शनिबार, जेठ ५, २०८१

सोलुमा मतपेटिका संकलन सकियो, सर्वदलीय बैठकको तयारी

मेरोन्यूज २०७९ मंसिर ५ गते २१:१८

काठमाडौँ । सोलुखुम्बुको सबै स्थानीय तहका मतपेटिका सदरमुकाम सल्लेरी आइपुगेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका नौ मतदान केन्द्रको ३६ मतपेटिका हेलिकप्टरबाट र अन्य पालिकाको मतपेटिका स्थलमार्गबाट सल्लेरी ल्याइएको हो ।

Advertisement

लिखुपिके गाउँपालिका र खुम्बु पासाङ ल्हामु गाउँपालिकाका मतपेटिका आज ढुवानी गरिएको हो भने अन्य पालिकाको मतपेटिका हिजो राति नै सल्लेरी ल्याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लिखुपिके गाउँपालिकाबाट लामाजुरा हुँदै ट्याक्टरमार्फत ल्याइएको मतपेटिका साँझ सल्लेरी आइपुगेसँगै जिल्लाको सबै मतदान केन्द्रको मतपेटिका सङ्कलन कार्य सकिएको सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले बताए ।

एक सय ३५ मतदान केन्द्र रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा गरी पाँच सय ४० मतपेटिका छन् । ती सबै मतपेटिका सुरक्षित सल्लेरी आइपुगेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

८१ हजार पाँच सय दुई मतदाता रहेको जिल्लामा ३९ हजार चार सय ३३ मतदाताले मतदान गरेका छन् । मतपेटिका सङ्कलनको काम सकिएसँगै मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया