शुक्रबार, वैशाख १४, २०८१

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

मेरोन्यूज २०७९ असोज १३ गते १४:१५

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि विषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गरे ।
उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुंदै जाने बिश्वास समेत व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्र संस्थान र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई सरल,सहज र प्रतिपस्पर्धी बैंकिङ्ग सेवा प्रदान गर्दै यो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।

उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च ब्यवस्थापनका पदाधिकारीहरू लगायत अन्य कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।

नेपालभर २१९ शाखाहरू, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया