शनिबार, जेठ ५, २०८१

ठगुन्ना जितको ह्याट्रिकमा, बडु एमालेको किल्ला तोड्ने दाऊमा

मेरोन्यूज २०७९ कार्तिक १७ गते १०:००


काठमाडौं । एमालेको बलियो जनाधार रहेको दार्चुलामा यसपटक किल्ला तोड्न नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडु उम्मेदवार भएका छन् । एमाले विभाजन भएको र माओवादीको राम्रो संगठन भएकाले एकीकृत समाजवादीको समेत सहयोगमा प्रतिनिधिसभामा कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू उम्मेदवार भएका हुन् । एमालेबाट पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना पुनः चुनावी मैदानमा उत्रेका छन् । उनी त्यसक्षेत्रका पुराना तर लोकप्रिय अनुहार हुन् ।
एमालेले चुनावी अभियान पनि दार्चुलाबाटै शुरु गर्दैछ । राष्ट्रियको मुद्धालाई प्राथमिकतामा राखेको एमालेले दार्चलाबाट चुनावी अभियान शुरु गरेर प्रदेश १ मा टुग्याउने भएको छ । त्यस क्षेत्रमा एमाले गणेशसिंह ठगुन्ना र कांग्रेस दिलेन्द्रप्रसाद बढुका वीचमा मुख्य प्रतिस्पर्धा भएपनि नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशी र राष्ट्रिय स्वतन्त्र पार्टी रविन्द्र सिंह धामीसहितका ९ जना उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा छन् । स्थानीय तहको मत हेर्ने हो भने यस क्षेत्रमा एमालेसँग २९३९७, कांग्रेससँग २१५५४, माओवादीसँग ७८८१, राप्रपासँग १७७ र एकीकृत समाजवादीसँग १७१ मत छ । यसरी हेर्दा सत्ता गठबन्धनसँग २९६०६ मत छ । एमाले एक्लैंसँग २९३९७ मत छ । ‘स्थानीय तहको सबै मत एमालेलाई आउछ भन्ने छैन एमाले विभाजित अवस्थामा छ, एकै व्यक्तिलाई टिकट दिएको पनि असन्तुष्टि रहेको छ तर पनि जित भनेको एमालेकै पक्षमा आउनेछ, सबै असन्तुष्टिहरु थाति राखेर एमाले एकताबद्ध भएको छ’, एमालेकै एक नेता भन्छन् ।
यो निर्वाचन क्षेत्रमा कांग्रेसले २०६४ देखि लगातार हार ब्यहोदैं आएको छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र २०५ हुँदा दार्चुलामा दुई वटा निर्वाचन क्षेत्र थियो । तर २०७२ को संविधान निर्माणपछि १६५ क्षेत्र को निर्वाचन क्षेत्र रहँदा दार्चुलामा एउटा मात्रै निर्वाचन क्षेत्र बनेको छ । ०४८ मा भएको आम निर्वाचनमा तत्कालिन दार्चुला क्षेत्र नं.१ बाट हालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू विजयी भएका थिए । क्षेत्र २ बाट राप्रपाका अकबरबहादुर सिंहले जितका थिए । ०४८ मा चुनाव जितेका बडू ०५१ मा एमालेका नेता प्रेमसिंह धामीसँग पराजित भएका थिए । ०५६ को चुनावमा बडूले एमाले उम्मेदवार वीरबहादुर ठगुन्नालाई हराउँदै आफूलाई राष्ट्रिय राजनीतिमा उभ्याएपनि त्यसपछि कुनैपनि जित निकाल्न सकेका छैनन । कांग्रेसबाट पनि पुरानै अनुहार आउदा कांग्रेस कार्यकर्ताहरुमा पूरै विभाजित देखिन्छ ।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनयता कांग्रेसले दार्चुलामा संसदीय चुनाव जितेको छैन् । ०६४ को पहिलो संविधान सभा चुनावमा सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रका लक्ष्मणदत्त जोशीले जितेका थिए । एमालेका ठगुन्ना भने २०७० र २०७४ को चुनावमा जित निकालेका थिए । जसकाकारण ठगुन्ना फेरि जितेर ह्याटिक गर्ने तयारीमा छन् । कांग्रेसका बडू कांग्रेसको हारको ह्याटिक तोडने योजनामा छन् ।

Advertisement

माओवादी र एमालेको राम्रो पकड रहेको दार्चुलामा ९ पालिका छन् । स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा यस क्षेत्रमा ५ पालिका एमालेले जित्दा ४ पालिकामा माओवादीले जित निकालेको छ । एमाले अध्यक्ष केपी ओली सरकारमा रहेका बेला कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नेपालको नक्सा संविधान संशोधन गरेर जारी गरिएको थियो । उक्त भूगोल दार्चुलामै पर्छ । यसलाई एमालेले देशव्यापी रुपमै चुनावी मुद्धा बनाईरहेको छ ।
दार्चुलाको चुनावी दौडमा यो विषय जोडले उठ्ने देखिएको छ । स्थानीय तहको मत हेर्दा एमाले एक्लैंको मत र सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी सवैको मत जोडदा पनि बल्लतल्ल २०९ मतले मात्र सत्ता गठबन्धन अगाडी छ । यसले यो क्षेत्रमा निर्वाचन निक्कै प्रतिस्पर्धात्मक हुने देखिएको छ । एमालेले प्रदेश सभा क्षेत्र (१) र (२) का लागि क्रमशः हरदेव जोशी र रामदत्त जोशीलाई चुनावी मैदानमा पठाएको छ । रामदत्त जोशी एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् । गठबन्धनबाट क्षेत्र ९१० मा कांग्रेस नेता विक्रमसिंह धामी र क्षेत्र (२) मा माओवादीका मानबहादुर धामी (सन्तोष) उम्मेदवार भएका छन ।

प्रतिक्रिया