शनिबार, जेठ ५, २०८१

मधेस केन्द्रित दलका शीर्ष नेताहरु सबै पछाडि, सीके राउतकाे उदय

मेरोन्यूज २०७९ मंसिर ६ गते १३:१४

काठमाडौं । तराई मधेस केन्द्रित दलका शरदसिंह भण्डारीबाहेक सबै नेता दोस्रो स्थानमा सीमित रहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले दोब्बरभन्दा मत अन्तरले पछि पारेका छन् ।

Advertisement

जनमतका राउतले १२७८१ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादव भने ६३४७ मतमा सीमित हुँदै आएका छन् । जारी मतगणनाअनुसार राउत विजयको नजिक पुगेका छन् । यादव यसअघि सप्तरी–२ र सुनसरीवाट निरन्तर विजयी हुँदै आएका थिए । राउतको अग्रतासँगै यादवको चौथोपटक विजयी हुने यात्रा रोकिने भएको छ । 

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई स्वतन्त्र उम्मेदवारले पछि पारिरहेका छन् । महोत्तरी क्षेत्र नम्बर ३ वाट उठेका ठाकुरलाई स्वतन्त्र उम्मेदवार रामआधार कापरले पछाडि पारिरहेका छन्। प्रारम्भिक मतगणनामा ठाकुरले ११९६ पाउँदा कापर २२०४ मतसहित अगाडि छन् । ठाकुर यसअघि सोही निर्वाचन क्षेत्रवाट विजयी भएका थिए । 

उता, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवसँग पछाडि परेका छन् । महतो नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका आधिकारिक उम्मेदवार नेपाल समाजवादी पार्टीका उम्मेदवार महेन्द्रराय यादवसँग पछि परिरहेका छन् ।

सर्लाही–२ मा सत्तारुढ गठबन्धनले मित्रवत प्रतिस्पर्धा गर्ने भने पनि हालसम्म हालसम्मको  गणना भएको मतपरिणामअनुसार रायले १८२५ मत ल्याएका छन् भने लोसपाका महतोले १३३१ मत प्राप्त गरेका छन्। 
 

प्रतिक्रिया