शुक्रबार, वैशाख १४, २०८१

सत्ता गठबन्धनमा सिट बाँडफाँट : मधेसमा जसपालाई धेरैं, कर्णालीमा माओवादीलाई

रामकृष्ण अधिकारी २०७९ असोज १३ गते १६:५८

काठमाडौं । सत्तासिन दलहरुले सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुर्‍याउँदैं गर्दा सात मध्ये ५ प्रदेशको प्रतिनिधीसभाको सिट संख्यामा कांग्रेसले अन्य दलको तुलनामा बढी सिट पाउने भएको छ । दुई वटा प्रदेशमा भने कांग्रेस भन्दा अन्य दलले बढी सिटमा प्रतिनिधीसभा तर्फको सिट पाउने गरी करिव सहमति बनेको छ ।

गठबन्धन दलका कार्यदलका एक सदस्यका अनुसार, मधेस प्रदेशमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र कर्णाली प्रदेशमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र)ले टिकट बाँडफाँटमा बढी सिट पाउने समझदारी बनेको छ । त्यसवाहेकका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सूदुरपश्चिम प्रदेशमा भने अन्य गठबन्धन दलको तुलनामा कांग्रेसका उम्मेदवारहरु प्रतिनिधीसभातर्फ बढी हुने भएका छन् ।

मधेस प्रदेशमा अहिलेसम्मको तथ्यांकका आधारमा जनता समाजवादी पार्टी जसपा १३, त्यसपछिको दोस्रो स्थानमा कांग्रेस १२, माओवादी केन्द्र ५ र एकीकृत समाजवादी पार्टी २ सिटमा प्रतिनिधीसभातर्फ प्रतिस्पर्धामा उत्रने छन् । तर जसपाले अझै पनि मधेसमा आफुले केही सिट थप पाउनुपर्ने अडान छोडेको छैन । त्यसो हुँदा उसले १४ या १५ सिट मधेसमै पाउनुपर्ने दावी गरिरहेको छ । त्यसो गर्दा र जसपाले मधेसमा सिट संख्या बढाउने काम गर्‍यो भने माओवादी ५ सिट बाट पनि मधेसमा थप खुम्चनुपर्ने हुन सक्ने नेताहरुको भनाई छ । तर कांग्रेसले १२ र एकीकृत समाजवादीले २ सिट मधेसमा नछोडने अडान जब्बर रुपमा लिएको छ ।


माओवादीले पाउने मधेसका ५ सिट भनेको धनुषा १, सर्लाही ३, सिराहमा एउटा क्षेत्र, महोत्तरी १ र रौतहटको एउटा निर्वाचन क्षेत्र हो । तर जसपाले १३ बाट पनि थप अडान लिईरहेमा माओवादीले रौतहटमा पाउने एउटा निर्वाचन क्षेत्र गुम्नसक्ने पनि नेताहरुको भनाई छ । तर माओवादीले ५ सिटमा मधेसमा दायाँबायाँ गर्न नसकिने अडान लिईरहेको छ । त्यसमा पनि रौतहटमा एउटा क्षेत्र छोडनै नसकिने अडानमा माओवादी छ ।

माओवादीले रौतहट ३ छोडेर ४ मा दावी गरेको छ । तर कांग्रेसले ४ मा आफनो दावी छोडेको छैन । २०७४ को चुनावमा पनि मधेसमा माओवादीले प्रतिनिधीसभा तर्फ ५ वटै सिट जितेको थियो । सोही आधारमा पनि यसपटक पनि ५ वटै निर्वाचन क्षेत्र आफुहरुले पाउनुपर्ने दावी माओवादीको छ ।

तर जे होस् मधेस प्रदेशका प्रतिनिधीसभामा अन्य दलको तुलनामा जसपाका नेताहरुले नै बढी सिट पाउने समझदारी गठबन्धनमा बनेको छ । सुरुमा कांग्रेसले मधेसका कतिपय निर्वाचन क्षेत्रमा आफुले अडान लिन थालेपछि जसपा अध्यक्ष उपेन्द्र यादव विच्किएका थिए । त्यसपछि उनले गठबन्धन तोडेरै एक्लै भएपनि चुनाव लडने सार्वजनिक रुपमा नै बताएका थिए ।

विच्चिकएको जसपा अध्यक्ष यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिमा ल्याएपछि फेरि गठबन्धन दलहरुका वीचमा सौहाद्र्रपूर्ण ढंगले बार्ता अगाडी बढेको थियो । त्यस आधारमा उपेन्द्रको पार्टी जसपाले मधेसमा अन्य दलको तुलनामा सवैभन्दा बढी सिट पाउनेछ । प्रतिनिधीसभामा मात्र होइन, प्रदेश सभा तिर पनि उपेन्द्रको पार्टीलाई प्रदेश सरकार बनाउन दिने गरी सिट बाँडफाँटमा मिलाइएको कार्यदलका एक सदस्यले मेरोन्यूजलाई बताए ।

माओवादी केन्द्रले भने कर्णाली प्रदेशका प्रतिनिधीसभा तर्फको सिटमा अन्य दलको तुलनामा बढी सिट पाउने समझदारी बनेको छ । कर्णालीका प्रतिनिधीसभा तर्फका कुल १२ सिट मध्ये माओवादी केन्द्रले ५ , नेकपा एकीकृत समाजवादीले ४ र कांग्रेसले ३ वटा निर्वाचन क्षेत्र लिने गरी करिव समझदारी बनेको छ ।

तर कांग्रेसले एकीकृत समाजवादी भन्दा आफु कर्णाली प्रदेशमा सिट संख्यामा बढी हुनुपर्ने अडान लिईरहेको स्रोतको दावी छ । कर्णालीमा माओवादीले रुकुम पश्चिम, जुम्ला, कालिकोट, हुम्ला र जाजरकोटको निर्वाचन क्षेत्र पाउने समझदारी बनेको छ । यी जिल्लामा एउटामात्रै निर्वाचन क्षेत्र छ । त्यसमा माओवादीले पाउने समझदारी बनेको हो ।

कांग्रेसले भने सुर्खेतको दुवै निर्वाचन क्षेत्र र दैलेखको क्षेत्र नम्बर २ पाउने समझदारी बनेको छ । डोल्पा, मुगु, सल्यान र दैलेख १ एकीकृत समाजवादीले आफुले पाउनुपर्ने दावी गरिरहेको छ । मुगु र दैलेखको निर्वाचन क्षेत्र १ मा कांग्रेसले पनि दावी गरिरहेको कारण एकीकृत समाजवादी कर्णालीमा सिट बााडफाँटमा कांग्रेस भन्दा ठूलो हुने या सानो भन्नेमा कार्यादल तहमा र पार्टीका शीर्ष नेताहरुको वीचमा अझै पनि छलफलको क्रममा रहेको बताइएको छ ।

प्रदेश १ मा कांग्रेसले १९ क्षेत्रमा दावी गरिरहेको छ । माओवादी केन्द्रले ७ निर्वाचन क्षेत्र प्रदेश १ मा पाउने देखिन्छ भने नेकपा एकीकृत समाजवादीले २ क्षेत्रमा दावी गरिरहेको छ ।

बागमति प्रदेशमा भने कांग्रेस १८, माओवादी केन्द्र १० सिट पाउने गरी समझदारी बनेको छ । तर एकीकृत समाजवादीले यहाँ काठमाडौं ८, ललितपुर २, मकवानपुर २ र धादिङ १ मा दावी गरिरहेको छ । धादिङ १ मा माओवादीले पनि दावी गरिरहेको छ । मकवानपुर २ मा पनि माओवादीको पनि दावी देखिन्छ । तर मकवानपुरमा भन्दा पनि धादिङमा एकीकृत समाजवादी र माओवादीकै वीचमा चर्काे विवाद देखिएको छ ।

गण्डकी प्रदेशमा भने कांग्रेसले ११ सिट दावी गरेको छ । माओवादीले उक्त प्रदेशमा ५ सिट भन्दा कममा झर्न नसकिने बताईरहेको छ । लुम्बिनीमा कांग्रेसले १४ सिटको दावी छोडेको छैन । माओवादीले पनि त्यहाँ ६ सिट भन्दा तल नझर्ने बताएको छ । एकीकृत समाजवादीले पनि त्यहाँ ४ वटा सिटमा दावी गरेको स्रोतको भनाई छ । सुदरपश्चिममा कांग्रेसले ९, माओवादीले ३ सिट पाउने देखिन्छ । तर एकीकृत समाजवादीले पनि त्यहाँ ४ सिटमा दावी गरेको छ । एकीकृत समाजवादीलाई कित सिट सुदुरपश्चिम प्रदेशमा दिने भन्नेमा गठबन्धन दलहरुका वीचमा अझै छलफल वाँकी नै छ ।

‘मोटामोटी कुन निर्वाचन क्षेत्र कसले लिने भनेर प्रतिनिधीसभा तर्फको सिट बाँडफाँटको एउटा प्रस्ताव बनेको छ, अहिले प्रदेश सभातर्फको सिट बाँडफाँडमा छलफल चलिरहेको छ,’ गठबन्धनको कार्यादलमा रहेका एक नेताले भने,–‘मधेसमा जसपा र कर्णालीमा माओवादी केन्द्रलदे वढी सिट पाउँछन् । अन्यमा कांग्रेसले पाउँछ । प्रदेशको टुंग्गिएपछि मात्रै एकैपटक सार्वजनिक गर्ने गरी अन्तिम रस्साकस्सी चलिरहेको छ ।’

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया