बिहीबार, वैशाख १३, २०८१

भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाउँदा सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्यो : पूर्वराजा शाह

मेरोन्यूज २०७९ असोज १४ गते ९:२५

काठमाडौं । दसैंको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको विद्यमान संविधान र व्यवस्थामाथि नै प्रश्न उठाउँदै मौलिकता, राष्ट्रियता, नागरिकता, परराष्ट्र नीति, भागबन्डा केन्द्रित राजनीति र भ्रष्टाचारको विषयमा आफ्ना धारणा सार्वजनिक गरेका हुन्। शुक्रबार आफ्ना सहयोगी फणिराज पाठकमार्फत सार्वजनिक गरिएको भिडिओ सन्देशमा नेपाली जनताले अभिभावकीय भूमिका खोजिरहेको दाबीसमेत पूर्वराजा शाहले गरेका छन्।

उनले भ्रष्टाचारले समाज र व्यवस्थालाई थप भ्रष्ट बनाएको र सर्वसाधारणका दैनिक जीवन सकसपूर्ण बन्दै गइरहेको पनि बताएका छन्। ‘विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ। पहिले पनि हामीले भनिसकेका छौं हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यता र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून्,’ उनले भनेका छन्।

उनले मौलिकता, धार्मिक र सांस्कृतिक मान्यता विस्थापित गर्ने क्रममा तीव्रता देखिएको पनि बताएका छन्।

‘पदलोभ, सत्तास्वार्थ र भागबन्डा गरेर आफ्नै सुविधा भोगका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ?,’ शाहले प्रश्न गरे, ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका सबै अंगभित्र उत्पन्न विवाद विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ।’

उनले यस्तो अवस्थाले जनतामा उत्साह नभएको पनि बताए। उनले देशका प्रति बफादारी र जनताकाप्रति उत्तरदायी भएर काम गर्ने विधि, व्यवस्था, संगठन र प्रतिनिधित्वको सही पात्र देशले खोजिरहेको पनि बताए।

उनले युवायुवती वैदेशिक रोजगारीमा जाने क्रम नरोकिएको पनि बताए।

साथै उनले नागरिकता विधेयकप्रति पनि विरोधको संकेत गर्दै भनेका छन्, ‘बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ।’ साथै उनले परराष्ट्र नीति असन्तुलन भइदिँदा राष्ट्रहित र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको दाबी पनि गरेका छन्।

उनले मौलिकता, धार्मिक र सांस्कृतिक मान्यता विस्थापित गर्ने क्रममा तीव्रता देखिएको पनि बताएका छन्।

प्रतिक्रिया