शनिबार, जेठ ५, २०८१

साहित्यकारहरुले यसरी मनाउँदैछन् तिहार

नरेन्द्र रौले २०७९ कार्तिक ८ गते १४:३०

हिन्दु धर्मालम्बीहरुको महान चाड बडा दसैंपछि शुभ दिपावली आँगनमै छ । संसारभर छरिएर रहेका नेपालीहरुले धुमधामका साथ दिपावली मनाउँछन् । लक्ष्मीपूजा सोमबार बेलुकी सवैतिर मनाइएको छ । तिहारमा सबै दाजुभाई, दिदीबहिनीहरु जम्मा भएर आपसमा टिका लगाउने, गरिन्छ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, मिष्ठान्न भोजन खाई रमाइलो गरिन्छ । लेखक, साहित्यकारहरुले यो तिहार कसरी मनाउँदैछन् ? बिगतमा तिहारका तिता–मीठा सम्झनाहरु कस्ता रहे ? हामीले केही लेखकहरुस“ग कुराकानी गरेका छौं :

Advertisement

मलाई झस्काईरहने त्यो तिहार

सुबिन भट्टराई, उपन्यासकार


मसँग तिहारका रमाइला पक्षहरु धेरै छन् । मेरा लागि तिहार फूलहरुको चाड हो । दिदी, बहिनी, दाजु भाईलाई गाँस्ने चाड हो । देउसी भैलीको संगीतले मन आल्हादित बनाउने चाड हो । यसका सांस्कृतिक पक्षहरुका बारेमा धेरै नै चर्चा गर्न सकिएला । तर, तिहार समग्रमा भावनात्मक चाड हो भन्छु म ।


यसपालिको तिहारमा खासै भव्य योजना केही छैन । भाइटीकामा सधैं झैं एकै ठाउमा भेला भएर टीका लगाउने योजना छ । गफगाफ, रमाइलो, खानपिन यस्तै उस्तैमै बित्ने गर्छ तिहार । हामी तीन जना हौं जम्मा । मभन्दा माथि मेरी दिदी हुनुहुन्छ र उहाँभन्दा माथि मेरो दाइ हुनुहुन्छ ।


बिगतमा यो तिहार चाहिं फरक थियो भन्ने त्यस्तो केही छैन । सबै तिहार एउटा तिहारलाई फोटोकपी गरेर निकालिएजस्ता छन् । फरक यहि भएको होलाकी हरेक तिहारमा हामी हुर्किदै गयौं, परिपक्व हुँदै गयौं । कुनै तिहार जुठो परेर मनाउन पाइएन होला । तिहार मनाउने ठाँउ थोरै बदली भयो होला । टीका लगाउने सदस्यमा नजिकका आफन्त दाजुभाइ, दिदीबहिनी पनि कहिले थपिए होलान् । नभए हामी तीनजना चाहिं स्थायी रुपमा उसैगरी सधैंसधैं छौं । र,जहिले जहिले छौं, उस्तै रुपमा छौं । उसैगरी छौं ।


यति भनिरहँदा एउटा कुरा चाहि नछुटाउँ । एउटा तिहारमा, करीब चौबिस वर्ष अगाडि होला म धेरै नै बिरामी थिएँ । त्यो बेला ओछ्यानमै थला परेको अवस्था थियो । फोटो एल्बम पल्टाउँदा त्यो तिहारको फोटो पनि पल्टिन्छ । आफ्नै अनुहार कालो र सुन्निएको देख्छु । झस्काउँछ त्यसले ।


कुनै-कुनै वर्षको तिहारमा जुठो परिदिन्छ । तिहार मनाउन पाइन्न । तर, त्यसले खासै प्रभाव हामीलाई पारेको छैन । जुठै परेपनि हामी तीन जना दिदी, दाइ र म चाहिं सँगै भएकै छौं । टीका नलगाउनु त हो । बाँकी त सँगै हुनलाई, अरु किसिमका रमाइलो गर्नलाई हामीलाई केही कुराले छेकेको छैन ।


०००

तिहार सबैभन्दा दिल खुस गर्ने चाड

दीप्स शाह, कथाकार

तिहार उज्यालोको पर्याय हो । उज्यालो तनको लागि पनि र मनको लागि पनि अत्यन्तै महत्वको कुरा हो । यसकारण पनि मेरो लागी तिहारको रमाइलो र महत्वको पक्ष भनेको उज्यालो नै हो ।


यसपाली तिहारमा त्यस्तो खास योजना त केही छैन । बस् घर उज्यालो पार्ने हो । मन उज्यालो पार्ने हो । मेरो दुई जना दाजुभाइ, दुइजना दिदीबहिनी छन् । तिहार मेरो लागी पर्वमध्येको सबैभन्दा दिलखुस गर्ने चाड हो । तिहारको महिना मेरो जन्म महिना पनि भएकोले होला यही चाड मनाउन तिहारकै संघारमा म यो धरतीमा आएको जस्तो लाग्छ । त्यहीभएर होला हरेक तिहार मेरा लागि विशेष छन् । विशेष तरिकाले नै सम्झन्छु बिगतका तिहारहरु पनि ।


जीवनमा तिहार मनाउन नपाएका क्षणहरु पनि छन् । हाम्रो संस्कार अनुसार तिहारकै समयमा परिवार या आफन्तमा परेको जन्म-मृत्युले रोकेका एकाध तिहार त छँदैछन् । रोजगारीको सिलसिलामा परदेशमा रहँदा छुटेका केही वर्षका तिहारले असाध्यै नमिठो अनुभब दिएका छन् । र, ति क्षण बहुत मन कोतर्ने खालका थिए ।
०००

यसपाली तिहारमा लेखपढमै समय बिताउँछु

कल्पना खरेल, उपन्यासकार

तिहारको सबैभन्दा रमाइलो पक्षहरु अति नै सुन्दर र महत्वपूर्ण छन् । हिन्दु संस्कृतिको उत्कृष्ट उत्सव हो, तिहार । विश्वमै नभएको हाम्रो अति उत्तम चाड हो तिहार । कागको र कुकुरको पूजा गरेपछि गाईपूजा हुन्छ । दीपावली गरिन्छ । दीप ज्ञानको प्रतिक हो, शान्तिको स्रोत हो । घर–घरमा दीप बालेर उज्यालो बनाईन्छ । त्यस उज्यालो ज्योतिले हाम्रो मनभित्रको अन्धकार हटाउँछ र उज्यालो पार्छ, शान्तिको अनुभूति हुन्छ ।

सुख, शान्ति र समृद्धिको कामना गर्दै धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजाले दरिद्रता हटेर भरिपूर्ण हुन्छ भन्ने मान्यता छ । पशुपन्छी प्रकृतिको पूजा गरिन्छ । देउसी भैली, नाँचगान निक्कै रोचक र मनोरञ्जनपूर्ण लाग्छ । दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर आर्शिवाद सद्भाव आदान प्रदान हुन्छ र सम्बन्धलाई अझैं प्रगाढ बनाउँछ ।

यसपटकको तिहारमा खासै कुनै योजना छैन । यसपाली पनि टिका नभएकोले घरमै बसेर लेखपढमै समय बिताउँछु । हामी ठ्याक्कै आधादर्जन दाजुभाइ दिदीबहिनी छौं । तीन जना दाजुभाइ र तीन जना दिदीबहिनी छौं । म दिदीबहिनीमा सबैभन्दा कान्छी हो ।
बाल्यकालका तिहार सारै रमाइला थिए । तिहारमा भैली खेलेको पैसाले पिकनिक जान्थ्यौं । भैली खेल्दा पनि रमाइलो लाग्थ्यो । भैलीको चामल पैसाले पिकनिक जाँदा झनै रमाइलो हुन्थ्यो ।


तिहार मनाउन नपाएका क्षणहरु पनि छन् । यतिबेला लगातार चार वर्षदेखि तिहार छैन । आमा, बुवा, सासुआमा र केही नजिकका आफन्तको शोकमा दसैं तिहार मनाउन पाईएको छैन । देश समाजको सुख, दुःखलाई हेर्दै मनन् गर्दैछु ।
०००

१३ वर्षपछिको मोरङको देहातमा तिहार

शिवप्रकाश, लेखक
बस्टन, अमेरिका
हाल– सुन्दर–हरैंचा, मोरङ

तिहारको सबैभन्दा रमाइलो पक्ष हो, सफा मौसम । सुनौलो बिहानी । घमाइलो दिन । चिसो सिरिरी बतास । साँझको गोधुली झन् रमाइलो । खेतमा धानका बाला झुलेका, आँगनमा सयपत्री र मखमली फुलेका । त्यसमाथि राति बत्तिको झिलिमिली । देउसी र भैलो । परम्परागत खानपान । परिवार, आफन्तजन र साथीभाइसँगको भेटघाटले आनन्द दिलाउँछ ।

म मोरङको देहाती मान्छे । यो देहातीसँगै श्रीमती ज्योत्सना पनि छिन् । दुबै देहाततिर घुम्ने योजनामा छौं । मेरा देहाती खबास–थारू साथीसँग बस्ने, खाने, ‘होममेड’ दारू पिउने, केही किताब पढ्ने । मिल्तिजुल्तिका साथीभाइ भेटिए तास पनि खेल्ने र तिहार मनाउने सुरमा छु ।


हामीचार दाइभाइ र तीन दिदीबैनी छौं । धेरै समय भोे तिहार मनाउँन नपाएको । केटाकेटी हुँदाको तिहार फेरि मनाउँन पाएहुन्थ्यो जस्तो लाग्छ । तर कहाँ पाउनु ? उ बेलाका ती तिहार पो तिहार जस्तो पनि लाग्छ । तिहार मनाउन नपाएका क्षण धेरै छन् । मजस्तै विदेशिने धेरैको अनुभव सायद एकै हुन्छ । चाडपर्वमा गाँउघर, परिवार र आफन्तजनको अझ बढी सम्झना आउँछ ।


यो तिहारलाई १३ वर्षपछिको तिहार भने पनि हुन्छ । १३ वर्षपछि मोरङको सुन्दर–हरैंचामा तिहार मनाउन अमेरिकाबाट आएका छौं । गाँउघरको तिहारको रमाइलो झन् बेग्लै हुन्छ । झन् मज्जाको । यस बिचमा काठमाडौंमा दुई तिहार मनाइयो । तर,मज्जा आएन । मनाउनु पर्ने भएर मनाए जस्तो मात्र ।
०००

पारिवारिक जमघटमा रमाईलो गर्ने

कुमारी लामा, निबन्धकार, समिक्षक

तिहारमा सबैभन्दा सुन्दर लाग्ने पक्ष भनेको बत्ति नै हो । यो पटक पारिवारिक जमघट नै हुन्छ । मेरो एउटा भाई र एउटा बहिनी छन् । तिहार मनाउन नपाएको एउटा नमिठो र दुखद घटना छ । त्यो दुखद घटना के भने तिहारकै बेला मेरो बुबाको दुर्घटनामा ०६४ सालमा दुखद निधन भएको थियो ।

मलाई त्यो घटनाले असाध्यै पिरोल्छ । तर पनि समयसँगै धेरै कुराहरु अगाडी बढ्छन् । क्रमशःत्यति धेरै याद पनि रहदैन । अर्को कुरा तिहारको विदाको बेला कहिलेकाहीं घुम्न गईन्छ, त्यो बेला भने मनाउँन पाईदैन ।
०००

दीपावलीमा साह्रै रमाइलो

रामलाल जोशी, साहित्यकार

दीपावली उल्लास र उज्यालोको पर्व हो । छरछिमेक, गाँउघर, शहर बजार सबैतिर उल्लास र खुसीयाली छाएको हुन्छ । झिलिमिली बत्ती हुन्छ चारैतिर । घर–घरमा नयाँ–नयाँ परिकार पाकेका हुन्छन् । देउसी भैलो, खेलमाल आदिको रौनक छुट्टै हुन्छ । साथीभाइ सँग तास खेलिन्छ । यी सबै कारणले दीपावलीमा साह्रै रमाइलो हुन्छ ।

सबैभन्दा उल्लास र आनन्दको पर्व नै दीपावली हो । यसपटकको तिहारमा त्यस्तो योजना खास योजना केही छैन । घर परिवार र केटाकेटीसँग बसेर रमाइलो गर्ने हो । अरु त खासै केही छैन । घरको म जेठो सन्तान हुँ । म पछि भाइ छ । बहिनी थिई । २०७० सालमा अल्पायुमै उसको निधन भयो । अब हामी दुईजना दाजुभाइ मात्रै छौं ।

विगतका सबै सम्झनाहरू अत्यन्तै रोचक लाग्छन् । झन् दीपावलीको सम्झना विशेष रुपले आउँछ । साथीहरूसँग देउसीभैलो र तास खेलेका रमाइला क्षणहरू अहिले सम्झिदा पनि प्रिय लाग्छन् । ७० सालमा बहिनी बितेपछि तिहार मनाइएन । त्यसपछि अरु पक्ष रमाइला लागे पनि भाइटीकाको दिन भने साह्रै खल्लो र विरक्तलाग्दो हुने गर्छ अहिले पनि ।

प्रस्तुती : नरेन्द्र रौले

प्रतिक्रिया