शुक्रबार, चैत १६, २०८०

चुनावी अन्तर्वार्ता

सर्लाही- ३ लाई म देशकै नमुना क्षेत्र बनाउनेछु – नरेन्द्र साह

मेरोन्यूज २०७९ कार्तिक ११ गते १७:१२

०७० को दोस्रो संविधानसभा निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई-मधेस समाजवादी पार्टीबाट समानुपातिक सांसद बनेका नरेन्द्र साह यसपाली प्रत्यक्ष चुनाव लड्दैछन् । ०७४ सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका साह गुलाब चिन्हबाट चुनाव लडे । त्यसबेला वाम गठबन्धन (एमाले–माओवादी) बाट माओवादीका रामेश्वर रायले २२ हजार ३ सय ६७ मत प्राप्त गरेर विजयी भए । स्वतन्त्र उम्मेदवारका रुपमा चुनाव लडेका साहले करिब १२ हजार मत ल्याएर तेस्रो स्थान हासिल गरे । नेकपा माओवादी केन्द्र प्रवेश गरेका उनै साह यसपाली सत्ता गठबन्धन दलको लोकतान्त्रिक-बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् । उनका प्रतिस्पर्धी छन्, नेकपा एमालेका हरि उप्रेती । चुनावी अभियानका क्रममा सर्लाहीमा भेटिएका साहसँग गरिएको कुराकानी :

बिगतमा तपाईंले स्वतन्त्रबाट चुनाव लड्नुभयो । अहिले गठबन्धनबाट लड्दै हुनुहुन्छ । स्वतन्त्र रुपमा चुनाव लड्न सहज कि पार्टीबाट ?
पार्टीबाट चुनाव लड्न सहज लाग्यो । स्वतन्त्र हुँदा साथमा जनता मात्र हुन्थे । पार्टीमा हुँदा प्रचारप्रसार गर्न पनि सजिलो हुने रहेछ । मलाई बिगतमा मतदिने जनताहरुले पार्टीबाट चुनाव लड्न आउनुस् भन्नु भयो । चुनावमा प्रचार गर्न पनि सहज भन्ने कुरा आयो । पार्टीबाट साथीहरुले मलाई केही सुझाब, सल्लाह दिनुभयो । मैले त्यसलाई अंगाले ।

कतिपयले तपाईंलाई टुरिस्ट उम्मेदवार पनि भन्छन् । यो आरोप प्रति तपाईंको टिप्पणी के छ ?
म कसैको विवाह, ब्रतबन्धमा उपस्थित हुन पाइनँ होला । तर, बाढी पहिरो आगलागीलाग्दा मैले जनतालाई साथ दिएको छु । म बरहथवा नगरपालिका ११ को बासिन्दा हुँ । म यहीको मतदाता हो । मेरो बारेमा लगाईएको आरोप झुटो हो । त्यसमा कुनै सत्यता छैन । बरु अन्य क्षेत्रबाट यहाँ आएर चुनाव लड्ने, उनीहरु टुरिस्ट हुन् ।

तपाईं भुगोलका हिसाबले दक्षिण क्षेत्रको बासिन्दा हुनुहुन्छ भनिन्छ । उत्तरी क्षेत्रमा पनि तपाईंका मतदाता छन् । यो आरोपलाई कसरी चिर्नुहुन्छ ?

मलाई आरोप लगाउनेलाई चुनौती होला । मलाई कुनै चुनौती छैन । मैले उत्तरी क्षेत्रमा खानेपानी, सडक, मन्दिर, गुम्बा बनाएको छु । स्थानीयबासिलाई तपाईं सोध्न सक्नुहुन्छ । उहाँहरुले मलाई दक्षिणको बासिन्दा भनेर सोच्नु भएको छैन ।

Advertisement

निर्वाचित भएर गएका सांसद गाँउमा फर्किएनन् भन्ने गुनासो छ । यदि भोली जितेर गईसकेपछि तपार्ईलाई पनि यही गुनासो आउने हो कि ?
यो प्रश्न जो निर्वाचित भएर गए, उहाँहरूलाई सोध्दा उचित हुन्छ । यहाँबाट जितेर गएकाहरू कोही मन्त्री बन्नु भयो । तर, जिल्लाका लागि उहाँहरूले के गर्नु भयो त रु गएको चुनावमा हारेपनि मैले यस क्षेत्रमा गरेका कामहरू जगजाहेर नै छन् । चुनावका बेला विपक्षीहरूले अनेक आरोप लगाउँछन् । तपाईंले सर्लाहीको उत्तर र दक्षिण क्षेत्रका बासिन्दाहरुस“ग सोध्न सक्नुहुन्छ । त्यसकारण उत्तर र दक्षिण दुबै क्षेत्रका बासिन्दाहरुले मलाई उत्तिकै प्रेम गर्छन् ।

कतै तपाईं पनि बिगतमा जितेर गएका सांसद जस्तै पो बन्नु हुन्छ कि ?
संसद चलेको बेला म संघीय राजधानीमा हुन्छु । त्यो बाहेकको समयमा म जनतासँगै हुनेछु । जितेर गईसकेपछि पनि म आफ्नो क्षेत्रमा फर्केर आउँनेछु । मेरा मतदाताहरुकै घर दैलोमा हुनेछु । यो विश्वास दिलाउन चाहन्छु । जनतासँग गरेको यो बाचा म भुल्ने छैन ।

निर्वाचित भएर गईसकेपछि सर्लाही ३ का लागि के-के कामहरु गर्नु हुनेछ ?
मैले जितेपछि सर्लाही क्षेत्रनम्बर ३ लाई म नमुना बनाउनेछु । यो क्षेत्रको पर्यटनको विकासका लागि लागि पर्नेछु । यो क्षेत्र पर्यटनको लागि गन्तब्य बन्ने छ । नरेन्द्र साह बोलेर भन्दा गरेर देखाउने व्यक्ति हो । तपाईं अबको ५ वर्षपछि यहाँ आउनुहोस्, त्यो बेला यहाँको मुहार फेरिएको देख्नु हुनेछ ।


यस क्षेत्रका दलित, भूमिहिन, सुकुम्बासीको उत्थानका लागि हामीले योगदान दिनेछौं । यस क्षेत्रमा लालपूर्जा नभएका सुकुम्बासीको संख्या बढी छ । हामी लालपूर्जा दिलाउने छौं । २०२२ साल भन्दा पहिले रौतहट र महोत्तरीलाई मिलाएर यो जिल्ला निमार्ण गरिएको हो । त्यसपछि यसलाई सर्लाही जिल्ला नामाकरण गरियो । मेरो घर बरहथवा नगरपालिकाभित्र पर्छ । मेरो घर पनि ऐलानि जग्गामा छ । हिजो जंगलमा बसोबास गर्ने सुकुम्बासीहरु अझै पनि हुनुहुन्छ । कतिपय लालपूर्जा पाउने प्रक्रियामा हुनुहुन्छ । त्यसका लागि आयोग बनेको छ । सुकुमबासीहरुले अब लालपूर्जा पाउनुहुनेछ ।

त्यसका लागि संघबाट कस्तो पहल गर्नुहुन्छ ?
जनताले त्यही म्यान्डेटका लागि पठाउँछन् भने म समस्या समाधानका लागि पहल पक्कै गर्छु । मेरो मुख्य काम भनेको निती निमार्ण बनाउने हो । यसबाहेक जतिसक्दो छिटो म समस्या समाधानका लागि पहल गर्नेछु । त्यसका लागि म जनताहरुलाई आश्वस्त पार्न चाहन्छु ।


म २०७४ मा चुनाव लड्दा जनताको घर दैलोमा जाँदा गर्नु पर्ने कामको लिस्ट मलाई थमाउनु भएको थियो । मैले २० प्रतिशत काम गरें । ८० प्रतिशत गर्न बाँकी नै छ । त्यो बेला मलाई मसँग गरेका अपेक्षाहरु, समस्या समाधानका लागि म लागि पर्नेछु ।
सर्लाहीमा आलु, मकै, गोलभेंडा प्रशस्त फल्छ । मकै वर्षमा तीन पटक उत्पादन हुन्छ । यस्ता उत्पादनको बजारीकरणका लागि म प्रयत्न गर्नेछु । उखु नगदे बाली भएपनि अहिले उधारो बाली भएको छ । किसानले उचित मूल्य पाएका छैनन् । म किसानका समस्या समाधान गर्न कस्सिने छु । यस्तै मैले विश्वका धेरै देश घुमेको छु । त्यहा“को विकास देखेको छु । विकास भन्ने कुरा हामी बा“चुन्जेल नै देख्ने हो । हामी सबै मिलेर अगाडी बढ्यौं भने विकास पक्कै सम्भब छ ।

चुनाव जितेपछि आफूले यो काम गर्छु भन्ने वाचा धेरैले गर्छन् । यो काम गर्दिन भन्ने केही छ ?
म भ्रष्टाचार गर्दिनँ । बजेट कागजमा मात्र सिमित देखिन्छ । यस क्षेत्रका लागि बिनियोजन भएको बजेट टेन्डरका आधारमा खर्च गरिनेछ । म जनताको सामुहिक स्वार्थ हेर्छु । समाजको उत्थान र विकासका लागि म कुनै विभेद गर्ने छैन । समानताका हिसाबले विकास गर्नेछु ।


अन्त्यमा जनताहरुलाई तपाईंको सन्देश के छ ?
तपाईंहरुले बिगतमा धेरैलाई जिताउनु भयो । तर, यहाँको विकास भएन । मलाई जिताउनु भयो भने म यस क्षेत्रको विकास लागि समर्पित हुनेछु । पदमा रहँदापनि नरहदा पनि हिजो जनताको दुःख, पीडामा साथ दिएको छु । संसदमा नगएर बृहत रुपमा काम गर्न नसकिने रहेछ । मलाई मत दिएर सहयोग गर्नुहोस्, म तपाईंको समस्या समाधान गर्न सहयोग गर्नेछु ।

प्रस्तुती : नरेन्द्र रौले

प्रतिक्रिया