अस्पतालमै उनले आफ्नो थेसिस लेखे, थेसिसको डिफेन्स गर्न एक जापानी साथीले अस्पतालबाट डिपार्टमेन्टसम्म उनलाई ह्ववीलचेयरमा लग्नुपरेको थियो।

जापानमा मास्टर्स डिग्री पूरा गरेपछि बेलायतको क्याम्ब्रिज यूनिवर्सिटीमा विद्यावारिधि गर्न आवेदन दिएर छनौट भए।

पहिलो पटक इन्जिनियरिङ पढ्न काठमाडौँ आउँदा यहाँ ऋतिक रोशन कान्ड भएको थियो भने जापानमा फर्कने क्रममा इराकको आतंकवादी संस्थाले नेपालीहरुको हत्या गरेपछि काठमाडौँमा दङ्गा भड्किएको थियो। ती दुवै घटनालाई उनले मधेसीमाथि भएको दमनका रुपमा लिएका छन्।

राउत पहिलो पटक १८ चैत ०६८ मा तत्कालीन लोकतान्त्रिक मधेसी मोर्चाले खुलामञ्चको आमसभामा देखिएका थिए । त्यहाँ उनलाई मधेसी बुद्धिजीवीका रुपमा सम्बोधन गर्न पनि दिइएको थियो ।


आमसभामा चर्कै भाषण गरेका उनले आफूप्रति मधेसमा युवाहरुको आकर्षण देखे । त्यसपछि उनले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने नारा दिए । किताबहरु निकाले, जसमा निकै उग्र र कतिपय आपत्तिजनक शब्दहरु समेत राखेका छन् । राज्यप्रति असन्तुष्ट युवाहरुको जमान उनीतिर आकषिर्त भयो ।

तर पटक पटक जेल परेपछि उनी पृथकताबादी मागबाट गले र राजनीतिको मूलधारमा आए । उनकोअ व संसदमा हुने प्रवेशले उनको परिक्षा अव सुरु भएको छ ।

प्रतिक्रिया