शुक्रबार, वैशाख ७, २०८१

भाषण गरेर होइन, जनतालाई अनुभूति हुने गरी काम गर्छु

मेरोन्यूज २०७९ कार्तिक २३ गते १३:००

प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी रेखा शर्मा घोराही–१८ मसिना निवासी हुन् । वि.सं. २०२६ सालमा जन्मिएकी रेखाले २०४३ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरिन् । स्नातक तहसम्म अध्ययन गरेकी उनले अखिल क्रान्तिकारी दाङको जिल्ला उपाध्यक्ष, अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष हुँदै २०५३ सालदेखि २०५८ सालसम्म अनेमसंघ (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष रहेर महिला आन्दोलनको नेतृत्व गरिन् । उनले अध्यक्षको आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानहरू सञ्चालन गरिन् । जसले गर्दा जनताहरु उनीप्रति निकै सकारात्मक बने ।

दश वर्षे जनयुद्धका बेला तत्कालीन सरकारपक्षबाट चरम यातना भोगेकी रेखा ताप र रापको भट्टीबाट खारिएर निस्किएकी संघर्षशील योद्धा हुन् । २०७० सालको संविधानसभामा समानुपातिक कोटाबाट सांसद बनेकी उनी संसद्मा प्रमुख सचेतकको जिम्मेवारी पनि सम्हालेकी थिइन् । २०७२ सालमा सामान्य प्रशासन मन्त्री बनेकी उनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य भएर पनि काम गरिन् ।

संविधान निर्माणका क्रममा स्थानीय तहमा महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गराउनमहत्वपूर्ण भूमिका निर्वाह गरेकी उनले २०७४ सालमा पुनः समानुपातिक संसद् बन्न सफल भइन् । यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग प्रतिष्पर्धामा उत्रिएकी उनीसँग दुई पटक संसद् र एक पटक मन्त्री भइसकेको अनुभव छ । आफू मन्त्री भएका बेला दाङ जिल्लाको विकास निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेकी रेखाले यसपटकको निर्वाचन जित्नेविश्वास व्यक्त गरिन् । आफूले जनताको मन जित्ने काम गरेकाले जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्छिन् । उनै शर्मासँग गरिएको कुराकानीको अंश :

घरदैलो अभियानमा कत्तिको लाग्नुभएको छ ?
निर्वाचनको समय नजिकिदै छ । त्यसैले मतदाताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छौं । विहानदेखि राति अबेरसम्म पनि हामी जनताको घरदैलोमा व्यस्त छौं । स-साना सभा, भेटघाट र अन्तरक्रियाहरु पनि गरिरहेका छौं ।


आम मतदाताहरुबाट कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?
आम मतदाताहरु गठबन्धनप्रति सकारात्मक हुनुहुन्छ । उहाँहरु हामीलाई जिताउन आतुर हुनुहुन्छ । जितेपछि पनि जनताको घरदैलोमा पुनः फर्केर आउन उहाँहरुको आग्रह छ । जितेर नहराउनू, फर्केर गाउँमा आई विकास निर्माणका काम गर्नू भन्ने उहाँहरुको सुझाव छ । हामी उहाँहरुको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढेका छौं । विगत उम्मेदवारहरुले गरेका केही गल्तीहरुलाई हामीले नदोहो¥याउने प्रण गर्दछौं ।


मतदाताले रेखा शर्मालाई नै भोट किन दिने ?
पहिलो कुरा त गठबन्धन स्वतः बलियो छ । यहाँ नेकपा एमाले प्रतिपक्षी छ भने त्यसको तुलनामा गठबन्धनको बलियो पकड रहेको छ । त्यस्तै मलाई नै भोट दिनुपर्ने अर्काे कारण भनेको मैले विगतमा यहाँका जनताका लागि गरेका राम्रा कामहरु पनि हुन् । त्यस्तै गणतन्त्र प्राप्तीको आन्दोलन, संविधान निर्माण, कानुन निर्माणका क्रममा मैले निर्वाह गरेका भूमिकाले पनि जनतामा सकारात्मक प्रभाव छ । त्यसैगरी जनताले मसँग सहज महशुस गर्नुभएको छ । उहाँहरुलाई मसँग कुरा गर्न, समस्याहरु राख्न सहज अनुभूत गरिरहनु भएको छ ।


घरदैलो अभियानमा के कस्ता एजेण्डाहरु लिएर जानुभएको छ ?
हाम्रो मुख्य एजेण्डा भनेकै संविधानको रक्षा, राजनीतिक स्थायित्व, विकास समृद्धि रहेका छन् । जुन उद्देश्यले गठबन्धन बनेको थियो, गठबन्धनको एजेण्डा नै हाम्रो एजेण्डा हो । जनताको घर दैलोमा हामीले गठबन्धनकै उद्देश्यलाई पस्किएका छौं । त्यस्तै यहाँ भइरहेका विकास निर्माणका संरचनाहरुलाई व्यवस्थित गर्ने, केही नयाँ आयोजनाहरु थप गर्ने, जनताको दैनिक जीवनमा आईपर्ने समस्याहरु सम्बोधन गर्नेबारे योजनाहरु अघि सारेका छौं । मैले चर्को भाषण, चुनावी आश्वासन बाँड्ने गरेको छैन । जनताले अनुभूत हुने गरी काम गर्छु, चुनावअघि ठूल्ठूला आश्वासन बाँड्ने र चुनावपछि फर्केर नआउने गर्दिनँ ।


आम मतदाताहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?
नेपालमा भएको राजनीतिक परिवर्तनलाई आत्मसात गर्दै संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्रको रक्षाका निम्ति र राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिको मोमेन्ट अगाडि बढाउनका लागि गठबन्धनलाई मत दिनुहुन जनतासमक्ष अपिल गर्दछु । त्यसतै हामी सबैले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टाई देशमा अस्थिरता ल्याउने खोज्नेहरुलाई परास्त गर्नका निम्ति पनि गठबन्धनको जीत आवश्यक रहेकाले यसको जनताको साथ महत्वपूर्ण छ । त्यसैले जनताले हिजोको संघर्षका बेलामा साथ दिनुभएको थियो । भोलिको उज्यालो भविष्यका लागि पनि हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।

प्रतिक्रिया