शनिबार, जेठ ५, २०८१

चुनावपछि पुन: ‘राजनीति’मा फर्किलिन् राष्ट्रपति भण्डारी ?

मेरोन्यूज २०७९ कार्तिक २० गते २०:०१

Advertisement

काठमाडौँ । राजनीतिको कखरा बुझ्नेमध्येका धेरैको प्रश्न सुनिन्छ- चुनावपछि राष्ट्रपति विद्या भण्डारी के गर्लिन् ? फेरि सक्रिय राजनीतिमा फर्किलिन् या निष्क्रिय भएर विश्राम गर्लिन् ? तर उनको भेटघाट, गतिविधिलाई सुक्ष्म रुपमा नियाल्नेहरु उनी अघिल्लो राष्ट्रपति डा. रामवरण यादव जस्तो राजनीतिमा निष्क्रिय बस्छिन् भन्ने पत्याउन तयार छैनन् ।

गत भदौ सातायता उनले बढाइरहेको ‘राजनीतिक मुभ’ले उनले राजनीतिमा फर्किने संकेत देखाइरहेको छ । भदौँ तेस्रो साता राष्ट्रपति भण्डारीले एमालेका केन्द्रीय सदस्यहरूलाई पालै पालो राष्ट्रपति भवन शितल निवासमा निम्तो गरेकी थिइन् ।

यस्तै, उनले सबै प्रदेशका एमालेका केन्द्रीय नेताहरूलाई सामूहिक भेटेर उनले त्यसबेलै सोधेकी थिइन्– ‘एमालेमा नेतृत्व विकास किन हुन सकेन ? अध्यक्ष केपी ओलीपछिको नेता तपाईंलाई के लाग्छ ?, एमालेमा अब को होला ? पार्टी अब कसरी अगाडि जाला ?’

‘राष्ट्रपति पदावधि सकेपछि फेरि राजनीतिमा फर्किन सक्नुहुन्छ, उहाँ एमालेकै राजनीतिमा आउनुहुन्छ ।’

राष्ट्रपतिले सीधै यसरी प्रश्न सोधेसँगै कतिपय एमाले केन्द्रीय नेतालाई आश्चर्य लागेको थियो । कसैले यसलाई स्वभाविक ठाने । तर, राजनीतिमा फर्किन खोजेको सन्देशकै रुपमा धेरैले राष्ट्रपतिको यो प्रश्नलाई लिए । त्यसपछि केही नेताहरूले खुलेरै एमाले र ओलीपछिको पार्टीको उत्तराधिकारी (नेतृत्व)का विषयमा मुख खोले । कतिपयले यस विषयमा टिप्पणी गरेनन् । तर, उनीहरूले राष्ट्रपतिले सक्रिय राजनीतिमा आउन खोजेकै सन्देशका रुपमा लिए ।

कर्णाली प्रदेश एमालेका एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भनेका थिए, ‘राष्ट्रपति पदावधि सकेपछि फेरि राजनीतिमा फर्किन सक्नुहुन्छ, उहाँ एमालेकै राजनीतिमा आउनुहुन्छ ।’

त्यसबेला सरकारले चुनावको मिति घोषणा गरिसकेको थियो । गत साउन १९ मा सरकारले यही मंसिर ४ मा चुनाव गर्ने गरी घोषणा गरेपछि एमालेले चुनावी रणनीति बनाउनका लागि भदौमा केन्द्रीय समितिको बैठक आह्वान गरेको थियो ।

यही समयमा राष्ट्रपति भण्डारीले एमालेका केन्द्रीय सदस्यहरूसँग एकपछि अर्काे गरी आफ्नो निवासमा भेटवार्ता गरेकी थिइन् । उनलाई निर्वाचनमा ‘एमालेले बहुमत ल्याए पनि’ राष्ट्रपति फेरि बन्न संविधानले रोक लगाएको थियो । दुईपटक राष्ट्रपति भएपछि पुन: राष्ट्रपति बन्न पाउने व्यवस्था संविधानमा छैन ।

मंसिरमा चुनाव सम्पन्न भएपछि नयाँ राष्ट्रपतिको निर्वाचन हुने र आफू ‘रिटायर्ड’ हुनु पर्ने बाध्यतामा थिइन्, भण्डारी । जसका कारण उनले एमालेका नेताहरूको नाँडी छामिन् । र, उनले आफ्ना लागि फेरि एमालेभित्रै सक्रिय हुन वातावरण निर्माणको अर्थपूर्ण मनोविज्ञानका साथ सक्रियता बढाइरहेकी छन् ।

उनको स्वभाव निष्क्रय रहने खालको छैन । उनी सक्रिय भइरहन रुचाउने नेतृ हुन् । नेकपा एमालेमा उनको आफ्नै प्रभाव पनि रहेको छ । एकातिर आफ्नो प्रभाव र अर्काेतिर एमालेमा आफ्ना श्रीमान दिवङ्गत नेता मदन भण्डारीको नाम र प्रभावका कारण उनी अहिल्यै ‘निष्क्रिय’ बस्ने छैनन् ।

मेरो पहिलेको तर्कमा कुनै प्रश्न छ र ? त्यही हो, अहिले मान्छेलाई यस्तो कसरी भन्ने प्रश्न उठ्ला, तर हुने म त्यही देखिरहेको छु, ओलीपछि विद्या भण्डारी प्रधानमन्त्री बन्नेछिन् ।

राजनीतिक विश्लेषक एसके तिमिल्सिना राष्ट्रपति भण्डारी आफ्नो पदावधि सकिएपछि फेरि सक्रिय राजनीतिमा आउने बताउँछन् । ‘माघ-फागुनमा नयाँ राष्ट्रपति मुलुकले पाएपछि उहाँ (विद्या भण्डारी) चुप लागेर बस्छिन् भन्ने देखिदैन, उहाँ एमालेकै सक्रिय राजनीतिमै फर्किनुहुन्छ भन्ने देखिन्छ,’ विश्लेषक तिमिल्सिना भन्छन्, ‘एमालेमा उहाँको आफ्नै बलियो गुट छ, त्यसमाथि उहाँको श्रीमान मदन भण्डारीको लिगेसी आफैमा सार्न पनि उहाँ फेरि राजनीतिमा आउनुहुन्छ ।’

त्यसो त ०७६ मंसिरमा लेखक तथा विश्लेषक सौरभले एमालेमा ओलीपछिको उत्तराधिकारीका रुपमा राष्ट्रपति भण्डारी आउने विश्लेषण गरेका थिए । एक टेलिभिजनलाई अर्न्तवार्ता दिँदै त्यसबेला लेखक सौरभले भनेका थिए, ‘ओलीपछिको प्रधानमन्त्रीका रुपमा एमालेमा पहिलो नम्बरमा राष्ट्रपति भण्डारी र दोश्रो नम्बरमा ईश्वर पोखरेलको सम्भावना छ, मेरो पहिलेको तर्कमा कुनै प्रश्न छ र ? त्यही हो, अहिले मान्छेलाई यस्तो कसरी भन्ने प्रश्न उठ्ला, तर हुने म त्यही देखिरहेको छु, ओलीपछि विद्या भण्डारी प्रधानमन्त्री बन्नेछिन् ।’

नेपालको राजनीतिमा लेखक सौरभको विश्लेषणलाई अब्बल विश्लेषणका रुपमा लिइने गरिन्छ । तर, त्यसबेला उनले कुनै तर्क नदिए पनि यति भनेका थिए, ‘यो राजनीतिक घटनाक्रमले पछि बताउँदै जानेछ, यति पनि नबुझ्ने गरी म टिप्पणी गर्ने मान्छे होइन ।’

अहिले एमालेमा ओली भनेकै एमाले र एमाले भनेकै ओली भन्ने ‘ब्राण्ड’ मात्र स्थापित छ । ओलीपछिको नेता या उत्तराधिकारी को भन्नेमा कुनै चित्र क्लियर छैन । एमालेमा उमेर हद रहे पनि यी प्राविधिक विषय भएकाले भण्डारीलाई फेरि एमालेकै राजनीतिमा फर्किन् कुनै छेकबार देखिन्न ।

यसरी एमालेले उठाएको १४१ उम्मेदवारमा राष्ट्रपति भण्डारीले आफ्नो निकट नेताहरूलाई टिकटका लागि हस्तक्षेपकारी भूमिका खेलेकी थिइन् ।

‘राष्ट्रपति सितिमिति एमालेमा आफ्नै पतिसमेतको विरासत छाडेर आफूलाई निष्क्रिय बनाउन चाहनन् । त्यसैले उहाँ (भण्डारी) सक्रिय राजनीतिमा आउने मेलोमेसो खोजिरहनु भएकै देखिन्छ,’ एमालेकै एक पदाधिकारी भन्छन्, ‘त्यसको तारताम्य कसरी मिलाउने भन्नेमै मात्र उहाँ (भण्डारी) अहिले गम्भिर विचारविमर्शमा देखिनुहुन्छ ।’

एमालेको उम्मेदवार छनौटमा राष्ट्रपति हाबी

राजनीतिमा फर्किने मात्रै होइन, आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट टिकट वितरणमा राष्ट्रपति भण्डारी हाबी हुन पुगेकी छन् । एमालेका एक नेताका भनाइमा राष्ट्रपति भण्डारीसँग कुनै न कुनै रुपमा निकट रहेका नेताहरूले नै यसपटक टिकटमा हाबी भएका छन् ।

एमालेले प्रतिनिधिसभातर्फ देशभर १४१ स्थानमा उम्मेदवार उठाएको छ । बाँकी २४ स्थानमा जसपा, राप्रपा, कांग्रेस विपी र कांग्रेसका बागी विद्रोही उम्मेदवारलाई तालमेलका क्रममा छाडेको छ । तर, यसरी एमालेले उठाएको १४१ उम्मेदवारमा राष्ट्रपति भण्डारीले आफ्नो निकट नेताहरूलाई टिकटका लागि हस्तक्षेपकारी भूमिका खेलेकी थिइन् ।

‘अहिले एमालेका उम्मेदवारमा करिब ५६ प्रतिशत उम्मेदवार राष्ट्रपतिसँग कुनै न कुनै रुपमा नजिक रहेका नेताहरु देखिन्छन्,’ ती नेताले मेरोन्यूजसँग भने । योगेश भट्टराई, बसन्त मानन्धर, देवराज घिमिरे, विजय सुब्बा, शेरधन राई, राजेन्द्रकुमार राई, भगवती चौधरी, मञ्जुकुमारी चौधरी, लिलानाथ श्रेष्ठ, अच्युत मैनाली, कृष्ण राई, अमृत खड्का, पदमा अर्याल, कृष्ण पौडेल, विशाल भट्टराईलगायत नेताहरू राष्ट्रपति भण्डारीसँग नजिक छन् ।

पछिल्लो समय माधव नेपाल छाडेर एमालेमै १० बुँदे सहमति गरेर बसेका केही नेताहरूसमेत राष्ट्रपति भण्डारीसँग निकट हुन पुगेका छन् । उनीहरूको टिकटका लागि राष्ट्रपतिले भूमिका खेलेकी छन् । योगेश भट्टराई, भीम आचार्य, कृष्णभक्त पोखरेललगायतका नेताहरू अहिले राष्ट्रपतिसँग नजिक भएका छन् ।

प्रतिक्रिया