शनिबार, जेठ ५, २०८१

अबको संसदमा कति जितेर आउँलान् कम्युनिष्ट ?

०७४ मा ६४ प्रतिशत बामपन्थी प्रतिनिधिसभामा थिए, त्यही हाराहारीमा बामपन्थी फेरि आउन सक्छन् संसदमा

मेरोन्यूज २०७९ कार्तिक २२ गते २०:३६

काठमाडौं । नेपालमा वामपन्थी जनमत निरन्तर बढ्दो मात्रामा छ । गत प्रतिनिधिसभा निर्वाचनमा पनि बामपन्थी मत ४८ प्रतिशत थियो । संसदको कूल २७५ (प्रतिनिधिसभातर्फको मात्र)मा पनि वामपन्थी सांसदहरुको संख्या १७८ थियो ।

Advertisement

अर्थात कूलमा ६४ दशमलव ७२ प्रतिशत सांसद प्रतिनिधिसभामा कम्युनिष्टहरु मात्रै थिए । गैर कम्युनिष्टहरु ३५ दशमलव २८ प्रतिशत उपस्थिति थियो । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी मात्रै होइन, अर्काे सानो कम्युनिष्ट घटक राष्ट्रिय जनमोर्चासम्मको वाम गठबन्धनबाट ०७४ को संसदमा कम्युनिष्ट वामपन्थीहरुले त्यो खालको उपस्थिति थियो ।

तर, यसपटक दुई ठूला कम्युनिष्टहरु विभाजित छन् । एमालेले अर्काे गैर कम्युनिष्ट पार्टीहरु राप्रपा, जसपा, कांग्रेस बीपी, राप्रपा नेपाल, परिवार दल लगायतसँग गठबन्धन गरेर चुनावमा होमिएको छ । अर्काे कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दल कांग्रेससँगको गबठन्धनमा सहभागी भएर चुनावमा होमिएको छ । कम्युनिष्ट विभाजनको फाइदा यसपटक चुनावमा कांग्रेसले पाउने देखिन्छ ।

उसले सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका विरुद्ध अन्य कम्युनिष्ट पार्टीलाई आफ्नो साथमा लिएर चुनावी भिडन्तमा उत्रेको छ । यसको फाइदा कांग्रेसलाई पुग्ने देखिन्छ । कम्युनिष्टहरु एक ठाउँमा रहेर चुनाव लड्न नसके पनि आउँदो संसदमा पनि कम्युनिष्टहरुको उपस्थित कम्तीमा ५० प्रतिशत उपस्थिति रहने देखिएको छ । ४३ प्रतिशत कम्युनिष्टहरु आगामी चुनावपछि पनि संसदमा उपस्थिति हुने सुनिश्चित देखिएको छ ।

अबको संसदमा कम्तीमा १२० जना बामपन्थी सांसदले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सुनिश्चित देखिएको छ । अहिले १६५ निर्वाचन क्षेत्रमध्ये ५९ स्थानका मुख्य प्रतिस्पर्धी कम्युनिष्टका विरुद्ध कम्युनिष्ट छन् । जसका कारण एउटा कम्युनिष्ट पराजित भए पनि अर्काे कम्युनिष्ट ५९ निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आउने सुनिश्चित छ ।

योपटक १६ क्षेत्रमा प्रतिस्पर्धी नै गैर कम्युनिष्टहरू छन् । ८७ क्षेत्रमा कम्युनिष्ट र गैरकम्युनिष्ट उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् । एमाले र कांग्रेस ७९ क्षेत्रमा भिड्दै छन् । त्यस्तै, एमाले, माओवादी र एकीकृत समाजवादीलगायतका कम्युनिष्ट र जसपा, लोसपालगायतका मधेस केन्द्रीत दलबीच आठ क्षेत्रमा प्रतिस्पर्धा हुँदै छ । प्रतिनिधिसभाका १६ क्षेत्रमा गैर कम्युनिष्ट उम्मेदवारका बीच भिडन्त हुँदैछ । आठ क्षेत्रमा कांग्रेस र जसपा, चार क्षेत्रमा जसपा र लोसपा, तीन क्षेत्रमा कांग्रेस र राप्रपा तथा एक क्षेत्रमा कांग्रेस र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

बाँकी ३ क्षेत्रमा (रौतहट ३, चितवन ३ र डडेलधुरा )मा फरक अवस्था छ । यहाँ पनि एउटा क्षेत्र रौतहट ३ मा जो आए पनि कम्युनिष्ट नै आउने छन् । ५९ निर्वाचन क्षेत्रमा कम्युनिष्टका विरुद्ध कम्युनिष्ट नै प्रतिस्पर्धी हुने भएकाले जितेर आउने कम्युनिष्ट, रौतहट ३ समेत गरेर ६० सांसद कम्युनिष्ट निर्वाचित भएर आउने छन् ।

बाँकी ८७ स्थानमा गैर कम्युनिष्टसँग कम्युनिष्टका उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन् । यसबाट निर्वाचित भएर कम्युनिष्टहरू केही संख्यामा आउने देखिएको छ । त्यसलाई नराखेर हेर्ने हो भने पनि १६५ मध्ये ६० सांसद कम्युनिष्ट आउँछन् । दलहरुले प्राप्त गर्ने मतका आधारमा हेर्ने हो भने कम्युनिष्ट जनमत घटेको छैन ।

पछिल्लो समय कम्युनिष्टको मत बढेकौ देखिन्छ । समानुपातिकतर्फको मत र निर्वाचित सांसदको संख्या यही पपुलर मतले नै निर्धारण हुन्छ । त्यस आधारमा संसदमा कम्युनिष्टको उपस्थिति राम्रै देखिन्छ । ०१५ सालमा कांग्रेसको दुई तिहाइ जित थियो । ०४८ र ०५६ मा कांग्रेसले दुई-दुई पटक बहुमत ल्याएको थियो । तर, उसको मत प्रतिशत २०१५ देखि ०७४ सम्मका हरेक निर्वाचनमा स्थिर देखिन्छ । तर, ०१५ यता बामपन्थीहरू जति टुक्रामा विभाजित भए पनि मत परिणाममा भने मतभार बढाउँदै लगेको तथ्यांकले देखाएको छ ।

तथ्यांकमा हेरौँ :

२०१५ देखि २०७४ सम्मको तथ्यांक यस्तो छ :

२०१५ मा कांग्रेस ३७ प्रतिशत मत, बामपन्थी १७ प्रतिशत मत
२०४८ मा कांग्रेस ३७ प्रतिशत मत (बहुमत ल्याए पनि), बामपन्थी ३४ प्रतिशत मत
२०५१ मा कांग्रेस ३३ प्रतिशत मत, बामपन्थी पनि ३३ प्रतिशत मत
२०५६ मा कांग्रेस ३६ प्रतिशत मत (बहुमत ल्याए पनि), बामपन्थी ३९ प्रतिशत मत
२०६४ मा कांग्रेस २१ प्रतिशत मत, बामपन्थी ५६ प्रतिशत मत
२०७० मा कांग्रेस २६ प्रतिशत मत, बामपन्थी ४३ प्रतिशत मत
२०७४ मा कांग्रेस ३३ प्रतिशत मत, बामपन्थी ४८ प्रतिशत मत

कांग्रेसले कम्युनिष्ट विभाजनमा सिट संख्या बढाएर सरकारको नेतृत्व गर्न पाएको विगत चुनावी परिणामले देखाउँछ । तर मत प्रतिशत भने कांग्रेसको बढ्न सकेको देखिदैन । समानुपातिकतर्फ गत ०७४ को चुनावकै आधारमा हेर्ने हो भने पनि एमालेको ४१ र माओवादीको १७ सांसद समानुपातिकबाट संसदमा पुगेका थिए । त्यही आधारमा यो पटक पनि कम्युनिष्टहरु सोही अनुपातमा समानुपातिकबाट संसदमा छिर्ने अनुमान लगाउन सकिन्छ ।

यसरी हेर्दा कुलमा १२० जना सांसद संसदमा वामपन्थी नै हुनेछन् । वाँकी ८७ स्थानबाट निर्वाचित भएर आउने कम्युनिष्ट सांसद पनि संसदमा हुनेछन् । यसरी हेर्दा कम्तीमा ५० प्रतिशत कम्युनिष्ट फेरि पनि सांसदमा हुनेछन् ।

प्रतिक्रिया