शनिबार, जेठ ५, २०८१

मुख्यमन्त्री पाण्डेलाई पूर्वसहकर्मी त्रिपाठीको डर, साथमा कांग्रेस-माओवादी

मेरोन्यूज २०७९ कार्तिक २६ गते १९:२४

काठमाडौंँ । लगातार ३५ वर्षदेखि चुनावी प्रतिस्पर्धामा रहेका राजेन्द्र पाण्डले कुनै बेला धादिङका जनताले लाइन लागेर भोट हाल्ने बताएका थिए । ०४३ सालदेखि जनताको माझमा गएको बताउने उनले ०४३ को ०६४ को चुनावबाहेक कुनै पनि निर्वाचनमा असफलता भोग्नु परेन ।

Advertisement

०६४ सालको निर्वाचनमा माओवादीका शालिकराम जमरकट्टेलले पाण्डेलाई हराउँदा उनले धादिङका जनताले आफूलाई जिताएको तर जमरकट्टेलको धाक धम्की र बुथ कब्जाले मात्रै जितेको बताउँदै आएका थिए । उनले धादिङका जनतालाई लाइन लगाउने हो भने आफूलाई भोट हाल्ने बताएका थिए । अहिले उनै जमकट्टेलको आडमा पाण्डे संसदीय चुनाव लडिरहेका छन् ।

पाण्डेसँग उनकै पूर्व सहकर्मीले प्रतिस्पर्धा गरिरहँदा अहिलेको निर्वाचनमा धादिङमा रोमाञ्चक बन्दै गएको छ । गतवर्ष एमाले विभाजन भएपछि पाण्डेले नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष भए । उनी यसपटक कांग्रेस, माओवादीको बलमा चुनाव जित्ने प्रयासमा छन् ।

पाण्डे सत्ता गठबन्धनको सहयोगमा धादिङ १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए पनि उनको प्रतिस्पर्धा पूर्वसहकर्मी तथा एमालेका निवर्तमान सांसद भूमि त्रिपाठीसँग हुनेछ । एउटै पार्टीमा लामो समय सहकार्य गरेका यी दुई प्रभावशाली नेताको प्रतिस्पर्धाले धादिङको चुनावी राजनीति रोचक बनाएको छ ।

यो क्षेत्रबाट पाण्डे सातौंपटक चुनावी मैदानमा उत्रिएका हुन् । त्रिपाठीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो । यसपटक आफ्नै पूर्व नेतासँग मैदानमा उत्रिएका त्रिपाठीलाई एमालेको विरासत जोगाउनु पर्ने बाध्यता छ । उता गठबन्धनसहितको मत लिएर विगतको परिणामलाई जोगाउने चुनौति पाण्डेसँग रहेको छ ।

०४३ को राष्ट्रिय पञ्चायतदेखि अहिलेसम्म निर्वाचनमा सहभागी भएका पाण्डे अहिले पनि संघीय संसदको निर्वाचनमा सहभागी छन् । ०४६ मा बहुदल जनआन्दोलनपछि ०४८ मा भएको आम निर्वाचनमा एमालेले धादिङबाट एमालेका पाण्डेले निर्वाचन जितेका थिए ।

त्यसबेला उनी ३५ वर्षका थिए । अहिले उनी ६६ वर्ष भए पनि चुनाव लडिरहेका छन् । त्यसयता पाण्डेले ०६४ को संविधानसभा निर्वाचनबाहेक सबै निर्वाचन जित्दै आएका छन् । साविक ३ नम्बर क्षेत्र रहेको यस निर्वाचन क्षेत्र २०७३ मा राज्य पुर्नंसंरचनापछि १ नम्बर क्षेत्र भएको हो ।

पाण्डेसँग चुनाव लडिरहेका त्रिपाठीले ०७४ को निर्वाचनमा फराकिलो अन्तरले विजयी भएका थिए । तीन दशकदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय त्रिपाठीले नेपाली कांग्रेसका विश्वप्रसाद अर्याललाई २७ हजार १५३ मत अन्तरले पराजित गरेका थिए । त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार रहेका त्रिपाठी ४९ हजार १२१ मत ल्याएर विजयी हुँदा कांग्रेसका अर्यालले २१ हजार ९६८ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा पाण्डे धादिङ १ को प्रतिनिधिसभा अन्तर्गत प्रदेश १ नम्बर क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले गठबन्धनबाट समेत उम्मेदवार रहेका श्रेष्ठलाई पाण्डेले १३ हजार ६६८ को मतान्तरले पराजित गरेका थिए । वामपन्थी गठबन्धनबाट उम्मेदवार रहेका पाण्डे २७ हजार ३३२ मत ल्याइ विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार श्रेष्ठले १३ हजार ६४७ मत पाएका थिए । उनी हाल मूख्यमन्त्री समेत रहेका बेला संघीय संसदको निर्वाचन लडिरहेका छन् । देशभर नै एमालेका विरुद्ध गठबन्धन भएका कारण यसपटक पाण्डेलाई जित निकाल्न सहज हुने अनुमान गरिएको छ ।

स्थानीय तह निर्वाचन परिणाम हेर्दा एक नगरपालिका र ५ गाउँपालिका रहेको यो क्षेत्रमा एमालेले थाँक्रे र गल्छी गाउँपालिका अध्यक्ष मात्र जितेको छ । धुनिबेँसी नगरपालिकाको प्रमुख एकीकृत समाजवादीले जित्दा गजुरी र बेनिघाट रोराङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रले जितेको थियो । उता सिद्धलेक गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।

५३ वडामध्ये थाँक्रेमा ५ र गल्छीमा ३, बोनिघाट रोराङमा २ र सिद्धलेकमा ३ गरी १३ वटा वडामा एमाले विजयी भएको छ । धुनिबेँसीसहित अन्य पालिकामा वडाध्यक्षविहीन बन्यो । १३ मध्ये उपप्रमुख र उपाध्यक्षमा एक सिट पनि जित्न सकेन ।

वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा धादिङ १ मा एमाले ३७ हजार ७७८ मतसहित पहिलो दल रहेको छ । बहुसंख्यक वडामा पराजित हुँदासमेत एमालेले लोकप्रिय मत पाएको देखिन्छ । दोस्रो स्थानमा रहेको माओवादी केन्द्रले २४ हजार ९२५ मत पाएको छ । कांग्रेसको १९ हजार ४२३, नेकपा एसको ८ हजार ८३६ र राप्रपाको १ हजार २२२ मत रहेको छ । यहाँ गठबन्धनको जम्मा मत ५३ हजार १८४ रहेको छ ।

यो क्षेत्रमा गठबन्धनभन्दा एमाले १५ हजार ४०६ मतले पछाडि रहेको छ ।स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणाम हेर्दा पाण्डेले निर्वाचन जित्ने सम्भावना बलियो देखिन्छ ।

प्रतिक्रिया