बिहीबार, वैशाख १३, २०८१

मैले भोट हाल्नै पर्दा…..

नारायण शर्मा २०७९ कार्तिक ३० गते १२:४८

म नेपालको वंशजको नागरिकको नाताले दाङ क्षेत्र नं २ ख को ६५ बर्षीय मतदाता । मेरो जन्म तत्कालीन रामपुर गाँउ पञ्चायत वार्ड नं ४ शाहीपुर । २०३६ देखि स्थायी बसोबास दुधरास (बघौसी) । २०३५ मा स्नातक गदैंगर्दा स्थानीय नारायणपुर माविमा १ बर्ष अध्यापनपछि राजीनामा दिई नेकपा चौथो महाधिवेशनको पूर्णकालीन कार्यकर्ता । २०३७ देखि ४७ को वैशाखसम्म शिक्षकको आवरण र आर्थिक आधारमा रुकुमका चौरजहारी र रुकुमकोट माविमा क्रमशः नौ महिना र दुई दिने अध्यापक ।

नारायण शर्मा


रुकुमबाट स्थानीय प्रशासनले पक्राउ गर्न खोजेपछि जाजरकोटका दल्ली र तल्लुमा गई दुई माविको संस्थापक प्रधानअध्यापक । २०४० पुषदेखि २०४७ वैशाखसम्म स्थानीय जनकल्याण मावि दुधरास दाङको संस्थापक प्रधानअध्यापक । हाम्रो देश राम्रो बनाऔं भन्दै स्वाधीन देश, समतापूर्ण समाज, शोषण दमनहीन व्यवस्था र स्वतन्त्रतायुक्त राज्य बनाउन भनी आफूले राम्रो बनाउँदै गरेको स्कूलबाट राजीनामा दिई कम्युनिस्ट क्रान्तिकारी राजनीतिमा पूर्णरुपले समर्पित कार्यकर्ता ।

१० बर्षे भीषण जनयुद्ध थालनी गर्ने १९ जना केन्द्रीय सदस्यमध्येको एक नेता । जनयुद्धकै क्रममा पनि पत्रकार समेत भएर खुला र भूमिगत दुवै रुपमा शान्तिपूर्ण र सशस्त्र संघर्षमा निरन्तर सहभागी योद्दा हु म । पार्टीको सर्वोच्च निकाय सचिवालय, स्थायी कमिटी र पहिलो संविधानसभाको सदस्य पनि । पार्टी र समाजमा न्यायप्रेमी, समाजसेवी, मानवतावादी, सचेत, संवेदनशील, सोझो, सहयोगी, सच्चा, स्वच्छ, समर्पित, त्यागी र इमान्दार क्रान्तिकारीको परिचय बनाई निष्ठाको राजनीति गरेको मान्छे ।


यत्रो बर्षसम्म त्याग९तपस्या र दुख/कष्ट गरी वामपन्थी राजनीति र कम्युनिस्ट क्रान्तिमा होमिएको भए पनि विगत पाँच बर्षदेखि पार्टी राजनीतिबाट निस्कृय हुँदै अन्ततः प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) छोडेर म अहिले स्वतन्त्र नागरिक अभियन्ताको रुपमा क्रियाशिल छु । मैले प्रत्यक्ष देखें र स्पष्ट अनुभव गरेंकी यी कुनै स्थापित र शक्तिशाली पार्टी र नेताहरु देश, जनता, क्रान्ति, मुक्ति र प्रगतिप्रति प्रतिबद्ध त छैनन् । उल्टै देशघाती, जनघाती र क्रान्तिघाती छन् । त्यसैले त्यहाँ बसेर उनीहरुले गर्ने अपराधहरुको हिस्सा लिन उपयुक्त छैन भनेर मैले छोडें । न भन्दै एमसिसि, नागरिकता विधेयक, अपर कर्णाली आदिलाई अघि बढाउने जस्ता घोर राष्ट्रघाती कामहरु यी पार्टीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गरे । तर मलाई त्यसमा मुछिनु परेन ।

पूराना पार्टी परित्याग गर्ने र नयाँ क्रान्तिकारी, देसभक्त मोर्चा, शक्ति निर्माणको प्रयासको क्रममा म लगायत केही साथीहरु देशका जल्दाबल्दा इस्युहरुमा निरन्तर छलफल र अभियानका क्रममा लाग्यौं । यससन्दर्भमा सर्वप्रथम म सीमा बचाऔं अभियानको संस्थापक अभियन्ता, एमसीसी खारेज अभियानको संस्थापक संयोजक, राष्ट्रघाती नागरिकता विधेयक विरुद्धको नागरिकता अध्ययन कार्यदलको सहसंयोजक, संयुक्त क्रान्तिकारी मोर्चाको मुख्य प्रतिनिधि, देसभक्त नागरिक समूहको सहकर्मी आदि हुँदै ६ दलीय देखि २६ दलीय संयुक्त मोर्चाहरु मार्फत मूलतः राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा राष्ट्रिय आवश्यकता अनुसार लड्दै आइरहेको छु ।


अहिले नेपाली राष्ट्रिय राजनीतिक संघर्षको रुपमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संघारमै आइरहेको छ । यसबारेमा मैले मेरा स्वतन्त्र र व्यक्तिगत विचारहरु पनि सार्वजनिक गर्दै आइरहेको छु । पछिल्लो सामूहिक प्रयास स्वरुप यही कार्तिक २८ गते मात्रै यसबारेमा देशका केही प्रबुद्ध नागरिकहरुले एउटा प्रेस विज्ञप्तिद्वारा एउटा निर्णय सार्वजनिक गरेका छौं । त्यो निर्णय भनेको आज देशद्रोही, असफल९असक्षम, भ्रष्टाचारी र अवसरवादी पार्टी र नेताहरुका कारण देश र जनताको यो विकराल अवस्था भएकोले त्यस्तालाई भोट नदिएर सच्चा देशभक्त, सक्षम(सफल, स्वच्छ)सदाचारी र क्रान्तिकारीहरुलाई दिएर देश बर्बाद हुनबाट जोगाउन प्रयास गरौं भन्ने रहेको छ ।


सोअनुसार गर्न९गराउन हामी प्रतिबद्ध छौं र आम नेपाली मतदाताहरुलाई पनि वर्तमान विकृति र विसंगतिपूर्ण व्यवस्था, विधि९विधान र निर्वाचन प्रणाली आदिसमेतको विकल्पको खोजीस्वरुप विद्यमान संसदवादी राष्ट्रिय दल र तिनका बार९बार अवसर प्राप्त गरेर पनि देश र जनतालाई निकास र विकास दिनुको साटो उल्टै बन्धक बनाई विपत्तिमा डुबाएर आफ्ना घोषित लक्ष्य र बाचाहरु पूरा गर्न९गराउन पूरै असफल र असक्षम साबित भएका मुख्य-मुख्य बूढा/पुराना दलाल र गद्दार नेताहरुलाई भोट नदिएर र उनीहरुको विकल्पमा विजय हुने सम्भावना बोकेका विद्रोही युवा जो तुलनात्मक रुपले उनीहरुभन्दा स्वच्छ, सक्षम र भिजन भएका देशभक्त र जनमुखी छन्, तिनलाई भोट दिएर पटके नेताहरुलाई ठाउँका ठाउँ ढलाइदिन आह्वान गरेका छौं ।


यसरी खराबको सट्टामा असल स्थापित गर्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले चुनाव बहिष्कार गरेर व्यवस्थाकै बिकल्प खोज्ने क्रान्तिकारीहरुले भोट दिन नगएर खराबहरुलाई पुनर्स्थापित हुन सहयोग पुग्ने आफ्नो आत्मघाती बाटोबारे तत्काल पुनर्विचार गर्नु जरुरी छ । यसो गर्दा थुप्रै मुख्य मुख्य दुष्ट र भ्रष्ट नेताहरुको विकल्पमा तुलनात्मक रुपले नयाँ, स्वच्छ, सक्षम, देशभक्त र क्रान्तिकारीहरुको एउटा जत्था सदनमा उपस्थित भयो भने संसदभित्रको संघर्ष प्रभावकारी हुने र त्यसलाई सडकको संघर्षसँग जोडेर निर्णायक र परिणाममुखी आन्दोलन गर्न सकिन्छ । यसरी मात्र व्यवस्थाकै बहिष्कार गरी विकल्प खोज्ने आन्दोलनलाई बल पुग्छ भन्ने आशयसहित हामीले आफ्नो मतको सदुपयोग गर्न आह्वान गरेका छौं ।

उक्त समग्र राष्ट्रिय स्थिति र सन्दर्भमा एक सचेत मतदाताको कोणबाट मैले मेरो देशका पार्टी र उमेदवारहरु हेर्दा पार्टीको रुपमा नारायणमान विजुक्छे (रोहित) को नेतृत्वको नेपाल मजदुर किसान पार्टीले पंचायतकालदेखि आजसम्म निरन्तर चुनाव उपयोग गरिरहेको देखें । तर पनि उसले आफूलाई एक सच्चा देशभक्त, स्वच्छ, संघर्षशील र निस्वार्थ जनपक्षीय शक्तिको रुपमा साबित गर्न सफल रहेको पाएँ । त्यति स्पष्ट, सदाचारी र समर्पित भएर नेपालमा अहिले कुनै दल र तिनका नेता९सांसदहरु लागेका पाइएन ।

भक्तपुरमा नेमकिपा उम्मेदवार प्रेम सुवाल

दस बर्षसम्म ज्यानको बाजी लगाएर दसौं हजारको बलिदानी दिएर आएको मेरो माओवादी पार्टी वा झापा विद्रोहको रक्तमुछेल पृष्ठभूमिबाट आएका देशभक्त र क्रान्तिकारी कम्युनिस्ट भनिने पार्टी र नेताहरु यो क्याटोगोरीमा पर्दैनन् । अझ स्पष्ट भन्ने हो भने यी दुई पार्टी र यिनका मुख्य नेताहरु त भ्रष्टाचार र दलालीमा यति लिप्त छन् कि उनीहरु नेपालका दुश्मन शक्तिकेन्द्र अर्थात् विदेशी प्रभुहरुप्रति समर्पित छन् । त्यसैले समानुपातिकमा अब आफ्नो पार्टीलाई वा आफ्नो व्यक्तिलाई अथवा आफूले दिंदै आएको चिन्हलाई होइन कि तुलनात्मक रुपले सही, स्वच्छ र जिम्मेवार जनपक्षीय र राष्ट्रपक्षीय शक्ति र व्यक्तिलाई आफ्नो मत दिनु देशहित र जनहितमा हुन्छ । त्यसैले अहिलेलाई नेमकिपाको मादल चिन्हमा भोट दिएमा हामी देशभक्त र क्रान्तिकारीहरुको मतको सदुपयोग हुन्छ भन्ने निश्चित छ ।


लाग्छ, नेपाल मजदुर किसान पार्टीलाई एउटा सशक्त राष्ट्रिय पार्टी बनाउन सकियो भने उस्ले राष्ट्रिय राजनीतिमा प्रभावकारी हस्तक्षेप गर्दछ । यदी कुनै क्षेत्रमा त्यस्तो भरपर्दो र विश्वासिलो उमेद्वार पाइएन र त्यहाँका स्थापित भ्रष्ट/दुष्टहरुलाई हराउन अर्को कुनैलाई दिएर पनि सार्थक परिणाम न आउने नै अवस्था छ भने त्यहाँ पनि दुई ठुला शक्ति९व्यक्तिमा तुलनात्मक रुपले बढी भ्रष्ट-दुष्टलाई हराउने वा त्यो पनि त्यति फलदायी हुने नदेखिएमा नो भोट को अवस्थामा जानु पर्ने हुन्छ । नेपालमा हाल नो भोटको व्यवस्था नभएकोले त्यसैको प्रतिबिम्ब स्वरुप ब्याक भोट गर्ने अर्थात् मतपत्रको पछाडि छाप लगाई सबै उमेद्वार नालायक र देशविरोधी छन् भन्ने सन्देश दिने गर्नु मनासिब हुन्छ । यसरी मात्रै यो संसदीय व्यवस्था, सरकार, संसद र यी दलाल पार्टी, नेता र सांसदहरुको विकल्प खोज्ने बहिष्कार आन्दोलनको औचित्य पनि पुष्टि हुन्छ ।


यसैगरी प्रतिनिधिसभामा राष्ट्रघाती एमसीसी र नागरिकता विधेयकका राष्ट्रघाती र अन्यायपूर्ण प्रावधानहरुको विरोधमा जुध्दै आएकी जेलनेल, यातना खपेर पनि नझुकेर पुनर्जीवन पाएकी एक स्वच्छ, सक्षम र संघर्षशील महिला नेतृ रेखा शर्मा मेरो क्षेत्रकी उमेदवार छन् । उनले आफू अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को अध्यक्ष हुँदा देशव्यापी सशक्त आन्दोलनको नेतृत्व गरेर सरकारलाई झुकाएरै छोडेकी हुन् र आफ्ना मागहरु पूरा गराउन सफलता प्राप्त गरेकी हुन् । त्यसैले रेखा शर्मा जस्तो राष्ट्रिय स्तरको र अझै विकासको सम्भावना बोकेकी जुझारु र इमान्दार नेतालाई आफ्नो मत दिएर सदुपयोग गर्ने ठहर गरेको छु ।

अनि प्रदेस सभा सदस्यमा दाङको कम्युनिस्ट आन्दोलनमा स्वच्छ, समर्पित, जनसेवी, जुझारु, देशभक्त र क्रान्तिकारीको छवि स्थापित गरेका र यसअघि कुनै राजकीय जिम्मेवारीमा रहेर काम गर्ने अवसर पनि नपाएका, तल्लो वर्गबाट आएका पाकापुराना इमान्दार वामयोद्धा गिरिराज केसीलाई दिएर आफ्नो मतको सदुपयोग गर्नु पर्छ भन्ने निश्चित गरेको छु । म मेरो क्षेत्रका र देसभरिका सच्चा देसभक्त, जनवादी, वामपन्थी र क्रान्तिकारी कम्युनिस्टहरुलाई पनि यसरी नै हेर्न, बुझ्न र गर्न अनुरोध पनि गर्दछु ।


यसो गरेर मात्र सदन र सरकारमा पनि देश र जनताको पक्षमा संघर्ष प्रभावकारी बनाउँदै सदन र सरकारभित्रको संघर्षलाई सडकको संघर्षसँग जोडेर नै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनलाई निर्णायक र परिणामदायी बनाउन सकिन्छ र क्रान्ति गरेर देश बनाउने हाम्रो सपना र जपना साकार पार्न सकिन्छ । यसरी नै विद्यमान दलाल र गद्दार पार्टी र नेताहरुलाई फेर्न र देशको भ्रष्ट पुँजीवादी प्रणाली र दुर्दान्त अवस्थाको अन्त्य गर्नको लागि मद्दत पुग्छ भन्ने लाग्दछ ।


हेरौं आगामी दिनहरुमा के हुन्छ देखिनेनै छ । तथापि हामी विश्वस्त छौं कि हामीले विश्वास गरेका शक्ति र व्यक्तिहरुले विश्वासघात गरेमा नेमकिपाले त अर्को कर्ण हेजु बनाउँछ नै र अरुहरु पनि त्यो दिशामा जान थालेमा कतै र कसैबाट पनि धोकाधडी र विश्वासघात हुन सक्तैन भन्ने लाग्दछ ।

हामी चाहन्छौं कि एमसीसी, एसपीपी, नागरिकता विधेयक, नदीनाला / सम्झौता आदि जस्ता राष्ट्रहित, जनहित र क्रान्तिहित विरुद्धका विषयहरुमा हामीले छानेका जनप्रतिनिधिहरुले पनि भीम रावलले जस्तो अडान लिनेछन्, व्हीप उल्लंघन गर्ने छन्, पार्टीबाट कार्वाही भोग्ने छन र राजीनामा दिएर वा नदिएर विद्रोह गर्नेछन् तर देशघाती, जनघाती, जनतन्त्रघाती र जनजीविकाघाती सन्धि९सम्झौता र कानुन९नियमहरुमा ल्याप्चे ठोक्ने छैनन् । बरु नेपाल र नेपाली क्रान्तिको गौरवशाली इतिहास निर्माणमा जस्तै अब पनि आवश्यक परे आफ्नो जीवनलाई आहुति दिनेछन् र महान र अमर बन्नेछन् ।

प्रतिक्रिया