शनिबार, जेठ ५, २०८१

दार्चुलाको चुनावमा बिक्ला एमालेको ‘राष्ट्रवाद’ ?

एमाले अध्यक्ष केपी ओलीले चुच्चे नक्शा देखाउँदै दार्चुलाबाटै चुनावी अभियान शुरु गदैछन्

मेरोन्यूज २०७९ कार्तिक ९ गते १९:५३

दार्चुला । एमालेको बलियो जनाधार रहेको दार्चुलामा माओवादी, एकीकृत समाजवादीको सहयोगमा प्रतिनिधिसभामा कांग्रेसबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू उम्मेदवार भएका छन्। एमालेबाट पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना पुनः चुनावी मैदानमा उत्रेका छन् ।

Advertisement

एमाले गणेशसिंह ठगुन्ना र कांग्रेस दिलेन्द्रप्रसाद बढुका वीचमा मुख्य प्रतिस्पर्धा भएपनि नागरिक उन्मुक्ति पार्टीका तारादत्त जोशी र राष्टिय स्वतन्त्र पार्टी रविन्द्र सिंह धामीसहितका ९ जना उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा छन् ।

स्थानीय तहको मत हेर्ने हो भने यस क्षेत्रमा एमालेसँग २९३९७, कांग्रेससँग २१५५४, माओवादीसँग ७८८१, राप्रपासँग १७७ र एकीकृत समाजवादीसँग १७१ मत छ । यसरी हेर्दा सत्ता गठबन्धनसँग २९६०६ मत छ । एमाले एक्लैंसँग २९३९७ मत छ ।

यो निर्वाचन क्षेत्रमा कांग्रेसले २०६४ देखि लगातार हार ब्यहोदैं आएको छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र २०५ हुँदा दार्चुलामा दुई वटा निर्वाचन क्षेत्र थियो । तर २०७२ को संविधान निर्माणपछि १६५ क्षेत्र को निर्वाचन क्षेत्र रहँदा दार्चुलामा एउटा मात्रै निर्वाचन क्षेत्र बनेको छ ।

०४८ मा भएको आम निर्वाचनमा तत्कालिन दार्चुला क्षेत्र नं. १ बाट हालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडू विजयी भएका थिए । क्षेत्र २ बाट राप्रपाका अकबरबहादुर सिंहले बाजि मारेका भए । ०४८ मा चुनाव जितेका बडू ०५१ मा एमालेका नेता प्रेमसिंह धामीसँग पराजित भए । ०५६ को चुनावमा बडूले एमाले उम्मेदवार वीरबहादुर ठगुन्नालाई हराउँदै ‘कमब्याक’ गरे ।
०६४ सालको पहिलो संविधान सभा निर्वाचनयता कांग्रेसले दार्चुलामा संसदीय चुनाव जितेको छैन् ।

०६४ को पहिलो संविधान सभा चुनावमा सशस्त्र द्वन्द्व त्यागेर शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्दका लक्ष्मणदत्त जोशीले जित निकालेका थिए ।

एमालेका ठगुन्ना भने २०७० र २०७४ को चुनावमा जित निकालेका थिए । जसकाकारण ठगुन्ना फेरि जितेर ह्याटिक गर्ने तयारीमा छन् । कांग्रेसका बडू कांग्रेसको हारको ह्याटिक तोडने योजनामा छन् ।

माओवादी र एमालेको राम्रो पकड रहेको दार्चुलामा ९ पालिका छन्। स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा यस क्षेत्रमा ५ पालिका एमालेले जित्दा ४ पालिकामा माओवादीले जित निकालेको छ । दार्चुलामा एमालेले राष्टबादको नारा अलिक बढी उठाउन खोजेको छ यसपटकको निर्वाचनमा । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको चुनावी अभियान नै यसपटक दार्चुलाबाटै शुरु गर्न लागेको छ । त्यसका लागि कात्तिक १८ गते ओली दार्चुलामै पुगेर एमालेको चुनावी अभियान शुरु गदैछन् ।

ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बाेधन गरेर चुनावी अभियान थालनी भएकाे घाेषणा गर्नेछन् ।

ओलीले दार्चुला रोज्नुको एउटा कारण उनले आफु सरकारमा रहेको बेला संविधान संशोधन गरेर जारी गरेको चुच्चे नक्सालाई अगाडी सारेर राष्टबादको नारा उचाल्नकै लागि भएकोमा विवाद छैन । चुच्चे नक्सा देखि महाकाली नदीमा भारतीय पक्षले तुइन काटेर वेपत्ता पारेका नागकिरसम्मको आवाज बुलन्द पादैं मत माग्ने योजना त्यहाँ एमाले लागेको छ ।

एमाले उम्मेदवार ठगुन्ना अहिले त्यही नारासहित जनताका वीचमा मत मागरिहेका छन् । केपी ओली सरकारमा रहेका बेला कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समेटेर नेपालको नक्सा संविधान संशोधन गरेर जारी गरिएको थियो । उक्त भूगोल दार्चुलामै पर्छ । यसलाई एमालेले मसला बनाईरहेको छ ।

तर त्यसवेला ओलीसँगै नेकपामै रहेको माओवादीले भने तत्कालिन नेकपाको सचिवालयका बहुमत सदस्यको जोड पछि मात्र ओली चुच्चे नक्साका लागि तयार भएको भन्दै ओलीको राष्टबाद देखाउने दाँत मात्र भएको बताउँदै चुनावी अभियान थालेको छ । चुच्चे नक्सा जारी गराउन ओलीलाई प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमको जोडबलमा मात्रै ओली त्यसवेला तयार भएको त्यही बेला देखि नै प्रचण्ड माधव नेपालहरुले बताउँदै आएका छन् ।

यधपी नक्सामा चुच्चे नक्सा जारी भएपनि भूगोल फिर्ता ल्याउने विषयले सार्थकता पाउन सकेको छैन । तर दार्चुलाको चुनावी रस्साकस्सीमा यो विषय जोडले उठ्ने देखिएको छ । स्थानीय तहको मत हेर्दा एमाले एक्लैंको मत र सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी सवैको मत जोडदा पनि बल्लतल्ल २०९ मतले मात्र सत्ता गठबन्धन अगाडी छ । यसले यो क्षेत्रमा निर्वाचन निक्कै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।

एमालेले प्रदेश सभा क्षेत्र (१) र (२) का लागि क्रमशः हरदेव जोशी र रामदत्त जोशीलाई चुनावी मैदानमा पठाएको छ । रामदत्त जोशी एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् ।

गठबन्धनबाट क्षेत्र (१) मा कांग्रेस नेता विक्रमसिंह धामी र क्षेत्र (२) मा माओवादीका मानबहादुर धामी ९सन्तोष० उम्मेदवार भएका छन्। धामी सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुन् ।


कांग्रेस नेता बडू भने एमालेले गत चुनाव जितेर समाय मात्रै खर्चेको र केही पनि गर्ने नसकेको आरोप सहित चुनावी अभियानमा छन् । यो क्षेत्रको चुनावले निक्कै रोचक बनाउने देखिएको छ ।

प्रतिक्रिया