शनिबार, वैशाख ८, २०८१

पार्टीसँग सम्पर्कमा छैन भन्नु हास्यास्पद : भीम रावल

मेरोन्यूज २०७९ असोज १३ गते १५:०८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावल पार्टीसँग सम्पर्कमा नरहेको भनी अछामका जिल्ला नेताहरुसँग छलफल गरेको समाचार सार्वजनिक भईरहँदा रावलले भने आफु पार्टी सम्पर्कमा नरहेको भन्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।


रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् । आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागीसमेत भएको भन्दै रावलले यसबारे आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत जानकारी गराएको बताएका छन् । सामाजिक सन्जाल ट्वीटरमा उनले आफनो प्रष्टिकरण दिादै त्यस्तो बताएका हुन् ।

‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ। यो बारे जिल्ला इञ्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ । म सम्पर्कविहीन भन्नु हास्यास्पद ।’ रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।

केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले रावल अछाम- १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा एकल सिफारिस भएकोप्रति पार्टीको सुदूरपश्चिमका नेताहरूसँग चासो व्यक्त गरेका थिए ।

प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीले भेटमा अध्यक्ष ओलीले रावलको सिफारिसबारे चासो व्यक्त गरेका थिए ।

प्रतिक्रिया