शुक्रबार, वैशाख १४, २०८१

कैलाली २ का उम्मेदवार बडुवाल भन्छन् – भौतिक पूर्वाधार निर्माणमा जोड दिन्छु

मेरोन्यूज २०७९ कार्तिक २९ गते १०:०९

नेकपा माओवादी केन्द्रबाट कैलाली क्षेत्र नम्बर-२ मा केन्द्रीय सदस्य, संविधान सभाका पूर्व सभासद् भगत बडुवाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठेका छन् । उनलाई सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको समर्थन छ । क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ९ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यसै क्षेत्रबाट विजयी बडुवाल यसपटक फेरी चुनाव जित्नेमा ढुक्क जस्तै देखिन्छन् । बडुवालसँग गरिएको कुराकानी :

घरदैलोमा निरन्तर दौडिरहनु भएको छ । माहोल कस्तो पाउनु भयो ? मतदाताहरुमा कस्तो उत्साह भेटिन्छ ?
हामी निरन्तर घर दैलोमा छौं । कोणसभा, र्‍यालीहरु गरिरहेका छौं । माहोल त सकारात्मक छ । राम्रो छ । चुनावबारे सबैतिर चासो छ । तर, मतदाताहरुमा त्यति उत्साह पाइदैन । ०६४ सालमा पनि तपाईं यस क्षेत्रबाट संविधान सभा सदस्य बन्नुभयो । अहिले फेरी प्रतिस्पर्धामा हुनुहुन्छ ।


तपाईंका एजेन्डा, प्रतिबद्धताहरु के-के छन् ?
०६४ सालमा संविधान सभाको पहिलो चुनावमा संविधान निर्माणका निम्ति चुनावमा गएका थियौं । त्यो बेलाको मूल एजेन्डा भनेको संविधान निर्माण थियो । संघीय संरचनाको निर्माणको मुद्धा थियो । हामी त्यसमा केन्द्रीत थियौं । यसपालीको चुनावको दृश्य अलि फरक छ । भौतिक पूर्वाधार निर्माणलाई बढी जोड दिनु पर्नेछ ।

सडक सञ्जालबाट हरेक बस्तीहरुलाई जोड्ने, विद्युतीकरणबाट हरेक बस्तीहरुलाई जोड्ने, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रमा सुविधा दिने हाम्रो योजना छ । समग्र विकास, उन्नति र प्रगति र समाजको रुपान्तरण नै हाम्रो एजेन्डा हो ।


यस्तै कानुनमा रहेका त्रुटीहरुलाई कानुनी विधिबाट सच्चाउनु छ । शैक्षिक बेरोजगारीलाई न्युनिकरण गरेर स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्नतिर हामी ध्यान दिनेछौं । वौद्धिक पलायनलाई रोक्नु हाम्रो मुख्य चुनौती हो ।

यो क्षेत्रमा आधारभुत पूर्वाधारहरुको अभाव छ । त्यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
हिजो मेरै पालामा पनि रानीजमरा कुलरिया सिचाई आयोजनाको सुरुवात भएको थियो । हाम्रो पालामा सुरुवात गरिए पनि द्रुत गतिमा अगाडि बढ्न सकेन । पूरा गर्नुपर्ने काम अहिलेसम्म अधुरा छन् । हाम्रो पालामा सुरुवात गरेको सेती लोकमार्ग जुन त्रिदेशीय राजमार्ग भनेका छौं ।


त्यो पनि बन्न बाँकी छ । कर्णाली सेरोफेरोमा २,३ वटा पुल बनिसकेका छन् । वारिबाट त्यहासम्म पुग्न सक्ने पहुचमार्ग बनेको छैन । बाबुराम भट्टराई अर्थमन्त्री रहँदा पहिलो बजेटिङ गरेर काम अगाडि बढाइएका कामहरु ८ वर्ष पुगिसक्दा जुन रफ्तारमा अघि बढ्नु पर्ने हो । काम भएका छैनन् । चिसापानी-सोल्टा भएर हामीले खिमडी जोड्ने बाटो चुरेफेदि हुदै फेदैफेद र त्यसभन्दा माथि कृषि सडक लैजानुपर्ने छ । चुरे जोगाउदै मार्गहरु बनाउनु पर्नेछ ।

नेताहरु चुनाव जितेर गइसकेपछि फर्केर आउदैनन् भन्ने गुनासो बढी सुनिन्छ । तपाईं जनताको घर दैलोमा फर्केर त आउनु हुन्छ नि ?
निर्वाचित भएका प्रतिनिधिहरुका सन्देशहरु गाउँगाउँमा पुग्नुपर्छ । त्यो सन्देश भनेको पूर्वाधार विकास र हरेक क्षेत्रका सुविधाहरुको विकास जनतासँग जोडियो कि जोडिएन भन्ने कुराहरुबाट मापन गरिन्छ । कतिपय अवस्थामा चुनावताका पनि पुग्न सकिने अवस्था छैन । सबैको घर दैलोमा पुग्न सकौंला, नसकौंला तर, जनताका बीचमा जानुपर्छ ।


हाम्रा समस्याको प्रतिनिधित्व तपाइले गर्नुपर्छ भनेर हामीलाई जिताएर पठाइएको हो । त्यसैले जनताका समस्याहरुको प्रतिनिधित्व हामीले सक्छौं कि, सक्दैनौं सबैभन्दा ठूलो कुरा हो ।

निर्वाचन क्षेत्रका आफ्ना मतदातालाई के सन्देश छ ?
उम्मेदवारहरु जनताको घर दैलोमा पुग्दैनन् भन्ने गुनासो सुनिन्छ । निर्वाचन क्षेत्र निकै ठूलो छ । सके सम्म हरेकको घर दैलोमा जाने सोच भएपनि भ्याइदैन । कमसेकम पनि जनतामा हाम्रा नासोहरु खासगरि जनताले गरेका अपेक्षाहरु पुग्नुपर्छ । हामीले आफैलाई भेटेको महसुस जनतालाई दिन सक्यौं भनेपनि त्यो धेरै ठूलो कुुरा हो ।

खासगरि तराईक्षेत्रका जनताहरुलाई तटबन्धनका समस्याहरु, खोलानालाको कटानका समस्याहरु छन् । त्यस्तै, कृषि, ग्रामीण सडकहरुलाई पिच गर्नुपर्ने चुनौती छन् । जनताहरुलाई मल, बीउबिजनका समस्याहरु छन् । यी समस्यालाई समाधान गर्न सहज अनुदानमा वितरण गर्न सक्ने खाद्य प्रविधिलाई भित्र्याउन सक्यौ भने केही समस्या हल गर्न सकिने कुराहरु छन् ।

यी सबै जनगुनासा र समस्यालाई हामीले भेटघाटको क्रममा पनि टिपोट गरेका छौँ । यीनै समस्या हल गर्नका लागि र जनताको सेवा गर्नकै लागि हामी प्रतिनिधि बनेर जाने हो । समस्यालाई हल गर्ने हाम्रो कर्तव्य हो । त्यसैले यहाँ सबैसँग प्रत्यक्ष भलाकुसारी हुन नसकेपनि यही विचारको सन्देश मार्फत् आम मतदातासँग सहयोगको अपेक्षा राख्दछु ।

प्रतिक्रिया