शुक्रबार, चैत १६, २०८०

गठबन्धन बैठक

गठबन्धनमा सिट बाँडफाँट अझै मिलेन, भोली ८ बजे पुनः बैठक बस्ने

मेरोन्यूज २०७९ असोज १७ गते २०:३०

काठमाडौं । सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक मंगलबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानैदेखि बसेको बैठकमा सहमति हुन नसकेपछि मंगलबार बिहान ८ बजे सम्मका लागि बैठक स्थगित भएको हो ।

सोमबारको बैठकमा पनि नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई दिन लागिएको सिट थोरै भएको अडान राखेका थिए । यादवले गठबन्धनबाटै बाहिरिने सम्मको चेतावनी दिँदै आएका छन् ।

आजको बैठकमा कांग्रेस र जसपा दुवैको दाबी रहेको मधेस प्रदेका कतिपय निर्वाचन क्षेत्रमा मित्रवत प्रतिस्पर्धा गर्नेबारे समेत छलफल भएको थियो । कतिपय क्षेत्रमा कांग्रेस र माओवादीबीचमा पनि सहमति जुट्न सकेको छैन ।

रोल्पा रुकुमका प्रदेश सभामा कांग्रेसको दाबी भए पनि माओवादीले त्यसको सट्टामा कांग्रेसको प्रभाव क्षेत्रमा दाबी गरेको छ । त्यस्तै जाजरकोटका दुवै प्रदेश सभा कांग्रेसले दाबी गरेको छ भने एउटा प्रदेश सभा माओवादीले दाबी गरिरहेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एसका बीचमा समेत केही क्षेत्रमा विवाद रहेको श्रोतले बतायो । अछाम, सल्यान, उदयपुर र खोटाङमा दुई दलबीच अझै विवाद बाँकी छ।

Advertisement

प्रतिक्रिया