बिहीबार, चैत १५, २०८०

मुख्यमन्त्री राईले दिए दशैँको शुभकामना

मेरोन्यूज २०७९ असोज १६ गते २०:०५

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आम नेपालीहरूको महान् चाड बडादसैँ–२०७९ को सुखद अवसरमा प्रदेश नं १ सहित देश, विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

“नेपाल विविध भाषा, धर्म र संस्कृतिले धनी देश हो । सबै जातजाति, समुदायको आ–आफ्ना चाडपर्व छन् । नेपालीहरूले खुसी र उमङ्गले मनाउने दसैँ एउटा ठूलो पर्व हो । हाम्रा जुनसुकै चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानका साथ अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् ।

हाम्रा सांस्कृतिक पर्वहरू आपसी सहिष्णुता र भावनात्मक एकताका प्रतीक हुन् । पर्वहरूको मौलिकतालाई कायम राख्दै संस्कृतिको जगेर्ना गर्नु आजको आवश्यकता हो । पर्वहरू मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलोपन र खर्चिलोपनलाई कम गर्दै पर्वहरू मनाउनु वाञ्छनीय हो”, मुख्यमन्त्री राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

सन्देशमा भनिएको छ, “नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रूपमा रहेको छ । यो कुरालाई नेपालको संविधानले स्वीकारसमेत गरेको छ । त्यतिमात्र होइन यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको छ । त्यसैले सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं संवद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो ।”

सन्देमा मुख्यमन्त्री राईले हाम्रा महत्वपूर्ण पर्वहरूका बीचमै आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशभाको निर्वाचनमा उल्लासपूर्ण रूपमा सहभागी भई आफ्नो मताधिकारको प्रयोग गर्न, र संविधान, गणतन्त्र, सङ्घीयताको रक्षा, सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुन अपेक्षा र अनुरोधका साथ बडादसैँ–२०७९ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा मुख्यमन्त्री राईले पुनः हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

Advertisement

प्रतिक्रिया