शनिबार, वैशाख १५, २०८१

खुम्चिएको माओवादी

माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित्ला कति ?

वाम तालमेल गर्दा उम्मेदवारी दिएकोमध्ये ६२ प्रतिशत प्रत्यक्षमा जितेको माओवादीले यसपटक कांग्रेससँगको तालमेलमा ४५ प्रतिशत सिटमा जित निकाल्न पनि गाह्रो देखिएको छ

मेरोन्यूज २०७९ मंसिर ६ गते १३:१४

काठमाडौं । नेकपा (माओवादी केन्द्र)लाई यो पटक निर्वाचनमा ठूलै झट्का लागेको छ । दुई स्वतन्त्रसहित यसपटक माओवादीले सत्ता गठबन्धनमा रहेर ४५ स्थानमा आफनो उम्मेदवार उठाएको थियो । थप १ क्षेत्र काठमाडौं १० मा मित्रवत गठबन्धनसँग पनि मित्रवत प्रतिस्पर्धा गर्ने गरी कुलमा पार्टीबाट ४४ र आफनो भागको २ स्वतनत्र गरी ४६ स्थानमा उम्मेदवारी दिएको थियो ।

तर निर्वाचनको अहिलेसम्म गणना भएको मत परिणामका आधारमा माओवादीले यसरी उम्मेदवारी दिएका कुनै पनि क्षेत्रको निर्वाचनको अन्तिम मत परिणाम आएको छैन । यद्यपी उसले प्रतिनिधिसभातर्फ चुनाव लडेका मध्ये यो समाचार तयार पार्दासम्म मात्रै १५ स्थानमा अगाडी छ ।

ताप्लेजुङ, कालिकोट, हुम्ला र बारा २ मा अहिलेसम्म पहिलो पारम्भिक मत परिणामसम्म पनि सार्वजनिक भईसकेका छैनन । केहीमा मतगणनाको भर्खरै तयारी हुँदैछ ।

तर उपत्यकाका आफनो भागमा भागवन्डा सुरक्षित गरेको ५ वटै निर्वाचन क्षत्रेमा माओवादीको हार निश्चित देखिएको छ । काठमाडौं २ ओनसरी घर्ती, काठमाडौं ७ अस्मिता सिंह मानुषी, काठमाडौं ९ कल्पना धमला, भक्तपुर १ सुनिल गोठे र ललितपुर ३ पम्फा भुसाल चुनाव यसपटक जित्ने रेसमा देखिएका छैनन । गठबन्धनसँगै मित्रबत प्रतिस्पर्धामा रहेको काठमाडौं १० मा अञ्जना विसंखेको पनि जित्ने सम्भावना टरेको छ ।


त्यस्तै, लमजुङमा देव गुरुङ, कास्की ३ मा रामजीप्रसाद बराल, बाँके १ मा महेश्वर गहतराज, बर्दिया २ मा सुरेश पन्थ, जुम्लामा गोमा गौतम कुंबर, बैतडीमा नरेन्द्र बहादुर कुंबर, कैलाली २ मा भगतबहादुर बडुवाल, कैलाली ३ मा कृष्णकुमार चौधरी, कञ्चनपुर १ मा बिना मगर र झापा २ मा हरिकुमार रानामगर पनि जित्ने रेसमा छैनन् ।

मतगणना जारी रहेपनि यी निर्वाचन क्षेत्रबाट चुनाव जित्नलाई अव उनीहरुलाई मुश्किल रहेको विश्लेषण माओवादी वृतमै छ ।

यसरी हिसाव गर्दा १६ जना उम्मेदवार चुनावी जितको रेसबाट करिव करिव बाहिरिएजस्तो अवस्था माओवादीमा छ ।
बाँकी १५ मा अहिलेसम्म माओवादीको अग्रता छ । ३ निर्वाचन क्षेत्रमा मतगणना बाकी शुरु भएको छैन । त्यहाँ मतगणना गन्नै बाँकी छ । बाँकी १० निर्वाचन क्षेत्रमा माओवादी प्रतिस्पर्धामा पछाडी छ । अहिले नै यी क्षेत्रमा जितहारको बारेमा भन्न सकिने अवस्था छैन ।

माओवादीले अहिलेसम्म खोटाङमा रामकुमार राई, भोजपुरमा सुदन किराँती, सुनसरी १ मा मुक्‍सामहाङ सुब्‍बा, सर्लाही २ मा महेन्द्र राय यादव, सर्लाही ३ मा नरेन्द्र साह कलवार, काभ्रे १ मा सूर्यमान दोङ, सिन्धुली २ मा लेखनाथ दाहाल राजन, गोरखा २ मा पुष्पमल दाहाल प्रचण्ड, बागलु« २ मा देवेन्द्र पौडेल, दाङ २ मा रेखा शर्मा, रुकुम पूर्वमा पूर्णवहादुर घर्ती आयाम, रोल्पमा बर्षमान पुन, जाजरकोटमा शक्तिवहादुर बस्नेत, रुकुम पश्चिममा जर्नादन शर्मा मात्रै अहिलेसम्म मतगणनामा अग्रतामा छन् ।

गत ०७४ को निर्वाचनमा माओवादीले प्रत्यक्ष तर्फ ३६ स्थानमा चुनाव जितेको थियो । त्यसबेला माओवादीले एमालेसँग वाम तालेमल गरेर चुनाव लड्दा ५८ सिटमा उम्मेदवार उठाएको थियो ।

उम्मेदवार उठाएको मध्ये ६२ प्रतिशत क्षेत्रमा ०७४ मा माओवादीले चुनाव जितेको थियो । अहिले कांग्रेससँगको चुनावी तालमेलपछि माओवादीले कुल उम्मेदवारमध्ये ४५ प्रतिशत सरदरमा मात्रै चुनाव जित्ने अवस्था देखिएको छ ।

यसले माओवादीलाई अघिल्लो चुनावभन्दा थप घाटा लाग्ने देखिएको छ । निर्णायक तेस्रो शक्ति बन्ने माओवादीको योजनामा नराम्ररी यसपटक धक्का लागेको छ ।

घण्टी र नागरिक उन्मुक्ति बाँधक


मओवादीले जित्ने अपेक्षा राखेका केही निर्वाचन क्षेत्रमा रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी र रञ्जना श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी बाधक बनेको छ ।

विगतमा राम्रै पकड क्षेत्र मानिएको क्षेत्रमा पनि यसपटक नयाँ उदाउादै गरेका यी दुई पार्टीले माओवादीलाई हराएको छ । ललितपुर ३, काठमाडौं २ र काठमाडौं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादीलाई धक्का खुवाएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले कैलाली २, कैलाली ३ र बर्लिया २ मा माओवादीलाई धक्का दिएको छ ।

यी क्षेत्र माओवादीको विगतमा पनि पकड क्षेत्रका रुपमा लिइन्थ्यो । तर यी तिनवटै क्षेत्रमा यसपटक नागरिक उन्मुक्ति पार्टीले जित निकाल्ने देखिएको छ । कैलाली ३ र बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टी माओवादी उम्मेदवार भन्दा निक्कै मतले अगाडी छन् ।

केहीमा एमाले र जुम्ला जस्तो माओवादीको बलियो प्रभाव रहेको क्षेत्रमा यसपटक राप्रपाले समेत माओवादीलाईै धक्का लगाएको छ । त्यसो त माओवादीले यसपटक कांग्रेससँग गरेको तालमेल पनि फलदायी हुन सकेको देखिएन । माओवादी नेता कार्यकर्ताले कांग्रेसलाई इमान्दारपूर्वक मत दिएको देखिएपनि कांग्रेसले गठबन्धनको मर्म अनुसार माओवादीलाई मत दिएको कँही कतै देखिएको मतगणनाका रुझान हेर्दा प्रष्टै देखिन्छ ।

कांग्रेसले माओवादीका उम्मेदवार उठेका अधिकाशं ठाँउमा विकल्पका रुपमा रवि लामिछानेको पार्टी या एमालेसम्मलाई नै पनि मत दिएको मतगणनाको पारम्भिक नतिजाले देखाएको छ ।

प्रतिक्रिया