शनिबार, वैशाख ८, २०८१

डोटीका भूकम्प पीडितलाई अफ्रिकामा राहत जुट्दै

मेरोन्यूज २०७९ कार्तिक २४ गते १८:२०

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको डोटीलगायतका जिल्लामा बुधबार बिहान गएको भूकम्पबाट प्रभावितका लागि अफ्रिकामा राहत संकलन भएको छ । भूकम्पबाट मृत्यु हुने र भौतिक क्षति हुने परिवारको तत्काल राहत सहयोगका लागि अफ्रिकाका गैरआवासिय नेपालीले आर्थिक सहयोग जुटाउने अभियान थालेका हुन् ।

गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाको पहलमा शुरु गरेको अभियानमा गैरआवासीय नेपाली संघ नाइजेरिया, रुपारेलिया फाउण्डेसन युगाण्डा र पदम एण्ड शान्ती भण्डारी फाउण्डेसन बोत्स्वानाले सहयोग गरेका छन् ।

युगाण्डाको सबैभन्दा ठूलो औद्योगिक घराना रुपारेलिया ग्रुपका अध्यक्ष तथा युगाण्डाका लागि नेपालका मानार्थ दूत डा. सुधीर रुपारेलियाले रुपारेलिया फाउन्डेसनमार्फत अमेरिकी डलर पाँच हजार, एनआरएनए नाइजेरियाले एक लाख नेपाली र बोत्स्वानास्थित पदम एण्ड शान्ती भण्डारी फाउन्डेसनले ५०१ अमेरिकी डलर सहयोगको प्रतिबद्धता गरेका छन् ।

थापाका अनुसार सहयोग संकलन यथाशीघ्र गरिने र धनगढीस्थित ह्य्मानिटी फाउन्डेसन नेपाल र टीकापुर सरोकार समुहको सहयोगमा पीडितलाई राहत हस्तान्तरण गरिने छ । सहयोग राशी पूरै स्थानीय निकायको उपस्थितिमा पीडितले पाउने छन् ।

प्रतिक्रिया