शुक्रबार, चैत १६, २०८०

संघीय निर्वाचन-२०७९

अब मतदाताले मलाई खोजिरहेका छन् : नेता न्यौपाने

मेरोन्यूज २०७९ मंसिर १ गते १६:२२

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै नेताहरू चुनावी प्रचार प्रसारमा तीव्र बनाइरहेका छन् । उनीहरूले मतदातालाई आफ्नो एण्जेडा प्रस्तुत गरिरहेका छन् । देश र समाज रुपान्तरण गर्न आफू सक्षम भएको प्रमाण पेश गर्दै मत मागिरहेको अवस्थामा द्वारिकाप्रसाद न्यौपानेले पनि आफ्नो चुनावी प्रसारलाई तीव्रता दिएका छन् । कैलाली १ प्रदेशसभा ‘ख’बाट उम्मेदवारी दिएका न्यौपानेसँग मेरो न्युजले गरेको अर्न्तवार्ता :

तपाईंका युवा नेताका रुपमा चिनिनुहुन्छ, तपाईं आफ्नो चुनावी प्रचार प्रसार कसरी गर्नु भएको छ ?

अब निर्वाचन हुन तीन दिन बाँकी छ । हामी चुनावको अन्तिम तयारीमा छौँ । यसपटक पार्टी पङ्क्ति व्यवस्थित ढंगबाट परिचालन गरिएको छ । टीकापुरका नौ वटा वडामा हामी टोल समूह बनाएर चुनावी मैदानमा होमिएका छौँ ।

हामी घरदैलोसँगै सामाजिक सञ्जाललाई पनि तीव्र बनाएका छौँ । ती सामाजिक सञ्जालबाट हामी मतदाता समक्ष हाम्रा एजेण्डाको जानकारी गराइरहेका छौँ । सबै प्रचारको काम सकिएकाले मतदातालाई कसरी संरक्षण गर्ने भन्ने लागेका छौँ । पार्टी एक ढिक्का भएकाले सत्ता गठबन्धन र उन्मुक्ति पार्टीलाई पराजित गरेर चुनाव जित्छौँ ।

टीकापुर विकास लागि तपाईं के योजना छ ?

Advertisement

विकास भनेको जनताको जीवन स्तरमा सुधार आउनुु हो । मसँग टीकापुर बनाउने ‘ड्रिम प्राजेक्ट’ छ । ‘पाइलट सिटी’ र कर्णाली करिडोर, वाटर किङ्गडम टीकापुर पार्क, स्पोर्टस एकेडमी जस्ता बनाउने योजना रहेको छ ।

यस्तै, कैलाश मानसरोवर जाने बाटो बनाउन सक्दछौँ । जहाँ भारतबाट आउने कैलाशयात्रा गर्ने तीर्थालुलाई सहज हुनुका साथै टीकापुरलाई कायापलट गर्न सकिन्छ ।

स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाअनुसार विजय हासिल गर्ने सकेन, यो निर्वाचन जित्ने आधार के हो ?

हो, हामी गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा सिट र मतको आधारमा टीकापुरमा ठूलो पार्टी बन्न सकेनौँ । पार्टीको आन्तरिक विवाद र अन्तरघातका कारणले हामीले टीकापुरमा क्षति ब्यहोर्नु पर्‍यो । टीकापुरमा हामीले ०५४ र ०७४ सालमा बहुमतका साथ एमाले जितेका थियौँ । टीकापुरमा सिटमा हामी पहिलो पार्टी भन्न सकेनौँ । मतका आधारमा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

स्थानीय तहको निर्वाचनमा एमालेप्रति जनताको आकर्षण देखेर सत्ता गठबन्धन लडेनन्, अर्थात पार्टीगत चुनाव लडेनन् । एमाले एक्लै र पाँच दलीय गठबन्धनका बीचमा चुनाव भएको थियो । चौतर्फी घेराबन्दी हुँदा पनि एमाले सिटमा दोस्रो र मतमा पहिलो भएको छ । हामी सिटमा पहिलो हुन नसकेको कारण समीक्षा गरेका छौँ । जनता गठबन्धनको विपक्षमा रहेका छन् । जनताको जनलहर एमालेप्रति छ । हामी पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गरेर यसपटक टीकापुरलाई एमालेको लालकिल्ला बनाउँछौँ ।

जनताले परिर्वतनको अनुभूति गर्न नसक्नुको कारण के हो ?

मुलुकमा राजनीतिक परिर्वतन धेरै भए । जनताका राजनीतिक अधिकार संस्थागत भयो । तर, आर्थिक, सामाजिक प्रणालीमा परिर्वतन गर्न सकेनौँ । प्रमाणी महत्वपूर्ण कुरा हो । अहिले हामी एउटा कुनै काम लिएर सरकारी कार्यालयमा जाँदा कति झन्झट ब्यहोर्नु पर्दछ भन्ने सबैले भोगेको कुरा हो । तसर्थ, ती प्रणालीलाई परिवर्तन गरी नयाँ प्रणाली विकास गर्नु आजको आवश्यकता रहेको छ ।

आर्थिक र सामाजिक परिर्वतन गर्नका लागि प्रणाली परिवर्तन गर्न नसक्दा जनताले परिर्वतनको अनुभूति पाउन सकेनन् । अब जनताले परिर्वतनको अनुभूति हुने गरी काम र योजना बनाउनु पर्छ ।

देशको विकास किन हुन सकेन ?

एक शताब्दी पहिले हामीभन्दा गरिब राष्ट्रको सूचीमा दर्ज भएका राष्ट्रहरू दक्षिण कोरिया, मलेसिया, दुबई, सिङ्गापुर विकसित मुलुकको रुपमा स्थापित भइसके । हामीसँगै परिवर्तन भएका देश आर्थिक रुपले कहाँ पुगे । हाम्रो विकास नहुनुमा अब गम्भीर बन्नु पदर्छ । स्थिर सरकार बन्न नसक्नु, लामो समयसम्म यथास्थितिमा रमाउने पार्टी सरकारमा रहनु विकासको साझा मोडल नहुनु जस्ता विषयले विकासलाई प्रभाव पारेको छ । त्यसैले यसपटक युवालाई जनताले निर्वाचन गर्ने छन् । हामी हाम्रो आफ्नो ठाउँ बनाउँदै मुलुक बनाउने प्रण गर्दछौँ ।

खड्गबहादुर सिंहका माष्टर प्लान सफल बनाउने योजना कस्तो छ ?

खड्गबहादुर सिंहले सपना साकार पार्नका लागि म अगाडि सरेको छु । उनले तयार पारेको माष्टर प्लान नै रहेर मैले टीकापुरका विकास गर्ने योजना ल्याएको छु । हो, टीकापुरको माष्टर प्लान सफल बनाउने नयाँ खड्गबहादुर टीकापुरले खोजिरहेको छ । त्यो नयाँ खोजिरहेको मान्छे मै हुँ ।

हो, टीकापुका लागि म परीक्षण नभएको युवा हुँ । अरु धेरै पटक परीक्षण भइसकेर ती परीक्षणमा फेल पनि भइसके । अब मेरा एजेण्डाले मात्र खड्गबहादुरको सपना पूरा हुने भएकाले त्यो मैले पूरा गर्नु छ ।

त्यसैले मेरो एउटा मात्र अनुरोध हो यसपटक मलाई टीकापुरका जनताले परीक्षण गर्नका लागि जिताउने आशा लिएको छु ।

यो क्षेत्रमा प्राथामिकताका साथ गर्ने पर्ने काम के के होला ?

फरक फरक मनोविज्ञान भएका मानिसहरू टीकापुर क्षेत्रमा छन् । शिक्षा, स्वास्थ्य र रोजगार यहाँका समस्या हुन् । अहिले शिक्षाका लागि काठमाडौँ जाने गरेका छन् । त्यसका लागि यही गुणस्तर र व्यवसायिक शिक्षा आवश्यकता छ । त्यही भएर यहाँ कृषिसँगै अरु व्यवसायिक शिक्षाका ठूला–ठूला कलेज यहाँ स्थापना गर्नुपर्दछ ।

यस्तै, उपचारका लागि यहाँका मानिस नेपालगञ्ज, काठमाडौँ र भारतको लखनउ जानु पर्ने बाध्यता छ । जसले मानिसहरूले धेरै खर्च हुने गरेको छ । त्यसैले अस्पतालको स्तरउन्नत्ति गर्नु आवश्यक रहेको छ । अस्पतालमा विशेषज्ञ सेवासहितको सुविधा र सय शैय्या बनाउन आवश्यक रहेको छ ।

यस्तै, रोजगारीको समस्या यहाँ पनि रहेको छ । युवा रोजगारी नपाएर बाहिर जानुपर्ने बाध्यता रहेका छन् । यहाँ कलकारखाना स्थापना गरेर ‘एक घर, एक रोजगारी’ गर्ने मेरो योजना रहेको छ ।

यहाँका कृषि उत्पादनलाई व्यवस्थित गर्ने योजना के छ ?

यहाँ कृषिको उर्बरभूमि रहेको सबैलाई थाहा छ । कृषि बैंकको स्थापना गरेर यहाँका कृषिले उत्पादन गरेको तरकारी हामी किनिदिन्छौँ । अब कृषकले उत्पादन गरेका कृषि सामाग्रीको बजारीकरण हामीले गरिदिन्छौँ । कृषकको खेतमा गएर हामीले ती उत्पादन तरकारी कृषि सामाग्री खरिद गरिदिन्छौँ । र, कृषक अब बजारका लागि भौतारिनु पर्दैन । टीकापुर कृषिको राजधानी कृषि क्रान्ति टीकापुरबाट नै शुरु गर्नुपर्दछ ।

सुकुम्बासी समस्या समाधान गर्न योजना कस्तो छ तपाईंको ?

यहाँका मुक्त कमैया मुक्त भए पनि अझै समस्यामा छन् । उनीहरूलाई रोजगारीका लागि अझै भारतमा जानु परेको छ । यहाँका मुक्त कमैया भनेका देशभरिका सबभन्दा परिश्रमी हुन्छन् । उनीहरूलाई राज्यले चिन्न सकेको छैन । ती थारु मुक्त कमैयालाई सही सदुपयोग गर्ने हो भने टीकापुरको कायापलट ल्याउन सकिन्छ । ती मुक्त कमैयालाई टीकापुरको विकास निर्माणका लागि अघि सार्नुपर्दछ । यस्तै, सुकुम्बासीलाई सुरक्षित तथा स्तरीय आवास कार्यक्रम ल्याउने योजना रहेको छ ।

तपाईंको चुनाव जित्ने आधार के हो ?

अहिले हामी चुनावको अन्तिम प्रचार प्रसारमा छौँ । यसबीचमा मेरा एजेण्डा देखेर टीकापुर त द्वारिकाप्रसाद न्यौपानेले बनाउँदो रहेछ भन्ने मात्र रहेको छ ।

यस्तै, कैलाश मानसरोवर जाने लागि बाटो हामीले टीकापुरबाट बनाउन सक्दछौँ । मानसरोवरका दर्शनार्थ गर्ने तीर्थालुहरू सत्तीस्थित पद्म प्रकाशेश्वर मन्दिरका पहिलो दर्शन गर्नु पर्ने मान्यतालाई हामीले स्थापित गराउनु पर्दछ ।

मेरो एजेण्डा देखेर विपक्ष डगमगाइसकेका छन् । मेरो एजेण्डा यहाँका मतदाताले माया गरेको हुनाले मलाई मन पराएका छन् । कर्णाली करिडोर भएपछि कर्णालीको डुबानका समस्या समाधान हुन्छ । डुबान समस्या हुन भनेको हजारौँ विघा जमिन बच्नु हो । मेरा यस्ता योजना र मेरो योजना नै चुनाव जित्ने हो ।

तपाईं आफ्ना प्रतिस्पर्धीले कस्तो पाउनु भयो ?

टीकापुरका मतादाताले सधै नयाँ जनप्रतिनिधि पठाएका थिए । अहिले प्रदेशमा मेरा प्रतिस्पर्धी रणबहादुर रावल र नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण किशोर थारु छन् । रावल यसअघि निर्वाचित प्रदेशसभा हुन भने थारु नयाँ पार्टीका उम्मेदवार हुन् ।

रावललाई जे उद्देश्यले जनताले सांसदमा पठाएका थिए । तर, त्यो पूरा गर्न सकेनन् । उनी आफ्नो पार्टीमा मन नपराएका नेता हुन् । उनी पटक पटक अवसर पाउने केही गर्न नसक्ने नेता हुन् । हो उनको ठाउँमा अब मतदाताले मलाई खोजिरहेका छन् ।

अर्को कुरा थारु नयाँ युवा भए पनि टीकापुरको विकासमा खासै योजनाकार नभएका नेता हुन् । अब मतदाता धेरै जाने बुझेका छन् । केही गर्न नसक्ने रावल र भिजन नभएका नेता थारुलाई टीकापुरका जनताले रुचाउन छैनन् । मेरो योजनाले टीकापुर साच्चिकै समृद्धि हुने भएकाले मतादाताले मलाई रुचाएका छन् ।

प्रतिक्रिया