शुक्रबार, वैशाख १४, २०८१

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

मेरोन्यूज २०७९ असोज १९ गते २१:५६

काठमाडौं । तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन्।

विजया दशमीको दसौं दिन बुधबार कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।

कोभिड–१९ को संक्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन्। विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रोक लगाइएको थियो।

कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक कैदीबन्दीले दसैंका दिन आफन्तसँग भेटघाट गर्दै टीका लगाउन पाउँदा खुसी लागेको बताए।

‘दसैंका बेला निधार खाली हुन्छ कि भन्ने चिन्ता थियो। तर आफन्तसँगै टीका लगाउन पाएर एकदमै खुसी लागेको छ,’ उनले भने।

‘यो वर्ष आफन्तको हातबाट टीका लगाउन पाउने व्यवस्था मिलाएका हौं,’ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले भने, ‘आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दीले राम्रो मान्नुभएको छ।’ 

कैदीबन्दीहरूले खसैं मनाउन खसीबोका किन्न कोष बनाएका थिए। कोषमा सबै कैदीबन्दीले रकम जम्मा गरेका छन्। सोही कोषमा जम्मा गरिएको रकमले खसी, कुखुरा लगायत खरिद गरिएको छ।

‘सरकारले दसैं खर्चबापत प्रत्येक कैदीबन्दीलाई तीन सयका दरले रकम उपलब्ध गराउँछ। सोही रकम र मुढा बिक्री गरेर कमाएको पैसा कैदीबन्दीले कोषमा राखेका छन्। त्यही रकमबाट आवश्यक सामग्री खरिद गरी रमाइलो गरिएको छ,’ अधिकारीले भने।

तनहुँ कारागारमा १२ महिलासहित दुई सय ८७ कैदीबन्दी छन्।

प्रतिक्रिया