बिहीबार, चैत १५, २०८०

गुडिरहेको बसमा आगलागी

मेरोन्यूज २०७९ असोज १५ गते १८:४६

काठमाडौँ । हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ ।

काठमाडौँबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो ।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ ।

बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन् । बसमा ३२ यात्रु सवार थिए । उनीहरूलाई गन्तव्यसम्म पुर्याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

गुड्दै गरेको बसको इञ्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया