शनिबार, जेठ ५, २०८१

कैलाली १ मा निर्वाचन महासंग्राम

जोगाउँलिन् रन्जिताले रेशम चौधरीको विरासत ?

शितल शर्मा २०७९ कार्तिक ८ गते १६:१९

कैलाली । स्थानीय तह अगाडी मात्रै टिकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको पत्नी रन्जिता श्रेष्ठको नेतृत्वमा नयाँ दल नागरिक उन्मुक्ति पार्टीको जन्म भयो । छोटै अवधीमा रन्जिता नेतृत्वको पार्टीले स्थानीय तहमा कैलालीमा रामै पोजिसन निर्माण गर्‍यो । अर्थात उनको पार्टी कैलालीमा पहिलो दल बन्न सफल भयो । त्यसमा पनि कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकै दवदवा छ ।

Advertisement

यो निर्वाचन क्षेत्रमा २०७४ को चुनावमा रन्जिताकै श्रीमान रेशम चौधरीले चुनाव जितेका थिए । टिकापुर घटनामा उनी दोषी करार भइृ जेलमा छन् । तर टिकापुरका बासिन्दाले उनलाई दोषी मान्न तयार छैनन । त्यही भएर पनि रेशमसँगको भावनात्मक सम्वन्धका कारण उनकै श्रीमती रन्जिताको नेतृत्वमा निर्माण भएको नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ ।

जसकाकारण आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा रन्जिता सोही क्षेत्रमा रेशम चौधरीको उत्तराधिकारी बन्ने र उनको विरासत जोगाउने उदेश्यका साथ चुनावी मैदानमा छिन् । यस क्षेत्रमा एमालेका तपेन्द्र वहादुर रावल, कांग्रेसका रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

रेशम चौधरी र उनकी पत्नी रन्जिता श्रेष्ठ

स्थानीय तहको मतभार हेर्दा नागरिक उन्मुक्ति पार्टी १७१९३, कांग्रेस ११६७८, एमाले १०३२२, माओवादी ६९३०, राप्रपा ३५६१, जसपा २३०२, एकीकृत समाजवादी २२३२ पाएको छ ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी लगायत दलले गठबन्धन गरेर चुनावमा छन् । जसकाकारण यो गठबन्धनसँग २०८४० मत छ । एमाले र जसपाको अर्काे गठबन्धन छ । कैलाली १ मा उनीहरुको पनि गठबन्धन छ । उनीहरुसँग १२६२४ मत छ । नागरिक उन्मुक्ति पार्टीसँग भने १७१९३ मत छ ।

अहिले सत्ता गठबन्धनमा रहेका सवै दलहरुको मत जोडदा थोरै मतले मात्र सत्ता गठबन्धन अगाडी छ । रेशमले २०७४ मा चुनाव जितेर पनि संसद भवन छिर्न भने पाएका थिएनन् । त्यसवेला रेशमले तत्कालिन राजपाबाट चुनाव लडेका थिए । अहिले सत्ता गठबन्धनबाट कांग्रेसका रामजनम चौधरी पनि यहाँँ चुनावी मैदानमा छन् । जसले थारु बाहुल्य रहेको यो क्षेत्रमा थारुको मत विभाजित हुन सक्ने देखिन्छ । जसको फाइदा लिने दाउमा एमाले देखिन्छ । तर स्थानीय तहको मतका आधारमा हेर्दा सत्ता गठबन्धन र नागरिक उन्मुक्ति पार्टी भन्दा पनि पछि रहेको एमाले जसपा गठबन्धनले जित्नलाई भने धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।

यहाँ एमलेले प्रदेश सभाको एउटा क्षेत्र जसपालाई छोडेर चुनावी तालमेल गरेको छ । रेशम पत्नी रन्जिता श्रेष्ठसँग प्रतिस्पर्धा गर्न सत्तागठबन्धनका तर्फबाट कांग्रेसका नेता पूर्वमन्त्री रामजनम चौधरी र एमाले–जसपा गठबन्धनबाट एमाले नेता तथा टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावल मैदानमा छन् ।

०७४ को निर्वाचनमा भूमिगत रहेका चौधरीले वामगठबन्धनबाट एमालेकी मदनकुमारी शाह ९गरिमा० लाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए। चौधरीले ३४ हजार ३४१ मत ल्याउँदा शाहले १३ हजार ४०६ मात्रै ल्याएकी थिइन्। शाह अहिले नेकपा एकीकृत समाजवादीकी सुदूरपश्चिम इन्चार्ज छिन्। पहिलो पटक संसदीय चुनाव ‘फेस’ गर्न लागेकी रन्जितालाई रेशमको विरासत जोगाउनु पर्ने चुनौती छ ।

चुनावको मुखैमा केही कार्यकर्ताले पार्टी छोडेर प्रदेशसभामा बागी उम्मेदवारी दिएका कारण रन्जिता दवावमा पनि छिन् । सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री रामजनम चौधरीलाई कांग्रेसले यसपटक कैलाली १ मा उम्मेदवार बनाएको छ। गठबन्धनको बलमा ०७४ को हारलाई जितमा बदल्ने योजनाका साथ चौधरी कस्सिएका छन् । उनी २०७४ मा कैलाली ३ मा उम्मेदवार थिए ।
यसपटक उनी कैलाली १ मा सरेका छन् । यस अर्थमा यो क्षेत्रको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया