शनिबार, वैशाख १५, २०८१

गठबन्धन सरकारको कुनै गन्तव्य छैनः ईश्वर पोखरेल

मेरोन्यूज २०७९ असोज १४ गते ११:३६

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे ।

उनले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए । आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उल्लेख गरे ।

उनलेभने, ‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ । एउटा पोलको लिड एमालेले गरेको छ । जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको उजागर हो । यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन् । अर्कोतर्फ गठबन्धन छ । जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन । कार्यक्रम छैन, गन्तव्य छैन । त्यो गठबन्धनको नामले चिनिएको छ । राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो । हामीलाई आफ्नो मत प्रयोग गरेर राष्ट्रिय राजनीतिको दुई पोलमा विभाजित भइरहेको अवस्थामा कुन पोललाई हामीले सबल बनाउने, पक्षमा उभ्याउने भन्ने बारेमा नेपाली जनताले फैसला गर्नेछन्।’

प्रतिक्रिया