शनिबार, वैशाख ८, २०८१

म जनतालाई मालिक बनाएर हिँड्न चाहन्छु : नेता रावल

मेरोन्यूज २०७९ कार्तिक २७ गते २०:४३

सत्ता गठबन्धनबाट कैलाली १ ‘ख’का प्रदेशसभा उम्मेदवार हुन्, नेपाली कांग्रेसका नेता डा.रणबहादुर रावल । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रावल कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेतासमेत भइसकेका छन् । प्रकृति स्रोत व्यवस्थापनमा विद्यावारिधी गरेका उनले ०३२ सालदेखि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को एकाई सचिवबाट राजनितिक यात्रा सुरु गरेका थिए ।

डा. रावल ०७० सालको संविधानसभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यका उम्मेदवार रहेका थिए । कैलालीको टीकापुरमा जन्मेका उनी ०६४ सालको निर्वाचनमा समानुपातिक संसदका उम्मेदवार भए । यो कुराकानी भइरहँदा उनी चुनावी घरदैलो कार्यक्रममा व्यस्त थिए । आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको सेरोफेरोमा केन्द्रीत रहेर मेरोन्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

घरदैलो अभियानलाई निकै तीव्रता दिनु भएको छ, चुनावी क्षेत्रको माहोल कस्तो छ ? मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भयो ?

मतदातामा धेरै ठूलो उत्साह छ । यो क्षेत्र विगतमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको प्रतिस्पर्धा हुने ठाउँ हो । यसपालि जनताले ‘तपाईंहरु मिल्नु भयो, राम्रो गर्नु भयो’ भन्नु भएको पाइयो । सबै जनतामा खुसी र उत्साह छ । सबै दलहरु मिल्यो भने विकास हुन्छ भन्नु हुन्छ ।

तपाईसँग कैलाली १ का लागि विकासका योजनाहरु के–के छन् ? एजेण्डाहरु के छन् ?

यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने, कृषिको हब बनाउने पहिलो प्राथमिकता छ । हामी यहाँ शैक्षिक, पर्यटकीय र व्यवसायिक हब बनाउने योजनामा छौँ । त्यसका लागि गृह कार्य गरिरहेका छौँ । यस क्षेत्रमा कृषि प्राविधिक शिक्षालय खोल्न र आयुर्वेदिक हब बनाउने छौँ । युवाहरूलाई रोजगारी दिलाउनु हाम्रो प्रमुख मुद्दा हो ।

यसबाहेक हाम्रो क्षेत्र कर्णाली, मोहना नदीको किनार हो । मेरो विचारमा यो विश्वको दुर्लभ ठाउँ हो । हामीले यसलाई ब्यापक प्रचार–प्रसार गरेर पर्यटक भित्र्याउन सक्छौँ । टीकापुर सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण क्षेत्र हो । कृषि र पर्यटन क्षेत्रको विकास गरेर हामी टीकापुरलाई समुन्नत बनाउन सक्छौँ । तर, म एक जनाले मात्र विकास गर्न चाहेर हुँदैन । सबै जना एक ठाउँमा भएर एकताबद्ध भएर अघि बढ्नुपर्छ ।

सुदूरपश्चिम प्रदेश आफैमा थुपै्र सम्भावना भएको प्रदेश हो । कृषि, पर्यटन लगायतका क्षेत्रबाट हाम्रो प्रदेशलाई हामीले सम्बृद्धिसँग जोड्न सक्छौँ । बाढी नियन्त्रण, नदी कटानलगायत समस्या समाधानमा मेरो विशेष पहल हुनेछ । स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि कोशिस गर्ने छौँ । यहाँ थारु संस्कृति झल्काउने, मगर संस्कृति झल्काउने होमस्टेको सम्भावना छ । थारुको स्तर उकास्न केही काम गर्नु पर्नेछ । म त्यतातिर ध्यान दिनेछु ।

यसपालिको चुनावमा तपाईंको जितका आधारहरू के छन् ? जनतालाई कसरी आश्वस्त पार्नुहुन्छ ?

मैले विशेषगरी यस क्षेत्रको विकास निमार्णमा प्रत्यक्ष सहयोग पुर्‍याएको हो । विद्यालयमा पूर्वाधार निमार्ण, सहकारीको स्थापना, नदीमा बाँध निमार्णलगायतका विषयमा सहयोग गरेको छु । म प्रदेश सरकारको प्रतिपक्षीमा रहँदा पनि क्षेत्र नम्बर १ का लागि विशेष भूमिका खेलेको थिएँ । यहाँको विकास र सम्बृद्धिका लागि जहिले पनि सकारात्मक भूमिका खेलेको थिएँ । म सक्षम र प्रदेशको नेतृत्व गर्न सक्ने व्यक्ति भएकाले जनताले मलाई पक्कै चुन्नुहुन्छ । यस्तो अवसरलाई गुमाउँदा त्यसको असर दश वर्ष पछाडिसम्म पर्छ ।

बिगतमा बेरोजगारी हटाउने आश्वासन धेरैले दिए । तर, साँच्चिकै कसरी यो समस्या समाधान गर्न सकिएला ?

गणितको हिसाबले हामी बलियो बन्दैछौं । अब प्रदेश सरकार र संघमा हाम्रै नेतृत्वमा सरकार बन्दैछ । हामी बेरोजगारी समस्यालगायत तमाम समस्या समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघबीच समन्वय गरेर काम गर्नेछौँ । बिगतमा टीकापुरमा जुन घटना भयो, त्यसले द्वन्द्व उब्जायो । केही व्यक्तिहरुले त्यसबाट फाइदा लिन खोजे । हामी यहाँको समुदायमा सद्भाव कायम गर्न विभिन्न तरिकाबाट कोशिस गर्ने छौँ ।

यसै क्षेत्रबाट जितेर मन्त्री बन्नु भयो, बिगतमा यहाँले गर्नु भएका काम कस्तो रह्यो ?

क्षेत्र नम्बर १ को ‘ख’ बाट ०७४ को चुनावमा मलाई भोट दिएर जिताउनु हुने सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु । हामी त्यो बेला प्रतिपक्षको भूमिकामा प्रदेशमा रह्यौं । जुन म्याण्डेट हामीलाई दिइएको थियो, ३२ वटा निर्वाचन क्षेत्रमा जम्मा ४ वटा नेपाली कांग्रेसले जितेको थियो । अरु समानुपातिकमा सिट थियो ।

खासगरी यहाँका शैक्षिक संस्था संस्थामा भौतिक पूर्वाधारको निमार्ण गरेका छौँ । नेपालकै नमुना योगाश्रम बनेको छ । पुस्तकालय, बाटाघाटा निमार्ण गरेको छु । मेरै पहलमा सबै वडामा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । हामीले थारुहरुका लागि धार्मिक स्थलमा मरुवा निमार्ण गरेका छौँ । मन्दिर, बाटोघाटो निमार्ण गरेका छौँ । शैक्षिक, प्राविधिक र पर्यटन क्षेत्रलगायत अन्य कुरामा मेरो तर्फबाट अनेक प्रयास गरेको छु ।

मन्त्री पनि म अन्तिम अवस्थामा बनेको हो । अहिले हामी सरकारमा छौँ । चालू आर्थिक वर्षमा यस क्षेत्रका विकासका लागि प्रदेशबाट विनियोजन भएको बजेटले टेवा पुग्नेछ । म पनि अन्तिम समयमा मन्त्री बनेको हो । चार वर्ष प्रतिपक्षीमा बस्दा चुनावी क्षेत्रको मात्र होइन सिंगो प्रदेशको विकास लागि सधैं आवाज उठाएको छु । विधेयकमा सल्लाह, सुझाव दिएर ऐन कानुन बनाउनु मेरो मुख्य काम हो । यसबाहेक विकास निमार्णमा भूमिका खेलेको छु ।

तपाईंको प्रतिस्पर्धी एमाले हो कि नागरिक उन्मुक्ति पार्टी ?

त्यति ठूलो प्रतिस्पर्धा कसैसँग देखिएको छैन । यहाँबाट अघिल्लो पटक संघको चुनावमा रेशम चौधरीले जित्नु भयो । स्थानीय निर्वाचनमा आइपुग्दा उहाँको भोट घटेको छ । जातीय विभेदमा लाग्नु हुँदैन भनेर थारुहरू जागिसकेका छन् । त्यस्तै गत वर्षको चुनावमा दुई तिहाइको सरकार ढलेपछि नेकपा एमालेप्रति जनताको आकषर्ण देखिदैन । दुई तिहाईको सरकारले आर्थिक विकास गर्ला, जनताको जीवन स्तर उकास्न केही गर्छ होला भन्ने आशा थियो । तर, त्यो निराशामा परिणत भयो । त्यसकारण यसपालि सजिलै जित्छौँ ।

गठबन्धनभित्र एकता छैन । वैचारिक मतान्तरहरू छन् भन्ने सुनिन्छ, के यो कुरा साचो हो ?

छैन । सानोतिनो मतभेद होला । यो फरक विचार राख्ने दलबीचको गठबन्धन हो । विवाद त आफ्नै दलभित्र पनि हुन्छ । तर, त्यसको व्यवस्थापन गरिन्छ । आफ्ना अधिकार सुनिश्चित गर्नका लागि पनि यसपालि लोकतान्त्रिक बाम गठबन्धनले जित्नु पर्छ । गठबन्धनका सहयात्री दलबीच राम्रो समन्वय छ । सबै साथीहरू गम्भिर रुपमा काम गरिरहनु भएको छ ।

अघिल्ला चुनावभन्दा यो चुनावमा के फरक पाउनु भयो ?

०७४ कोभन्दा यसपटकको चुनाव अलि फरक छ । यसपालि सुरुमा हामीलाई व्यवस्थापन गर्न अलि गार्‍हो भयो । पछि त्यति गार्‍हो भएन ।

यो जितपछि मुख्यमन्त्रीको लाइनमा हो ?

लाइनमा त पक्कै हो । म जनतालाई मालिक भनेर हिँडेको मान्छे हो । जनताको सेवा गर्न चाहन्छु । यसपालि जनताले हामीलाई जिताउनु भयो भने त्यो दिन पनि टाढा छैन ।

मतदातालाई के अपिल गर्न चाहनु हुन्छ ?

मेरो एउटै अपिल छ । मंसिर ४ को चुनाव गम्भिर अवस्थामा हुँदैछ । सबैले अहिलेको परिस्थितिलाई गम्भिर रुपमा मनन् गरेर गठबन्धनलाई जिताएर स्थायी सरकार निमार्ण गर्नका लागि अपिल गर्न चाहन्छु । स्थायी सरकार बनेपछि जनताको अपेक्षाअनुसार हामी काम गर्ने छौँ । म जनताको सेवकका रुपमा पूर्ण प्रतिबद्ध छु । कुनै लोभ, लालचमा पर्नेवाला छैन । मेरो यो यात्रामा तपाईंहरुको साथ, सहयोग हुनेछ भन्ने पूर्ण आशा छ ।

प्रतिक्रिया