सोमबार, जेठ ७, २०८१

महासचिवहरुको चुनावी प्रतिस्पर्धा

प्रमुख दलका महासचिवसँग ‘हेभिवेट’ प्रतिस्पर्धी

मेरोन्यूज २०७९ असोज २३ गते १३:४८

काठमाडौं । प्रमुख तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेका अध्यक्ष पछिको कार्यकारी हैसियतमा शक्तिशाली मानिने महासचिव/महामन्त्रीहरुको चुनावी प्रतिस्पर्धा पनि यसपटक प्रतिनिधीसभामा रोचक देखिने भएको छ ।

Advertisement

तीनै दलका महामन्त्री÷महासचिवहरु प्रतिनिधीसभाको प्रत्यक्ष तर्फको उम्मेदवार बनेका छन् ।

कांग्रेसका दुई जना महामन्त्री छन् – गगन थापा र विश्वप्रकाश शर्मा । गगन यस अगाडी पनि चुनाव जित्दैं आएका छन् । तर विश्वप्रकाश अहिलेसम्म चुनाव जितेर संसद छिर्न पाएका छैनन ।

कांग्रेससँग माओवादी केन्द्र लगायत सत्तासिन दलहरु (जसपा) वाहेकको गठबन्धन छ । एमालेसाग पनि जसपा, राप्रपा लगायतका दलहरुको प्रभाव क्षेत्र हेरेर गठबन्धन छ ।

दुई गठबन्धनका कारण पनि यसपटकको प्रतिनिधीसभा तथा प्रदेश सभाको निर्वाचन रोचक देखिन पुगेको छ ।

कांग्रेसका महामन्त्रीद्दय गगन र विश्वप्रकाश दुवै प्रतिनिधीसभाको चुनावी रेसमा छन् । गगन काठमाडौं ४ बाटै फेरि ह्याट्रिक गर्ने गरी चुनावी मैदानमा छन् । उनको प्रतिस्पर्धी २०७४ सालकै चिरपरिचित नै छन् । अर्थात एमालेका तर्फबाट राजन भट्टराईले गगनको सामना फेरि गर्न लागेका छन् ।

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बेला ओलीका परराष्ट्र सल्लाहकार भएर काम गरेका भट्टराई ओलीका विश्वसपात्र मध्येमा पर्छन । उनी गगनका प्रतिस्पर्धी हुन् ।

ग्त स्थानिय तहको वडागत मत विश्लेषण गर्दा काठमाडौं ४ मा एमालेसँग १६ हजार ५०७, कांग्रेससँग १५ हजार ७६३, एकीकृत समाजवादीसँग २ हजार ४ सय १४, माओवादीसँग ८४४ मत देखिन्छ ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा १ मा चुनाव लडदैछन् । यस अगाडीको चुनावमा उनलाई माओवादी केन्द्रका राम कार्कीले चुनावमा पराजित गरेका थिए । यसपटक कार्कीले विश्वप्रकाशका लागि उक्त क्षेत्र छोडिदिएपछि विश्वप्रकाश सत्ता गठबन्धनको तर्फबाट झापा १ मा उम्मेदवार बनेका छन् ।

त्यहाँ उनको प्रतिस्पर्धी एमालेका अग्नि खरेल छन् । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्त थिए । त्यस अगाडी पनि उनी कानुनमन्त्री भईसकेका ब्यक्ति हुन् ।


उक्त क्षेत्रको एमाले क्षेत्रिय कमिटिले रविन कोइरालालाई उम्मेदवार सिफारिस गरेका थिए । अग्नि खरेलले पनि झापा २ मा चुनाव लड्न चाहेका थिए । तर ओलीले झापा २ मा देवराज घिमिरेलाई टिकट दिएर अग्निलाई झापा १ को टिकट दिएका हुन् ।

यसले टिकट दावी गरिरहेका रविन कोइराला असन्तुष्ट बनेका छन् । उनलाई प्रदेश सभातिर टिकट ओलीले दिँदा पनि उनले यो समाचार तयार पार्दासम्म अश्वीकार गर्ने बताईरहेका छन् ।

एमालेभित्रको चुलिएको असन्तुष्टिका वीचमा विश्वप्रकाश यसपटक अघिल्ला सांसदा राम कार्की समेतको सहयोगमा उम्मेदवार बनेका छन् । जसकाकारण पनि विश्वप्रकाश र अग्निको चुनावी भीडन्त पनि रोचक नै देखिने भएको छ ।

झापा १ मा स्थानयि तहको वडागत मत विश्लेषण गर्दा एमालेसाग ३१ हजार २३२, कांग्रेससँग २४ हजार ०५९, राप्रपासँग ५ हजार ९२२ र माओवादीसँग ३ हजार ९०५ मत देखिन्छ ।

कांग्रेसका दुई महामन्त्री मात्रै होइन, एमाले र माओवादी केन्द्रका महासचिव हरु पनि प्रत्यक्ष तर्फ नै प्रतिनिधीसभाका उम्मेदवार बनेका छन् । एमाले महासचिव शंकर पोखरेल दाङ क्षेत्र नम्बर २ र माओवादी महासचिव देव गुरुङ लमजुङबाट प्रतिनिधीसभा उम्मेदवार छन् ।

पोखरेल यस अगाडी दाङ क्षेत्र नम्बर २ कै प्रदेश सभाबाट चुनाव लडेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । त्यसवेला केन्द्रमा वाम गठबन्धनका तर्फबाट माओवादीका कृष्णवहादुर महराले चुनाव जितेका थिए ।

यसपटक पोखरेल केन्द्रमा उठेपछि पोखरेलसँग माओवादी केन्द्रकी स्थायी समिति सदस्य रेखा शर्माले चुनावी प्रतिस्पर्धा गर्न लागेकी छिन् । महराले चुनाव नलडने भन्दै शुरुमा समानुपातिक सूचीमा बसेका थिए । पछि फेरिउनले आफ्नी छोरी प्रगति महरालाई लुम्बिनी प्रदेश तर्फ समानुपातिक सूचीमा राखेर आफु समानुपातिक सूचीबाट पछि हटेका थिए ।

महरा प्रत्यक्षमा पछि हटेपछि माओवादीले सत्ता गठबन्धनमा आफ्नो भागमा परेको यो क्षेत्रबाट पूर्व मन्त्री समेत रहेकी नेतृ रेखा शर्मालाई उम्मेदवार बनाएको हो । अव एमाले महासचिवसँग माओवादीकी रेखा शर्माले चुनावी प्रतिस्पर्धा गर्नेछिन् ।

दाङ २ मा गत स्थानीय तह चुनावको परिणाम विश्लेषण गर्दा एमाले ३३ हजार ५९३ मत, कांग्रेससँग २३ हजार ३०१ मत र माओवादी सँग १० हजार ४७८ मत छ । गठबन्धन मिल्दा एमाले हाराहारी मत देखिन्छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङसँग भने एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रतिस्पर्धा गर्नेछन् । देव गुरुङ यस अगाडी पनि सोही क्षेत्रका सांसद थिए । पृथ्वीसुब्बा भने सोही क्षेत्रको प्रदेशसभाका सांसद थिए । एमाले उपमहासचिव गुरुङले यसपटक पनि प्रदेश सभामै उठ्न चाहेका थिए ।
तर एमालेभित्र गण्डकी प्रदेशमा गुरुङ र कास्कीका खगराज अधिकारीका वीचमा बढेको अन्तरविरोध हल गर्न एमालेले गुरुङलाई प्रतिनिधीसभातर्फ र अधिकारीलाई चुनाव पछि एमालेको प्रदेश सरकार बन्ने अवस्था निर्माण भए मुख्यमन्त्री बनाउने गरी प्रदेश सभामा उम्मेदवार बनाएको हो ।

त्यसो हुँदा माओवादीका महासचिव देव गुरुङसँग एमाले उपमहासचिव रहेका पृथ्वीसुब्बा गुरुङको चुनावी प्रतिस्पर्धा हुन लागेको हो । दुवै गुरुङ आ आफनो पार्टीभित्र प्रभावशाली रहेको र निर्वाचन क्षेत्रमा पनि उत्तिकै प्रभावी रहेकोले लमजुङको प्रतिनिधीसभाको निर्वाचन पनि यसपटक रोचक नै हुने देखिएको छ ।

लमजुङमा गत स्थानीय तह चुनावको वडागत मतका आधारमा हेर्दा एमालेसँग ४० हजार १९७ मत छ । कांग्रेससँग ३५ हजार २७६ र माओवादी केन्द्रसाग ६ हजार १२७ मत छ । सत्ता गठबन्धन एक हुँदा थोरै मतले एमाले भन्दा गठबन्धन बलियो देखिएको छ ।

प्रतिक्रिया